सिन्दुर हाल्ने बेला बेहुलाको हात नउठेपछि चार लाख जरिवाना

झापा । विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई चार लाख रुपैयाँ जरिवाना तिरेका छन् ।  मंसिर २९ गते दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका–७ का सुवेदी थरका एक युवकको वैवाहिक कार्यक्रम हुँदै थियो । वैवाहिक कार्यक्रम अनुसार बेहुलाले बेहुलीलाई सिन्दुर हाल्ने बेलामा बेहुलाको हात नचलेपछि बेहुली पक्षले विवाह अस्वीकार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार विवाह मण्डपमै खैलाबैला मच्चिएर बेहुला पक्षले जन्ती लगेको गाडी नै तोडफोड गर्न खोजेपछि विवाह घरमै पुगेर प्रहरीले सुरक्षा दिएको थियो । बेहुला पक्षले बेहुली पक्षलाई झुक्याएर विवाह गरेको भन्दै विवाद उत्पन्न भएको थियो । बेहुलाको हात नचलेपछि उनी शारीरिक अपाङ्गता भएको व्यक्ति रहेको भन्दै बेहुली पक्षले बेहुला पक्षलाई चार लाख जरिवाना तिराएका छन् । जसका लागि बुद्धशान्ति गाउँपालिकाकी उपप्रमुख मीरा भुर्तेलसहितको टोलीले विवाद समाधानका लागि पहल गरेको प्रहरीले जनाएको छ । बेहुलाले आफू डाक्टर भएको भन्दै बेहुली पक्षलाई विवाहका लागि प्रस्ताव राखेको र उनी डाक्टर नभइ निजी अस्पतालमा कार्यरत कर्मचारी रहेको बेहुली पक्षको आरोप छ । बेहुली पक्षले विवाहका लागि गरिएको खर्चको माग दाबी गर्दै बेहुला पक्षसँग चार लाख रकम लिएको बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भुर्तेलले बताइन्। उनले भनिन्, ‘समाज बसेर विवाहको लागि भएको खर्चको हिसाब गरेको हो, यसमा गाउँपालिकाको कुनै हात छैन । विवाहको कुरा छिनेपछि बेहुला र बेहुली दुवैपक्षले सहमतिमै टीकाटाला नगरी एकै पटक विवाहका लागि राजी भएको बताइएको छ ।’ यसअघि पनि बुद्धशान्ति गाउँपालिकामा एक व्यक्तिको विवाह हुँदा यस्तै घटना घटेको थियो । विवाहलगत्तै बेहुलीलाई छाडेर बेहुला भाग्दा बेहुलीको परिवारलाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति समाजले दिलाएको थियो । जसका लागि गाउँपालिकामा सहमतिका लागि छलफल भएको थियो । रासस

१२ बर्षको खोज र अनुसन्धान पश्चात ‘सूर्य चारै दिशाबाट उदाउँछ’ पुस्तक सार्वजनिक

काठमाडौं । कमलकुमार रिजालद्वारा लिखित ‘युनिक डिस्कभरी इन युनिभर्स’ नामक अनुसन्धानपरक पुस्तक सार्वजनिक गरिएको छ । गत आईतवार एक कार्यक्रमकावीच प्रज्ञाप्रतिष्ठान कमलादीमा नेपाली काँग्रेसका उपसभापति विजय कुमार गच्छदारले उक्त पुस्तकको सार्वजनिक गरेका हुन् । पृथ्वीको उत्पत्ति, मानव जातिको विकासक्रम, ग्रहहरुको उत्पत्ति र सूर्य उदय तथा अस्त लगायतका विषय समेटिएको पुस्तक बैज्ञानिक खोजमा आधारित रहेको लेखक कमल कुमार रिजालको भनाई छ । पुस्तकले मुलत सूर्य पूर्वबाट मात्र उदाउँछ भन्ने मान्यतालाई चुनौति दिएको छ । ‘युनिक डिस्कभरी इन युनिभर्स’का अनुसार सूर्य चार वटै दिशाबाट उदाउने गर्छ । सदियौं देखि पूर्वबाट सूर्य उदाउँछ भन्ने मान्यता भन्दा फरक दृष्टिकोण राखेर लेखिएको पुस्तक ‘युनिक डिस्कभरी इन युनिभर्स’ नेपाली पाठकहरुका लागि मात्र नभएर विश्वभर खगोलिय अध्ययन गर्नेहरुका लागि नितान्त नयाँ विषय हुनेछ । पुस्तक लोकापर्ण कार्यक्रममा काग्रेस उपसभापति विजय गच्छदारले सूर्य पूर्वबाट मात्र नउदाउने भन्ने कुरा सुन्दा आफूलाई अनौठो लागेको बताए । तर उनले खोज र अनुसन्धानहरुले पूर्ववत मान्यताहरुलाई भत्काउने हुँदा ‘युनिक डिस्कभरी इन युनिभर्स’ ले निक्र्याेल गरेको खोजले पनि नयाँ तथ्य स्थापित गर्ने विश्वास व्यक्त गरे । लेखक रिजालका अनुसार ‘युनिक डिस्कभरी इन युनिभर्स’ १२ बर्षको खोज र अनुसन्धान पश्चात लेखिएको हो ।

प्रभु लाईफ इन्स्योरेन्सद्वारा सातै प्रदेशमा फोहर फाल्ने गार्बेज बिन वितरण

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो तेश्रो वार्षिकोत्सवका अवसरमा देशका सातै प्रदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी फोहर फाल्ने गार्बेज बिन वितरण गरेको छ । कम्पनीले प्रदेश नं. ३ अन्तर्गतको कार्यक्रममा, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंज, काठमाण्डौंलाई अस्पताल परिसरमा फोहर ब्यवस्थापनका लागि फोहर फाल्ने गार्बेज बिनहरु वितरण गरेको छ । अस्पतालका नि. निर्देशक, अन्य विभागीय प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले हस्तान्तरण गरेका थिए । प्रदेश नं. १, २, ३, गण्डकी प्रदेश, ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशहरुमा पनि कम्पनीका विभिन्न शाखा कार्यालयहरुले आ–आफ्नो क्षेत्रका सार्वजनिक उद्यान, पार्क, मठ–मन्दिर, सरकारी बिद्यालय तथा सरकारी अस्पतालको सरसफाई गरी उक्त स्थानहरुमा समेत गार्बेज बिनहरु उपलब्ध गराएको छ । गत वर्ष पनि यसैगरी कम्पनीले सातै प्रदेशका विभिन्न सरकारी विद्यालयका बिद्यार्थीहरुलाई पोशाक स्वेटर बितरण गरेको थियो ।