भुटानी शरणार्थी शिविरमा कृषि उत्पादन वृद्धिको लागि जापानको ८१ लाख सहयोग

काठमाडौं । नेपालस्थित जापानी दूताबासले भुटानी शरणार्थीको हितमा काम गर्दै आएको संस्था लुथेरन वर्ड फेडेरेशनलाई करिव ८१ लाख रुपैयाँ (अमेरिकी डलर ७० हजार २४५) अनुदान सहयोग दिएको छ । झापा र मोरङ जिल्लामा रहेका भुटानी शरणार्थी शिविर क्षेत्र र आसपास क्षेत्रमा कृषि उत्पादन वृद्धिमा सहयोग गर्ने कार्यमा खर्च गर्ने गरी उक्त सहययोग गरेको हो । सहयोग सम्बन्धि समझदारी पत्रमा नेपालका लागि जापानका राजदूत मसामिचि सइगो र लुथेरन वर्ड फेडेरेशनका कन्ट्री डारेक्टर डा प्रविन मानन्धरले हस्ताक्षर गरेका छन् । ग्रासरुटस् हुमन सेकुरिटी प्रोजेक्ट अन्तरगत जापान सरकारले उक्त सहयोग गरेको हो । यस कार्यक्रमबाट शिविरमा रहेको ६ हजार भुटानी शरणार्थी र स्थानीय समूदायलाई लाभ पुग्ने राजदूत सइगोले बताए । यस कार्यक्रमले शरणार्थी र आसपासको समूदायलाई कृषिजन्य उत्पादमा आत्मनिर्भर बनाउने सहयोग गर्ने उनले बताए । लुथेरन वर्ड फेडेरेशनका कन्ट्री डारेक्टर डा प्रविन मानन्धरले शरणार्थीले आफ्नो परिवार, घर र जमिन गुमाए पनि मानवअधिकार नगुमाएको बताउँदै यस परियोजनाले त्यस क्षेत्रको कृषि उत्पादनमा सहयोग गर्ने र शिविरमा रहेका शरणार्थीलाई सन्तुलित खानाको लागि योगदान गर्ने बताए । लुथेरन वर्ड फेडेरेशन सन २०८४ स्थापना भएको गैरसरकारी संस्था हो । यसले यूएनएचसीआर लगायत संस्थाबाट आर्थिक सहयोग लिई सन् १९९१ देखि भुटानी शरणार्थी शिविरमा हितकारी काम गर्दै आएको छ । जापानी सहयोगको कार्यक्रममा स्थानीय नगरपालिकाहरुको पनि सहभागिता रहेका मानन्धरले बताए ।

हर्न बजाउने ३४ हजार सवारीसाधन कारवाहीमा, १ करोड ७० लाख राजश्व संकलन

काठमाडौँ । ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदुषणको समस्या गम्भीर रूपले बढेर उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि विसं २०७४ वैशाख १ देखि हर्न निषेध गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीमा बाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको बताए । “उपत्यकामा धेरै सवारीसाधनसँगै हर्न बजाउने सवारीसाधनको सङ्ख्या बढेको छ, त्यसैले महाशाखाले जथाभावी हर्न बजाउने सवारीसाधनलाई कडाइ गरेको छ”, उनले भने । ध्वनि प्रदुषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरणशक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने गरेपछि सरकारले हर्नमा प्रतिबन्ध लगाएको हो । यस्तै, ट्राफिक प्रहरीले ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदुषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन वातावरण विभागलाई सिफारिशसमेत गरेको छ । महाशाखाले ध्वनि प्रदुषण गरेवापत एउटा सवारीसाधनबाट ५०० कारवाही स्वरुप लिँदै आएको छ । यसरी कारवाही स्वरुप १ करोड ७० लाख राजश्व संकलन भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र आठ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् ।

५ सय सवारी चालकलाई ग्लोबल आइएमईले बाँड्यो पोशाक

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा सार्वजनिक सवारी साधनका चालक तथा परिचालकलाई सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ५०० थान पोशाक वितरण गरेको छ । प्रदेश नं. १ अन्तर्गतका १४ वटै जिल्लाहरुमा संचालन हुने सार्वजनिक सवारी साधनका चालक तथा परिचालकहरुले अनिवार्य पोशाक लगाउनु पर्नेे व्यवस्थालाई कार्यान्वयन गर्न/गराउन निम्न आयस्तर भएका सवारी चालक तथा परिचालकहरुलाई उक्त पोशाकहरु वितरण गरिएको हो । ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीसँगको सहकार्यमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सवारी दुर्घटना न्यूनीकरण एवम् ट्राफिक व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न कार्यक्रहरुमा सहयोग गर्दै आएको जनाएको छ ।