गोरखा सहकारीद्वारा ऋणीको करोडौं ठगी, किर्ते कागज बनाएर जग्गा जफत

काठमाडौ । ललितपुरको गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीले किर्ते कागजात बनाएर एक दम्पतीको ऋणभन्दा पाँच गुणा बढी मूल्यको जग्गा जफत गरेको स्वयं नियामक निकाय सहकारी डिभिजन कार्यालय ललितपुरले जानकारी दिएको छ । राई दम्पती नारायणप्रसाद र शोभाको ऋण असुल्ने नाममा जग्गा लिलामी गर्ने क्रममा गोरखा सहकारीले डिभिजन कार्यालयमा पेस गरेको डकुमेन्टमै त्रुटि देखिएको प्राप्त कागजातले देखाएको छ । कार्यालयका अनुसार संस्था डकुमेन्टेसनमा चुकेको छ । ऋणी राई दम्पतीको जग्गाको मूल्यांकनअघि नै कागजात तयार पारिएको, सेवा शुल्क बढी लिएको, डकुमेन्टमा ठाउँठाउँमा केरमेट गरी सच्याइएकोलगायत त्रुटि देखिएको कार्यालयको ठहर छ । सरकारलाई छल्नकै लागि सहकारीले सक्कल कागजात पेस गर्नुपर्ने अन्य निकायमा समेत कार्बनकपी प्रयोग भएको डकुमेन्ट पेस गरेको देखिएको छ ्र अन्नपूर्ण पोस्टबाट ।

अस्पताल लैजान पनि धामीझाँक्रीको सिफारिस, धामी पठाएमात्रै अस्पताल

रुकुम । अस्पतालमा जँचाउन लैजान पनि धामीझाँक्रीको सिफारिस चाहिन्छ भन्दा पत्याउन गाह्रो पर्छ। रुकुमको सिस्नेका बासिन्दा भने यस्तै नियती भोगिरहेका छन्। बिरामी भए पनि धामीको सिफरिस बिना उनीहरु अस्पताल जान सक्दैनन्। उपचार नपाएरै जिल्लास्थित ठूलेसिस्नेका १५ वर्षीय रुपे बुढाको २०७१ साउनमा निधन भयो। एक वर्षपछि उनका बुबा प्रजितले पनि संसार छाडे। बिरामी भएका प्रजितको उपचार त टाढैको कुरा के रोग लागेको थियो भन्नेसम्म पत्ता लागेन। उनलाई धामीले अस्पताल नलैजानू भनेपछि परिवारले झारफुकमै समय बितायो। यस्ते बलबहादुर बुढा, जोखे बुढा, गाउँमती, दलजित, कमललाल, देबबहादुरसहितका व्यक्तिको पनि धामीले अस्पताल नलैजानु भनेकै कारण ज्यान गयो। त्यस भेगमा बासिन्दा बिरामी भए भने अस्पताल लैजाने नलैजान भन्ने निर्णय आफन्त भन्दा पनि धामी झाक्रीमा भर पर्छ। कान्तिपुर दैनिकबाट ।

विस्तार सक्नुपर्ने बेलासम्म आधा काम, कलंकीकोटेश्वर सडक विस्तारमा ढिलाइ

काठमाडौं । अचाक्ली धुलो भयो। घरबाट बाहिर निस्कनै सकस भयो। अहिले उपत्यकावासी हरेकले यसै भन्छन्। धुलो पनि किन नहोस् रु कामको गति कछुवाको जस्तै छ। अव्यवस्थित पनि उत्तिकै। उपत्यकाको केन्द्रमा थालिएको १० किलोमिटर लामो सडक विस्तार कार्य ४ वर्षमा आधा मात्र भएको छ। सडक भत्काउने काम चलिरहन्छ, तर बनाउने टुंगो हुँदैन। समस्या यहीँनेर देखिएको छ। कलंकी(कोटेश्वर सडकखण्डको अवस्था हो यो। यो सडकको दूरी १० दशमलव ३९ किलोमिटर छ। चार लेनको यो सडक आठ लेन बनाउन २०१२ डिसेम्बर १८ मा सम्झौता भएको हो। सम्झौताअनुसार सडक विस्तार र निर्माण २०१६ मे १५ मा सक्नुपर्ने हो, तर अहिलेसम्म ५० प्रतिशतमात्र काम सकिएको छ। मूल सडक दायाँ(बायाँ भत्काएर छाडिएको छ। सडकमा निर्माण सामग्री पनि अव्यवस्थितरुपमा राखिएको छ। खाल्डाखुल्डी उत्तिकै छन्। अव्यवस्थित ढंगले दुर्गन्ध त्यस्तै छ। धुलोको त कुरै नगरौँ। सवारी गुड्दा धुलोले सडकै ढाकिन्छ। सडक आसपासका घरको रंग नै फेरिएको छ। सडकमा १० मिनेटमात्रै उभिने हो भने मान्छेको समेत रंग बदलिन्छ। सडक विस्तारको जिम्मा पाएको चक्रपथ सुधार योजनाले भूकम्प र भारतीय नाकाबन्दीका कारण विस्तारमा अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको जनाएको छ। काम थालेको ४ वर्ष भएको छ, चक्रपथ सुधार योजना प्रमुख ज्ञानेन्द्र झाले भने, भूकम्प, नाकाबन्दी जस्ता कारणले निर्माण ढिला हुन पुग्यो, अहिलेसम्म करिबकरिब ५० प्रतिशत काममात्र सम्पन्न भएको छ। नागरिक दैनिकबाट ।