स्टिकरबाट पानीकाे वर्गीकरण, सीधै पीउने, उमाल्नुपर्ने र लुगा तथा भाडा धुने गरी स्टिकर

काठमाडौं । उपत्यकाभित्र पानी वितरण गर्ने ट्यांकरमा अब स्टिकर टाँसिने भएको छ । ती ट्यांकरले आपूर्ति गर्ने खानेपानीको शुद्धताका आधारमा स्टिकर दिने सरकारी तयारी छ । काठमाडौं खानेपानी विकास बोर्डले ट्यांकरले आपूर्ति गर्ने पानीको शुद्धता मापन गरेर स्टिकर दिने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । स्टिकर सर्वसाधारणले देख्ने गरी ट्यांकरमा टाँस्नुपर्नेछ । मन्त्रालयका अनुसार ५ वैशाखबाट उपत्यकाभित्र यो नियम लागू हुनेछ । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले उपत्यकावासीलाई शुद्ध पानी वितरणको उद्देश्यले स्टिकरको व्यवस्था गर्न लागिएको बताए । ‘उपत्यकाभित्र खानेपानी अभाव छ । सर्वसाधारण ट्यांकरबाट ल्याइएको पानी पिउन विवश छन् । तर, त्यो पानीको शुद्धता नापिएको छैन,’ मन्त्री शाहीले भने, ‘पिउनयोग्य नभएको पानी पनि सर्वसाधारण पिउन बाध्य छन् । यसलाई नियन्त्रण गर्न स्टिकर प्रणाली लागू गर्न खोजिएको हो । ५ वैशाखबाट यो प्रणाली लागू हुन्छ ।’ खानेपानी विकास बोर्डले अनुगमन र परीक्षण गरेपछि ट्यांकरमा हरियो, नीलो र पहेँलो स्टिकर टाँसिने मन्त्री शाहीले बताए । ‘ट्यांकरले आपूर्ति गर्ने पानी कति शुद्ध छ भन्ने मापन हुनेछ । मापनका लागि काठमाडौं खानेपानी विकास बोर्डलाई निर्देशन भइसकेको छ,’ शाहीले भने, ‘शुद्ध र सीधै पिउनयोग्य पानी छ भने हरियो, उमालेर खानयोग्य भएमा नीलो तथा भाँडा र लुगा धुन मात्रै योग्य पानी मात्र आपूर्ति गर्ने भएमा पहेँलो स्टिकर दिने निर्णय भएको छ । अब सबैले नियम पालना गर्नुपर्नेछ । नियम नमान्नेलाई कारबाही हुन्छ ।’ कति छन् उपात्यकामा पानी बोक्ने ट्यांकर रु उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार उपत्यकाभित्र खानेपानी वितरण गर्न सात सय ट्यांकर सञ्चालनमा छन् । ती ट्यांकरले हाल दैनिक पाँच करोड लिटर पानी वितरण गर्दै आएका छन् । तर, सुक्खायाममा दैनिक १० करोड लिटरसम्म माग हुने गरेको व्यवसायीको दाबी छ । उपत्यकामा भक्तपुरको झौखेल, सातदोबाटो, गोदावरी, चाल्नाखेल, चोभार, मातातीर्थ, स्वयम्भू, बालाजु, जोरपाटी, सानेपाको बागमती नदीछेउको क्षेत्रमा आधुनिक मेसिन राखेर जमिनमुनिको पानी तानेर ट्यांकरबाट आपूर्ति हुने गरेको छ । दैनिक झन्डै १९ करोडको पानी बिक्री उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार ट्यांकरबाट आपूर्ति हुने पानी दैनिक १७ करोड ५० लाख, जारको पानी दैनिक ३५ लाख, बोतलको पानी दैनिक ९६ लाख रुपैयाँको बिक्री हुन्छ । सबै गरी सुक्खायाममा उपत्यकामा दैनिक १८ करोड ८१ लाख रुपैयाँको पानी माग भइरहेको संघले जनाएको छ । जारमा पनि स्टिकर खानेपानी तथा सरसफाइ मन्त्रालयले बजारमा बिक्री भइरहेका जारको पानी परीक्षण गरेर स्टिकर दिने भएको छ । बोतल वाटर उद्योग संघका अनुसार सामान्य अवस्थामा २० लिटर पानी अटाउने जार दैनिक ४५ देखि ५० हजारवटा खपत हुने गर्छ । सुक्खायाममा भने ७० हजारवटासम्म जारको पानी खपत हुने संघको दाबी छ । एकदेखि डेढ लिटर अटाउने बोतलको पानी दैनिक २० देखि २५ हजार केस खपत हुने संघले जनाएको छ । एक केसमा १२ बोतल हुन्छ । गर्मीमा ४० प्रतिशत बढी माग हुने संघको दाबी छ । नयाँ पत्रिका दैनिकबाट ।

उपभोगमा १८ अर्ब २५ अर्ब खर्च, १ बर्षमै २ खर्ब बढ्यो नेपालीको उपभोग खर्च

काठमाडौं । नेपालीले गत आर्थिक वर्ष भरिमा १८ खर्ब २५ अर्ब रुपैयाँ उपभोगमा खर्च गरेको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ । विभागले विहीबार घरपरिवार सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो । चालू आर्थिक वर्षमा तिरेको भाउका आधारमा गणना गरिएको उक्त तथ्यांकले पछिल्लो एक वर्षमा नेपालीको उपभोग खर्च करिब २ अर्ब ३ अर्ब रुपैयाँ बढेको देखिएको छ । अघिल्लो वर्ष नेपालीको उपभोग खर्च १६ खर्ब २२ अर्ब रुपैयाँ रहेको विभागले जानकारी दिएको छ । विभागले सहरी क्षेत्रको डेढ सय र ग्रामिण क्षेत्रका डेढ सय गरी कुल तीन सय क्षेत्रमा सर्वेक्षण गरेको बनाएको छ । नयाँ पत्रिका दैनिकबाट ।

उपत्यकामा थप एक बर्ष धुलो हुने, पाँच सय किमि सडक खानेपानीको पाइप विछ्याउँन खनियो

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन सडक अन्दा निस्किएको माटोले अहिले काठमाडौं उपत्यका धुलाम्मे छ । उपत्यकाबासीले धुलोबाट छुटकारा पाउन अझै एक बर्ष कुर्नुपर्ने भएको छ । आयोजना आफैले कालोपत्रे गरिदिने सम्झौता सरकारसँग गरेपनि पाइप बिछ्याउने कामले पूर्णता नपाएपछि अहिले कालोपत्रे गर्ने काम सुस्त गतिमा अगाडि बढेको छ । आयोजनाले पानीको पाइप गाड्न उपत्यकामा अहिले पाँच सय किलोमिटर भन्दा बढी सडक खनेको छ । त्यसमध्ये ५० किलोमिटर सडक मात्रै कालोपत्रे गर्ने भाग सडक विभागकोमा परेको छ । अन्नपूर्ण पोस्टबाट ।