ठाउँ ठाउँमा मिनरल वाटर प्लान्ट राख्ने संस्थानको तयारी, पनौति केन्द्रको मन्त्री मगरले गरिन् निरीक्षण
काठमाडौँ । खानेपानी मन्त्री बिना मगरले नेपाल खानेपानी संस्थानको काभ्रे पनौतिस्थित प्रशोधित पानी उत्पादन केन्द्रको बुधबार निरीक्षण गरेकी छिन् । संस्थान आफैंले लगानी गरेर प्रशोधित पानी उत्पादन गरी जार तथा बोतल मार्फत आम उपभोक्ता समक्ष पुर्याउने लक्ष्य लिई पनौति नगरपालिका क्षेत्रमा प्लान्टको स्थापना गरेको हो । उक्त प्लान्टको निरीक्षण गर्न खानेपानी मन्त्री मगर पनौति पुगेकी हुन् । प्रशोधित पानीको प्लान्ट निरीक्षण गर्दै मन्त्री मगरले बजारमा प्रतिस्पर्धा गरेर संस्थानले गुणस्तरीय पानी आम उपभोक्ता माझ पुर्याउने गरी योजना बनाउन निर्देशन दिइन् । ‘संस्थानको यो पहिलो उत्पादन केन्द्र हो । अन्य स्थानीय तहहरुमा यसरी नै पानी प्रशोधन गर्ने प्लान्ट राख्ने गरी योजना बनाउन जरुरी छ ।’ उनले भनिन्-‘यो एउटा उदाहरण मात्र हो । अन्तर्राष्ट्रिय बजारमा हाम्रा मिनरल वाटर निर्यात गर्न सक्ने गरी योजना बनाउनुपर्छ । संस्थानले काम गर्न सक्छ भन्ने कुरा प्रमाणित गर्न सकोस् ।’ नेपालका विभिन्न ठाउँहरुमा यस्तै पानी प्रशोधन प्लान्टहरु कहाँ कहाँ राख्न सकिन्छ, त्यस बारेमा सम्भावना खोजी गर्न मन्त्री मगरले संस्थानलाई निर्देशन दिइन् । उनले संस्थानलाई आफ्नो क्षमता बढाउन निर्देशन समेत दिइन् । सगरमाथा लगायतका हिमालहरुबाट बग्ने पानीको प्रशोधन गरेर अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने सम्बन्धमा सम्भावनाको खोजी भईरहेको उनको भनाइ छ । संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले संस्थान अब खुला बजार प्रतिस्पर्धाका लागि तयार भईसकेको बताए । महाप्रबन्धक प्रसादले पनौति जस्तै अन्य नगरपालिकाहरुमा समेत मिनरल वाटर प्लान्ट राख्ने तयारी भईरहेको जानकारी दिए । पनौति नगरपालिकाका नगर प्रमुख मेयर भीम न्यौपानले संस्थानलाई पानीको प्लान्ट क्षमता विस्तार गर्नका लागि आफूहरुले पूरा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । संस्थानको उक्त प्लान्ट २०७४ भदौदेखि सञ्चालनमा आएको हो । यसको पानी उत्पादन क्षमता प्रति घण्टा २ हजार लिटर रहेको छ । संस्थानले यस प्लान्टबाट दैनिक ३८ हजारदेखि ४० हजार लिटर सम्म पानी उत्पादन गर्न सकिने जनाएको छ । अहिले दैनिक २ सय ६५ जार पानी उत्पादन हुँदै आएकोमा आगामी दिनमा यसको क्षमता विस्तार गरिने महाप्रबन्धक प्रसादको भनाई छ । उत्पादनसँगै जारको संख्या बढाएर बजारमा प्रतिस्पर्धा गर्ने र बिक्री बढाउने रणनीति संस्थानले लिएको उनको भनाई छ ।
‘कोका-कोला क्यापमा कार’ अफरमा हेटौँडाका अम्बर गुरुङले जिते टाटा टियागो
काठमाडौँ । पेय पदार्थ कोका–कोलाले यो वर्षको ठूलो प्रवद्र्धन क्याम्पेन ‘कोका–कोला क्यापमा कार’को विजेता हेटौंडाका अम्बरबहादुर गुरुङलाई बम्पर उपहार टाटा टियागो गाडी हस्तान्तरण गरिएको छ । बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजित कार्यक्रममा बुधबार विजेतालाई गाडीको साँचो हस्तान्तरण गरेका छन् । यो क्याम्पेनमा प्रत्येक घण्टा(हावर्ली) लक्की ड्र उपहार अन्तर्गत ३२० जना विजेताले एलजी एलईडी टिभी जित्न सफल भएका थिए । कोका–कोलाको यो अभियान देशभरका कोक उपभोक्तासम्म पुग्दै ठूलो सफलता हासिल गर्यो र नेपालका विभिन्न शहर पोखरा, सिन्धुपाल्चोक, विराटनगर, विरगञ्ज लगायतको स्थानबाट उपभोक्ताहरु विजेता भएका छन् । बम्पर लक्की ड्र का विजेता गुरुङले भने–‘म लाखौं सहभागी मध्य टाटा टियागो गाडीको विजेता हुन पाउँदा निकै खुशी छु । यो मेरो पहिलो गाडी हो । यस्तो अभियान ल्याएकोमा म कोका–कोला नेपालप्रति आभार प्रकट गर्दछु ।’
विदेशीलाई नागरिकता दिलाएको अभियोगमा दुई कर्मचारीसहित ६ जना जेल चलान
भद्रपुर । झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका झापाका दुई कर्मचारीसहित ६ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतको कात्तिक २५ गतेको आदेश अनुसार सबै ६ जनालाई झापा जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । कारागार चलान भएका अभियुक्तमा झापा जिल्ला प्रशासन कार्यालयका खरिदार तेजिन्द्र न्यौपाने, विर्तामोड नगरपालिका–८ का वडासचिव लोकराज बराल, जिल्ला प्रशासन कार्यालय झापाको मूलढोका अगाडि नेसनल फोटो स्टुडियो चलाउने भद्रपुर–१० का भीमबहादुर लिम्बू, लेखापढी सम्बन्धी काम गर्ने भद्रपुर–१० का प्रेमराज तिम्सिना, विर्तामोड–५ बस्ने टेकबहादुर गुरुङ र भारत किसनगञ्ज घर भई विर्तामोड–८ मा डेरा गरी बस्ने मुस्तफा आलम रहेका छन् । गैर–नेपालीलाई झुठा विवरण भराई झापा जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकता लिएको घटना सार्वजनिक भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँबाटसमेत छानबिन भएको थियो । प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको थियो भने अभियोग लागेका भद्रपुर र विर्तामोडका दुई जना वडाध्यक्ष फरार भएका छन् । प्रहरीले उनीहरुको खोजतलास भइरहेको जनाएको छ । प्रहरीका अनुसार अभियुक्तहरुले मिलिभगत गरी १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाएका थिए । उक्त नागरिकताविरुद्ध उजूरी परेपछि गृहमन्त्रालयले नै चासो राखी छानबिन अघि बढाउन निर्देशन दिएको थियो । सो घटनामा जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुङ्गेल र खरिदार तेजिन्द्र न्यौपानेको प्रत्यक्ष संलग्नता रहेको छानबिनले ठहर गरेको थियो । प्रहरीले न्यौपानेलाई पक्राउ गरेको थियो भने ढुङ्गेल अझै फरार छन् । झुठा विवरण बनाउँदा टेकबहादुर गुरुङ र रीना गुरुङलाई बुबाआमा कायम गर्दै नौ जनालाई नेपाली नागरिकता दिलाउन सनाखत गराइएको थियो । त्यसरी नागरिकता लिनेमा नवाङ सिसाप गुरुङ, रिगजेन छोडेन गुरुङ, धोनसेल गुरुङ, वाङ्मो गुरुङ, डोल्मा गुरुङ, पेमा डोल्कर गुरुङ, छिरिङ डिकी गुरुङ, लोब्सान गुरुङलगायत छन् । रासस