‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बाल गृहलाई

काठमाण्डौ । ’भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक भएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल–२०२०’ लाई सफल पार्न टेवा पुर्याउने हेतुले तयार पारिएको गीत सार्वजनिक भएको हो । गीतमा समग्र नेपालको पर्यटन र पर्यटकीय क्षेत्रको समष्टिगत रुपमा चर्चा गरिएको छ । नेपालको सुन्दर पर्यटकीय क्षेत्र र नेपाली जनले आम पर्यटकप्रति देखाउँदै आएको सद्भाव र मायालाई बलियो ढंगबाट प्रस्तुत गरिएको छ ।गीतको भिडियोमा पनि निर्माण पक्षले उतिक्कै मिहिनेत गरेको र सशक्त रुपमा नेपालको पर्यटकीय क्षेत्रलाई देखाइएको छ । नेपाली खाना परिकार गुन्द्रुक, सेल रोटी साथै मौलिक खानाका साथै नेपालका विभिन्न पर्यटकीय क्षेत्रको बारेमा गीतमा व्याख्या गर्नुका साथै त्यही अनुरुपको भिडियो तयार पारिएको छ । यो गीतसँगै सार्वजनिक भएको भिडियोले स्वदेशी तथा बिदेशी पर्यटकलाई नेपालबारे बुझ्न र चिनाउन सहजता हुने गीतकार एंव उरारा शलिन कार्कीले जानकारी दिए । गीतको सम्पूर्ण आम्दानी केआर बालगृहलाई प्रदान गरिने समेत उनले बताए । गीतकार उरारा सलिन कार्कीको शब्द रचना रहेको गीतमा सङ्गितकार हरी लम्सालले संगीत भरेका हुन् । गीतमा गायक आनन्द कार्कीको मीठो आवाजमा सुन्न सकिनेछ । गीतलाई राज लामिछानेले अनुवाद गरेका हुन । गीतको भिडियोमा उदय बिक्रम थापा,उरारा शलिन कार्की, मिस्टर नोरिओ मएड, पुर्णिमा लामा, हरि शाही, सुधा कार्कि, प्रतिमा थापालगायत कलाकारको अभिनय समेटिएको छ । भिडियोलाई जोमसोम, लुम्बिनी, हिमालय रेन्ज, रारा,तिलोचो ताल, गोर्खा दरबार, साराङकोट, त्रिशुली लगायत पर्यटकीय क्षेत्रमा छायाँकन गरिएको छ । 

साहित्यकार डा.भट्टले पाए वनिता लघुकथा सम्मान

काठमाडौं । वनिता लघुकथा सम्मान २०७६ द्वारा साहित्यकार डा.पुष्करराज भट्ट सम्मानित भएका छन् । वर्षेनी साहित्यकारलाई प्रदान गरिँदै अाएको पुरस्कार यो वर्ष डा.भट्टलाई प्रदान गरिएको हो । कार्यक्रमकी सभापति रञ्जुश्री पराजुलीले वनिता त्रैमासिकमार्फत पुरस्कार प्रदान गर्ने गरी एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेेको बताइन् । वनिता परिवारको तर्फबाट मञ्जिला उप्रेतीले स्वागत मन्तव्य राखेकी हुन् । समारोहमा वनिता त्रैमासिककी सम्पादक, प्रकाशक लक्ष्मी उप्रेती, सम्मानित स्रष्टा डा.पुष्करराज भट्ट एवम् प्रेस काउन्सिलका सदस्य चेतनाथ धमलाले मन्तव्य राखेका थिए । उक्त वनिता लघुकथा विशेषांक विमोचन कार्यक्रममा वरिष्ठ बालसाहित्यकार, नियात्राकार रञ्जुश्री पराजुलीको अध्यक्षता, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद सदस्य मातृका पोखरेलको प्रमुख आतिथ्य एवम् कथाकार इन्द्रकुमार श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कामपाले शुरु गर्याे प्रचार सामग्री हटाउने कार्य

काठमाडौं । महानगरपालिकाले प्रचारप्रसारका लागि शहरका विभिन्न स्थानमा राखिएका होर्डिङ बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत सहरी दृश्य प्रदूषण हुने प्रचार सामग्री हटाउने काम शुक्रबारदेखि शुरु गरेको छ । शुक्रबार बबरमहल, तीनकुने र कालीमाटी क्षेत्रका ठूला बोर्ड हटाइएको नगर प्रहरी महाशाखा प्रमुख एवं नगर प्रहरी नायब उपरीक्षक धनपति सापकोटाले जानकारी दिए। उनले भने, “भित्तेलेखन, पोल र भित्तामा टाँसिएका पर्चा पम्प्लेट, ब्यानरलगायत शहरलाई कुरूप बनाउने सबै सामग्री हटाउँदैछौँ, शहरलाई सुन्दर बनाउन होर्डिङ बोर्ड मात्र व्यवस्थापन गरेर पुग्दैन, भित्तेलेखन, पर्चा, पोष्टर, पम्प्लेट सबै हटाउनु पर्छ ।” शहरी दृश्य प्रदूषण हटाउन परमादेशको माग गर्दै सर्वोच्च गएका अधिवक्ता पदमबहादुर श्रेष्ठले भने, ‘महानगरको रेकर्ड भएका प्रचार सामग्रीलाई विधिअनुसार व्यवस्थापन गर्नुपर्छ, अभिलेखमा नआएका बिजुलीको पोल, भित्ता तथा अन्य सार्वजनिक ठाउँ वा सार्वजनिक ठाउँबाट देखिने ठाउँका सबै प्रकारका प्रचार सामग्री हटाउनुपर्छ ।’ कारवाही स्वरुप ५८ हजार रुपैयाँ जरिवाना शुक्रबार मात्रै कामपाले भित्ते लेखन तथा सडकमा जथाभावी माटो खसाल्ने १० कम्पनी र व्यक्तिलाई कारवाही गरेको छ । जथाभावी होर्डिङ बोर्ड र पर्चा–पम्प्लेट टाँसेको भन्दै भ्याली इष्टिच्युट चाबहिललाई १० हजार रुपैयाँ र काठमाडौं जब इम्प्लोइमेण्टलाई पाँच हजार रुपैयाँ जरिवाना तिराएको पनि सापकोटाले जानकारी दिए । सेन्ट जेभियर्स र गोल्डेनगेट मल्टिपर्पोजलाई पनि कामपाले क्रमशः पाँच–पाँच हजार रुपैयाँ जरिवाना तिराएको छ । शुक्रबार मात्रै विभिन्न व्यक्ति र संस्थाबाट कामपाले ५८ हजार जरिमाना असुलेको छ । भित्ते लेखनलगायत सहरी दृश्य प्रदूषण हुने प्रचार सामग्री हटाउने कामलाई महानगरले सोमबारबाट कम्तीमा तीन वटा टोली बनाएर महानगरभरि नै परिचालन गर्ने भएको छ । ‘नेपाल पर्यटन वर्ष २०२०’ लाई लक्षित गरेर शहर सुन्दर बनाउने अभियानलाई कामपाले तीव्रता दिएको हो । बिहीबार मात्रै गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा कामपा प्रमुख विद्यासुन्दर शाक्यसहित बसेको बैठकले सरोकारवाला निकायका अधिकारीबीच शहरी सुन्दरता कायम गर्ने काममा सघाउ पु¥याउन सबै पक्षलाई आग्रह गरिएको थियो । रासस