पिछडिएका समुदायलाई अधिकार उपलब्ध गराउन माग
काठमाडौं, २५ साउन । नेपाल आदिवासी जनजाति महासङ्घले संविधान संशोधनबाट आदिवासी, जनजाति तथा पिछडिएका वर्गका समुदायलाई अधिकार उपलब्ध गराउन माग गरेको छ । महासङ्घले २२औँ विश्व आदिवासी दिवसका अवसरमा आज आयोजना गरेको पदयात्राको शुभारम्भ गर्दै महासङ्घका अध्यक्ष नगेन्द्रकुमार कुमालले आदिवासी जनजातिसँग विगतमा सरकारसँग भएका सहमति संविधानमा समावेश नभएकाले संविधान संशोधन गरी अधिकारको प्रत्याभूत गर्नुपर्नेमा जोड दिए । सांसद कुमालले मातृ भाषामा शिक्षाको व्यवस्था गर्नुपर्ने माग पनि गरे । सङ्घीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठले मुलुकको सुरक्षा तथा विशिष्ट संस्कृतिलाई संरक्षण गरेर बसेका आदिवासीलाई पहिचान सहितको अधिकार दिनुपर्नेमा जोड दिए । संयुक्त राष्ट्र सङ्घले विश्वका आदिवासीको संस्कृति संरक्षण गर्ने उद्देश्यले २२ वर्ष अगाडिदेखि अन्तर्राष्ट्रिय रुपमा नै दिवस मनाउन लागेको हो । रासस
रुस्लानद्वारा नेदरल्याण्ड जाँदै गरेको नेपाली क्रिकेट टोलीलाई विदाई
काठमाडौं, २१ साउन । रुस्लान क्रिकेटका ब्राण्ड एम्बेसेडरहरुलाई रुस्लान क्रिकेटका कार्यकारी निर्देशक राजबहादुर शाहले आधिकारिकरुपमा विदाई गरेका छन् । शाहले नेदरल्याण्ड जाँदै गरेको नेपाली राष्ट्रिय टोलीका सदस्य समेत रहेका ती खेलाडीलाई जावलाखेल ग्रुप अफ इण्डष्ट्रीजको आफिसमा आयोजित एक कार्यक्रमकाबीच बिदाई गरेका हुन् । सो अवसरमा नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, अन्य खेलाडीहरु शरद भेष्वाकर, बिनोद भण्डारी र बसन्त रेग्मी उपस्थित थिए । कार्यक्रममा बोल्दै रुस्लानका ब्राण्ड एम्बेसेडर समेत रहेका उपकप्तान ज्ञानेन्द्र मल्लले नेपालमा क्रिकेट विकासमा रुस्लानले पु¥याएको सहायता एवम् समर्थनका लागि धन्यवाद दिएका थिए । विश्व क्रिकेट लिग च्याम्पियनशीपका लागि यही अगष्ट महिनाको १३ र १५ तारिखका दिन नेदरल्याण्डसँग हुने प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोली यहि शनिबार नेदरल्याण्ड जाँदै छ । स्कटल्याण्ड, पपुवा न्यूगिनी र नामिबियासँगको खेलपछि नेपाली टोली चौंथो चरणमा नेदरल्याण्डसँग भिड्न लागेको हो । यस अवसरमा रुस्लान क्रिकेट नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिन चाहन्छ ।
नेदरल्यान्ड्सविरुद्ध खेल्ने नेपाली टोली घोषणा
काठमाडौं, १९ साउन । आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत यही महिना नेदरल्यान्ड्सविरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का प्रतिनिधि भेन्काटापथी राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासहितको छनोट समितिले आज १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कप्तान खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी र सागर पुन छन् । त्यस्तै विनोद भण्डारी, राजु रिजाल, करण केसी, अनिल मण्डल, सन्दीप लामिछाने, विक्रम सोब, राजेश पुलामी मगर र सुनिल धमलासमेत टोलीमा अटाएका छन् । नेपालले यही साउन २९ र ३१ गते उसकै घरेलु मैदानमा नेदरल्याण्ड्स दुई खेल खेल्नेछ । नेपाल क्रिकेट सङ्घ निलम्बन परेको अवस्थामा आइसिसीले प्रतिनिधि पठाएर राष्ट्रिय टोलीको छनोट गरेको हो । रासस