अपाङ्गता भएका व्यक्तिलाई पहिलोपटक डिजिटल परिचयपत्र वितरण
कास्की । कास्कीको माछाप गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई देशमै पहिलोपटक डिजिटल परिचयपत्र वितरण शुरु गरिएको छ । माछापुच्छ्रे गाउँपालिकामा रहेको अपाङ्गता समन्वय समिति र राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेशको सहकार्यमा व्यक्तिको सम्पूर्ण विवरणसहितको राम्रो गुणस्तरको पानीमा खस्दासमेत नबिग्रने किसिमको परिचयपत्र वितरण गर्न लागिएको हो । माछापुच्छ्रे गाउँपालिकाले गत कात्तिक १७ देखि २४ गतेसम्म नौ वटै वडामा शिविर सञ्चालन गरेर अपाङ्गता भएकाहरूको विवरण सङ्कलन गरेको थियो । सोही आधारमा दर्ता भएका आवेदनमध्येबाट सोमबारदेखि ४५६ जनालाई डिजिटल प्रविधिको परिचयपत्र वितरण शुरुआत गरिएको हो । पूर्ण अशक्त रातो रङको परिचयपत्र प्राप्त गर्ने १०८ रहेका छन् । पूर्ण अशक्तलाई रातो, अति अशक्तलाई निलो तथा मध्यम र सामान्यलाई पहेँलो र सेतो परिचपत्र तयार गरिएको छ । परिचयपत्रका आधारमा सार्वजनिक यातायात, स्वास्थ्य सेवालगायतमा उनीहरूले सहुलियत तथा सुविधा पाउँदै आएका छन् । गाउँपालिकाको वडा नं १ मा ४५, २ मा ७०, ३ मा ४७, ४ मा १०३ र ५ मा २४ अपाङ्गता भएका व्यक्ति रहेका छन् । त्यसैगरी वडा नं ६ मा ४८, ७ मा ५४ तथा वडा नं ८ र ९ मा ३० र २३ रहेको समन्वय समितिका संयोजक एवं गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले बताए । महासङ्घ गण्डकीका अध्यक्ष खोमराज शर्माले नेपालमै पहिलोपटक माछापुच्छ्रे गाउँपालिकाबाट डिजिटल परिचयपत्र वितरण शुरु भएको बताए । उनले यसअघि देशका कुनै पनि पालिकामा डिजिटल परिचयपत्र वितरण गरिएको जानकारी महासङ्घमा नरहेको बताउँदै प्रथमपटक शुरुआत भएको उल्लेख गरे । गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको सवालमा चासो दिएकै कारणले सहकार्यमा माछापुच्छ्रेबाट गुणस्तरीय डिजिटल प्रविधिको परिचयपत्र वितरण शुरु भएको बताउँदै उनले यसबाट अपाङ्गता भएकालाई आवश्यक नीति निर्माणमा समेत सघाउ पुग्ने उल्लेख गरेका छन् । गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को दफा ४ बमोजिम स्थानीय तहलाई प्राप्त अधिकारबमोजिम तथ्याङ्क सङ्कलन गरी परिचयपत्र वितरण गरिएको जानकारी दिए । उनले रातो परिचयपत्र भएकालाई राज्यले हाल मासिक रु तीन हजार प्रदान गर्दै आएबाट रातो परिचयपत्रका लागि नागरिकको जोड रहने गरे पनि सेतो र पहेँलो परिचयपत्र हुनेले राज्यबाट बढी अवसर प्राप्त गर्ने बताए । परिवारमा एक अपाङ्ग व्यक्ति हुँदा त्यसले सम्पूर्ण परिवारलाई नै प्रभावित पार्ने भएकाले अपाङ्गता हुन नदिन प्रयत्न गर्नुपर्नेमा उनको जोड थियो । सामाजिक विकास समितिका सभापति दुर्गाबहादुर क्षेत्री तथा वडा नं ४ का वडाध्यक्ष पूर्णबहादुर शाहीले अपाङ्ता भएकालाई हेर्ने दृष्टिकोणमा परिर्वतन जरुरी रहेकामा जोड दिँदै अपाङ्गमैत्री संरचना निर्माण तथा उनीहरूको सवालमा सधैँ सकारात्मक रहने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस
सिसडोलमा फोहरबाट स्वास्थ्य र वातावरणमा नकारात्मक असर छैन- नास्ट
ललितपुर । काठमाडौँ उपत्यकाको फोहर विसर्जनस्थल सिसडोलमा फोहरका कारण स्थानीयवासीको स्वास्थ्य र यहाँको वातावरणमा नकारात्मक असर नदेखिएको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले यस क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययन र अनुसन्धान गरी सो क्षेत्रमा खासै समस्या नरहेको प्रतिवेदन आज सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिकाले नास्टलाई दिएको जिम्मेवारीअनुसार नास्टले गत असोजदेखि दुई महिना लगाई सिसडोल क्षेत्रमा अध्ययन गरिएको प्रतिष्ठानले जनाएको छ । यहाँ बग्ने पानी र भूमिगत सतह, गन्धमापन, ग्यास, धुलोको कण, फोहरको लेदो लिचेत, आँखाले देखिने वा नदेखिने वस्तु, चराचुरुङ्गी, माछा, जनावर आदिको अध्ययन गरी यस क्षेत्रमा खासै समस्या नरहेको तथ्याङ्क सार्वजनिक गरेको हो । प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक डा. भोजराज पन्तले आफ्नो कार्यालयमा रहेको गन्धमापन यन्त्र(अल्फ्याक्टोमिटर) ले गरेको अध्ययनले सिसडोलमा रहेको फोहरका कारण उत्पन्न हुने ग्यासले स्थानीयमा खासै असर नगर्ने बताए । पन्तले भने, “सिसडोल फोहर विसर्जनस्थल नजिकैका मुख्य प्रभावित क्षेत्रमा खिल्बुचे, टिलकोरिया, तल्लो सिउडिनी, सिम्खडागाउँ, मगतेटोल–एक–दुई, पञ्चमुरीटोल, कोल्पुखोला–एक–दुई र सोवतीबालुवा र केही प्रभावित क्षेत्रमा भण्डारथुम्का, ढोकाभञ्ज्याङ, पाठकगाउँ, डि–गाउँ, क्षते–ए र –बि, शिवालय मावि सिउडिनी, तत्लोसिउडिनी–एक–दुई, कागतीगाउँ हुन अनि कम प्रभावित क्षेत्रमा कजुञ्जेगाउँ, स्वानागाउँ, हेल्थपोष्ट कागतीगाउँ, सिउडिनी ट्याङ्कीडाँडा रहे तापनि यहाँ खासै वातावरणीय प्रभाव परेको देखिएन ।” नास्टले सिसडोलको २४ स्थानबाट गन्धमापन गरेको कार्यक्रममा बताइएको छ । नास्टले सिसडोल क्षेत्रमा मिथेन र कार्बनडाइअक्साइडको मात्रा पाउन नसकेको पन्तले जानकारी दिए । सो क्षेत्रमा रहेको धुलोको कण मापदण्डभित्र नै रहेको नास्टले पाएको छ । सिसडोल फोहर व्यवस्थापन गर्नेस्थल थप चुस्त र दुरुस्त हुनुपर्ने, उपत्यकाबाट फोहर लैजाने क्रममा छोपेर लानुपर्ने, पुनःप्रयोग गर्न मिल्ने फोहरलाई छुट्याउनुपर्ने, सिसडोल फोहर लाँदा खर्च हुने रकम र जनशक्तिको जोहो गर्नुपर्ने, सिसडोल फोहर विसर्जन गर्ने क्षेत्रभित्र मानिस र कुकुर सजिलै जान रोक गर्नुपर्ने, फोहरको लेदो लिचेतलाई फ्याँक्नुभन्दा अघि जाँचेर मात्र फाल्दा जलचरलगायत माटोमा प्रभाव नपर्ने नास्टले सुझाव दिएको छ । धुनीबेंसी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले कामपाका प्रमुखले आफ्नो नगरपालिकाको मात्र फोहर व्यवस्थापनमा ध्यान दिएर अरु नगरपालिकाबाट उठ्ने फोहरमा आफूले वास्ता नगर्न आग्रह गरे । उनले भने, “सुहाना, चिउडेनीलगायतका क्षेत्रमा पनि चिल र गिद्धले दुःख दिएका, सो क्षेत्रमा रहेको एक हजार ७८१ रोपनी जमिन कति फोहर विसर्जन गर्न प्रयोग भएको र कति प्रयोग नभएको, बाली लगाउँदा बोट अग्लो हुने तर दाना नलाग्ने, सिसडोलको पानी खाँदा गाईगोरु मर्ने, स्थानीय मानिसले सो क्षेत्रमा बग्ने पानीले हातगोडा धुँदा लुतो र खटेर आउने, मिर्गौला र अर्बुदका बिरामीको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।” नास्टले कहिले गएर सो अध्ययन गर्याे आफूहरु बेखबर रहेको जानकारी दिए। कामपाका प्रमुख विद्यासुन्दर शाक्ले धुनबेंसी र ककनीसहित सबै नगरपालिका प्रमुख मिलेर सो क्षेत्रका बारेमा विशेष छलफल गर्ने विश्वास दिलाएका छन्। सिसडोल बञ्चेरेडाँडो सरोकार समितिका अध्यक्ष विश्वास डिसीले ककनी–१ मा गन्ध आएन, यस क्षेत्रको पानीमा न्यून प्रभाव रहेको छ भन्ने कुरा एकदमै गलत रहेको औँल्याए । उनले भने, “प्रत्येक घण्टाको आधारमा प्रतिवेदन तयार गरी सार्वजनिक गरेमा त्यहाँको वास्तविकता भेटिने थियो ।” यसैगरी सिसडोलका स्थानीयवासी श्रीराम ढुङ्गानाले किमो थेरापीमा प्रयोग हुने झोल, सल्फर एसिड, तेजाब, मिती नाघेके औषधि, मरेका जनावर, बढी भएको खानेकुरा, उद्योगबाट निस्कने फोहरमैला आदिले सिसडोलमा निकै वातावरण प्रभाव पारिरहेको बताए । नास्टका सचिव महेशकुमार अधिकारीले नास्ट र कामपा मिली समयसमयमा थप योजना बनाएर अघि बढ्ने विश्वास दिलाएका छन् । रासस
महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले नक्सालस्थित श्री नन्दी माध्यामिक विद्यालयलाई विभिन्न खेलकुद सामाग्री वितरण गरेको छ । बैंकको दरबारमार्ग शाखाले आइतबार सो विद्यालयका विद्यार्थीका लागि बास्केटबल कोर्ट, टेबल टेनिस बोर्ड लगायतका खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । यसैगरी, आइतबार नै बैंकको तीनचुली शाखाले काठमाडौ महानगरपालिका –७ मा अवस्थित श्री खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयलाई अपाङ्गता मैत्री फर्निचर हस्तान्तरण गरेको छ । अशक्त विद्यार्थीहरुलाई अध्ययन गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले अपाङ्गता मैत्री फर्निचर प्रदान गरेको हो ।