ग्लोबल आइएमई बैंक र नेपाल ओलम्पिक कमिटीबीच प्रायोजन सम्झौता
काठमाडौं, १३ साउन । बिहीबार ग्लोबल आइएमई बैंक र नेपाल ओलम्पिक कमिटीबीच प्रायोजन सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकले सन् २०१६ अगस्ट ५ देखि २१ सम्म ब्राजिलको राजधानी रियो दि जेनेरियोमा सञ्चालन हुन गईरहेको ओलम्पिक २०१६ मा सहभागिता जनाउने खेलाडीहरुको लागि आवश्यक पर्ने जर्सि, ट्रयाक्सुट लगायतका अन्य सामाग्री प्रायोजन गर्ने भएको छ । प्रायोजन सम्बन्धि सम्झौतामा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटा तथा ओलम्पिक कमिटीको तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकले ओलम्पिकमा सहभागिता जनाउने राष्ट्रिय टिमका खेलाडी, प्रशिक्षक, टिम म्यानेजरलाई जर्सि, टिर्सट, क्याप, ट्रयाक्सुट तथा स्र्पोर्ट किट प्रायोजन गर्नेछ । ग्लोबल आइएमई बैंकले खेलकुदको माध्यमबाट नेपाललाई अन्तराष्ट्रिय स्तरमा परिचित गराउने खेलाडीलाई प्रोत्साहन स्वरुपे जर्सि तथा स्र्पोर्ट किट प्रायोजन गरेको हो । सिङ्गो खेल जगतको विकासमा योगदान पुगोस भन्ने उद्धेश्यले बैंकले यसअघि पनि बिभिन्न समयमा सहयोग गर्दै आएको छ । खेलकुद क्षेत्रमा ग्लोबल आइएमई बैंकले बिशुद्ध बैंकिङ्ग सेवा मात्र नभएर सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आएको छ ।
प्रधानमन्त्रीद्वारा सागमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
काठमाडौं, १३ साउन । बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा खेलकुद सङ्घहरुलाई सरकारले नगदसहित सम्मान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टलगायतले सम्मान गरेका थिए । गत फ्रेब्रुअरी ५ देखि १६ तारिखसम्म भारतको गुवाहाटी र सिलोङमा भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण २३ रजत र ३४ काँस्यसहित ६० पदक जितेको थियो । उक्त प्रतियोगितामा व्यक्तिगत र टिम इभेन्ट्समा पदक जितेका १७९ खेलाडी, ५१ प्रशिक्षक तथा १८ सङ्घलाई पुरस्कृत गरिएको हो । सोअनुसार व्यक्तिगत स्पर्धामा स्वर्ण जितेका निमा घर्ती मगर र फुपुल्हामु खत्रीले जनही रु पाँच लाख पाए । त्यसैगरी फुटबल टोलीका २० खेलाडीलाई भने जनही रु दुई लाख प्रदान गरियो । उनीहरुलाई पनि रु पाँच लाख प्रदान गरिने निर्णय गरिएको भए पनि प्राविधिक कारणले रु दुई लाख मात्र प्रदान गर्न सकिएको बताइएको छ । त्यसैगरी व्यक्तिगत स्पर्धामा रजत जित्ने प्रत्येक खेलाडीले रु तीन लाख पाउँदा काँस्य जित्नेले जनही रु दुई लाख हात पारे । साथै टिम इभेट्समा रजत जित्नेले रु एक लाख ५० हजार तथा काँस्य जित्नेले रु एक लाख हात पारे । त्यस्तै विभिन्न खेलका ५१ प्रशिक्षकले रु ५० हजारदेखि तीन लाखसम्म प्राप्त गरे भने १८ खेलकुद सङ्घले रु दुई लाखदेखि पाँच लाखसम्म पुरस्कार पाए । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल खेल परम्परा र संस्कृतिका दृष्टिकोणले गौरवशाली देश भएको बताए । लिगलिगकोटमा दौडिएर जित्ने मात्र राजा हुने परम्पराको दृष्टान्त दिँदै उनले यस्तो परम्परा अन्य देशमा भएको आफूलाई थाहा नभएको चर्चा गरे । उनले भने – “दौडिएर राजा हुने कुरा छोडिदिउँ, तर अब दौडिएरै स्वर्ण पदक भने तपाइँहरुले लिनुपर्छ ।” प्रधानमन्त्री ओलीले नेपाली खेलकुद क्षेत्रले केही सुःखद सफलता हासिल गरेको भए पनि त्यसैमा चित्त बुझाएर नबस्न खेलाडीलाई आग्रह गर्दै भने – “यो सन्तुष्ट भइहाल्ने क्षेत्र परेन थप सफलताका लागि प्रयास गर्नुपर्छ ।” उनले आफू जुनसुकै पदमा रहे पनि खेलकुद र खेलाडीका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस
१२ लाख ठगेर भागेका राजन केसी जेल चलान
काठमाडौं, १२ साउन । १२ लाख रुपैंयाँ ठगी गरेर फरार भएका ललितपुर इमाडोलका राजन केसी जेल चलान भएका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरि केसीलाई जेल पठाएको हो । केसीले अनिता बुढाथोकीलाई जग्गा बैनाको नक्कली कागजपत्र देखाई १२ लाख रुपैंयाँ लिएर भागेका थिए । पीडित बुढाथोकीको उजुरीमा प्रहरीले केसी विरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेका थियो । सो मुद्धामा जिल्ला अदालत काठमाडौंले केसीलाई २०७२ माघ ३ गते १२ लाख जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो । फरार रहेका केसीलाई सिआइबीको टोलीले बुधबार पक्राउ गरि अदालत बुझाएको थियो । अदालतले फैसला कार्यान्वयनका लागि केसीलाई जेल पठाएको हो ।