सहकारी संस्थामै २५ करोड अपचलन, बैंकिङ कार्यालय बन्द, बचतकर्ताको बिचल्ली

बाँके । नेपालगञ्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडमा रु २५ करोडभन्दा बढी अपचलन भएको छ । सहकारी वित्तीय संस्थामा कार्यरत केही कर्मचारीबाट ठूलो परिमाणमा रकम अपचलन भएको संस्थाको सञ्चालक समितिले जनाएको छ । ग्राहकको करीब रु ५२ करोड मौज्दात जम्मा गरेको संस्थामा रु २५ करोड अपचलन हुँदा बचतकर्ताले जम्मा गरेको रकम निकाल्न पाएका छैनन् । बचतकर्तालाई दिने रकम नभएपछि आइतबारदेखि संस्थाको बोर्ड बैठकले बैंकिङ कार्यालय नै बन्द गरेको छ । बचत रकम झिक्न नपाएपछि ग्राहकले आइतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर आफ्नो बचत फिर्ता गराइदिन जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिएका छन् । सहकारी वित्तीय संस्था लिमिटेडमा एउटै व्यक्तिको रु ३० लाखसम्म बचत रहेको छ । बचतकर्ता अशोककुमार ठटेरले आफूले मेहनत गरेर दुई वर्ष लगाएर बचत गरेको रु दुई लाख झिक्न नपाएको गुनासो गरे । ठटेरले भने, “शुक्रबार जाँदा आइतबार आउन भने, आइतबार जाँदा बैंकमै ताला लागेको थियो । अब हाम्रो पैसा दिने ग्यारेन्टी कसले गर्छ ?” त्यस्तै १५ वर्षदेखि रकम जम्मा गर्दै आएकी चाँदआरा दर्जीले पनि आफ्नो करीब रु १४ लाख बचत रहेको बताइन् । उनले भनिन्, “हामी त आफ्नै घरजस्तो मान्थ्यौँ । पैसा झिक्न आएको त बैंकमा पैसा नै छैन । जहिले आए पनि आज आउ, भोलि आउ मात्र भन्थे । अहिले त सबै कर्मचारी नै भागेको भन्ने सुनेँ । हामी समस्यामा परेका छौँ ।” सहकारी वित्तीय संस्था लिमिटेड सञ्चालक समितिका अध्यक्ष हरदेव बक्स चौधरीले चाँडै नै ग्राहकलाई आंशिक भुक्तानी भए पनि दिने तयारी भइरहेको बताइन् । अपचलन गर्ने कर्मचारीको पहिचान भइसकेको र उनीहरुले रकम तिर्ने कबुलियत गरेको पनि सञ्चालक समिति अध्यक्ष चौधरीको भनाइ छ । उनले अपचलनमा संलग्नता स्वीकारेका कर्मचारीविरुद्ध प्रहरीमा जाहेरी दिइएको पनि बताउनुभयो तर कुन, कुन कर्मचारीले रकम अपचलन गरेका हुन् भन्नेबारे भने अध्यक्ष चौधरीले खुलाउनुभएन । को–को संलग्न छन् भन्ने थप अनुसन्धान गरेपछि स्पष्ट हुने उनको भनाइ थियो । कर्मचारीबाट अपचलन भएको संस्थाको रकम र सोसम्बन्धी पूर्ण अध्ययन गर्न अझै कम्तीमा १५ दिन लाग्ने भन्दै सञ्चालक समितिको शनिबारको बोर्ड बैठकले २६ गतेसम्म बैंकिङ कारोवार स्थगन गर्ने निर्णय गरेको छ । संस्थाले ग्राहकको रकम संस्थामा सुनिश्चित रहेको र संस्थाको आन्तरिक हिसाब छिट्टै मिलान गरी संस्था नियमित सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाएको छ । सञ्चालक समितिका अध्यक्ष चौधरीलाई बचतकर्ताको उजुरीपछि प्रहरीले नियन्त्रणमा लिएको छ । अपचलनमा संलग्न भनिएका कर्मचारीको खोजी भइरहेको र सञ्चालक समितिका सदस्यलाई बोलाएर घटनाबारे बुझ्ने तयारी भइरहेको पनि बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए । २०५१ सालमा स्थापना भएको यो सहकारी वित्तीय संस्था लिमिटेडका तीन हजारभन्दा बढी ग्राहक छन् । रासस

असार १ गतेदेखि थप चार ब्रुमरले सडक सफा गर्ने, २ वटा चीन सरकारले दिने

काठमाडौं । काठमाडौं उपत्यकामा सडक सफा गर्ने चार ब्रुमर थपिने भएको छ । असार १ गतेदेखि सो संख्याको बु्रमर थपिने लागेको काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकृष्ण श्रेष्ठले बताए । दुई ब्रुमर चिनियाँ सरकारले सहयोग गर्न लागेको हो भने थप २ वटा महानगरपालिकाले खरिद गर्न लागेको हो । यस अघि नगर कार्यपालिकाको ३२ औं बैठकले पारित गरेपछि पाँच ब्रुमर इटालियन कम्पनीबाट खरिद गरेको थिए । राती मात्र काम हुने ब्रुमरमा प्राविधिक समस्या भएमा ३ वर्षसम्मको वारेन्टी र बेलाबेलामा सबै ब्रुमर के कस्तो चलिरहेको छ त्यसलाई हेर्ने एवम् सामान फेर्ने काम गरिरहेका वातावरण व्यवस्थापन विभागका प्रमुख श्रेष्ठले बताएका छन् । ब्रुमरबाट नगरक्षेत्रको धुलो नियन्त्रणमा उल्लेख्य प्रगति देखिएकाले थप दुईवटा ब्रुमर खरिद गर्न लागिएको मनपाको भनाई छ । राजधानीको धुलो नियन्त्रणका लागि मनपाले ब्रुमर प्रयोगमा ल्याएपनि समस्या समाधान भने हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

गायक पुष्कल शर्माको ‘फाटेको मन’ भिडियो सहित सार्वजनिक

काठमाडाैं। प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा भरत प्रसाद पाठकको लोकदोहोरी गीत ‘फाटेको मन’ गीतको भिडियो सहित बजारमा आएको छ । गायक पुष्कल शर्मा र गायिका मुना थापा मगरको आवाजमा सजिएको गीत सार्वजनिक भएको हो । भावनात्मक रुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा आपसमा प्रेमी प्रेमीका विचमा उत्पन्न पिडालाई समेटिएको छ । भरत कामु मगरको को शब्द तथा भरतप्रसाद पाठकको मौलिक लय सिर्जनमा गीत तयार गरिएको छ । मुकेश हुमागाईँको छायाँकन, राजेश कुमारको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा आर्यन र अलिशानको अभिनय रहेको छ ।