असिनाले गहुँबालीमा क्षति, भोकमरीको चिन्ता
बैतडी । असिनापानीले बैतडीका विभिन्न स्थानमा लगाइएको गहुँबाली, तरकारीबाली, फलफूल र धानका बेर्नामा क्षति पुर्याएको छ । केही दिनदेखिको लगातार वर्षा र बुधबार साँझ परेको असिनापानीले गहुँबालीमा व्यापक क्षति पुर्याएको किसानले बताएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिकालगायत क्षेत्रमा गहुँबाली, तरकारीबाली र फलफूल खेतीमा व्यापक क्षति पुर्याएको दशरथचन्द नगरपालिका–२ देहीमाडौँका माया बोहराले बताए । “असिनाले खेतमा पाकेको गहुँ पूर्णरूपमा नष्ट गरेको छ । खेतमा पाकेको गहुँ नष्ट हुँदा भोकमरीको सम्भावना बढेको छ” उनले भने । पाटन क्षेत्रमा किसानले खेतमा राखेको धानको बेर्नासमेत नष्ट गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका पनि विभिन्न स्थानमा असिनाले बालीनाली व्यापक क्षति पुर्याएको किसानले बताएका छन् । बैतडीमा यो वर्ष गहुँ उत्पादनमा कमी आउने सङ्केत देखिएको छ । जिल्लाका धेरै ठाउँमा असिनापानीले गहुँबाली क्षति पुर्याएको तथा पहेँलो सिन्दुरे रोगले पनि गहुँबालीलाई क्षति पुर्याएकाले गहुँ उत्पादनमा कमी आउने देखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । जिल्लाको पुर्चौडी नगरपालिका र डिलाशैनी गाउँपालिकामा असिनाले गहुँबाली व्यापक क्षति पुर्याएको हो । यस्तै असिनाले सुर्नया गाउँपालिका, मेलौली नगरपालिका र पाटन नगरपालिकामा पनि पनि क्षति पुगेकाे छ । वर्षाले पाक्नै लागेको गहुँ भित्र्याउन सकिएको छैन भने धेरै ठाउँमा असिनाले क्षति पुर्याएको सुर्नया गाउँपालिका–८ का डम्मर बोहराले जानकारी दिए । असिना परेको ठाउँमा ७५ प्रतिशत गहुँबाली नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । असिनाले गहुँबाली नष्ट भएका कारण यो वर्ष गहुँको उत्पादन भारी गिरावट आउने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख चन्दको भनाइ छ । मुख्य खाद्यबालीका रूपमा रहेको गहुँबालीमा क्षति पु¥याएकाले भोकमरी हुने भन्दै किसान चिन्तित बनेका छन् । गत वर्ष २४ हजार ५ सय मेट्रिकटन गहुँ उत्पादन भएकामा यो वर्ष गहुँ उत्पादन घट्ने देखिएको छ । बैतडीमा १७ हजार ५ सय हेक्टर जमिनमा गहुँखेती गरिँदै आएको छ । लगातारको वर्षाले बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा अन्नबाली भित्र्याउन समस्या भएको छ । किसानले लगाएको गहुँलगायत अन्नबाली पाकिसकेको भए पनि वर्षाका कारण भित्र्याउन समस्या भएको हो । केही दिनदेखि पाकेको गहुँबाली काट्ने चटारो परेको भए पनि पानी पर्न थालेपछि अन्नबाली भित्र्याउन समस्या भएको दोगडाकेदार–६ का स्थानीय गजबहादुर गोयलाले बताए । केही दिनअगाडि परेको असिनापानीले गहुँबालीमा क्षति पुर्याएको भए पनि बाँकी रहेको गहुँसमेत भित्र्याउन नपाएको किसानले बताएका छन् । गएको दुई हप्तादेखि लगाताररूपमा पानी परिरहेकाले काटिसकेको गहुँसमेत थ्रेसिङ गर्न नपाएको दोगडाकेदार–१ रिमका नरेन्द्र विष्टले बताउनुभयो । उनले भने, “काटिसकेको गहुँसमेत कुहिने अवस्थामा रहेको छ ।” बैतडी, दार्चुला, बझाङलगायत पहाडी जिल्लाका किसानलाई खेतीपाती भित्र्याउन धौधौ परेको भए पनि वर्षा बाधक बनेको हो । दार्चुलाको शैल्यशिखर नगरपालिका–७ देवथली, काडाँपारीलगायत क्षेत्रमा गहुँ काट्न चटारो परेको भए पनि लगातारको पानीले समस्या भएको स्थानीय गङ्गासागर जोशीले जानकारी दिए । रासस
कविताः ढुंगा र ईश्वर
भिर पाखा खोल्सी खोला ऐलानी जग्गाहरुमा ढुंगा राखे र मानिसहरुले मलाई ईश्वर भनिदिए बुद्ध भनिदिए अल्लाह भनिदिए क्राईस्ट …. भनिदिए मन्दिर बनाइदिए मस्जिद बनाइदिए चर्च बनाइदिए गुम्बा बनाइदिए कहिले परेवा उढाउन लगाए कहिले बोका काट्न लगाए अगरबत्ति, धुप…अक्षता… आशाहरु बेच्दै मेरो सम्मुख मेरै फोटो बेचिदिए आउन नभ्याउलान् भनेर चौबिसै घन्टा मन्दिरका ढोकाहरु खुल्लै राखे कहिल्लै ताला लगाएनन् मस्जिदमा बरु उल्टै प्रसाद सित्तै बाँडे बाइबल बाँडे कुरान बाँडे गिता बाँडे त्रिपिटक बाँडे तर खै के पढे कुन्नि ? पढ्नेहरु लडे बरु पुस्तक एक आपसमा कहिल्यै लडेनन् म कहिल्यै बोलिन उनिहरु मात्र बोलिरहे म त शान्त शालिन बुद्ध बनिरहेँ स्थिर ढुंगा बनिरहेँ कहिले विश्वासमा ठड्याए कहिले अविश्वासमा भत्काए तरपनि फगत् दिनहुँ खोल्सा दोभान भिर पाखा ऐलानी जग्गाहरुको ढुंगा छुँदै अहिले पनि मानिस खै किन हो मलाई ईश्वर मानेर कसम खान्छन् र आफ्नो निजी व्यवहार मिलाउँछन् । बिराटनगर–५ हाल मेन्छयायेम्, तेह्रथुम
विवाह नहुँदा टेलरिङ व्यवसायीको हात खाली
काठमाडाैं । अघिल्ला वर्षका वैशाख–जेठमा विवाहका कपडा सिलाउन व्यस्त भएका टेलरिङ व्यवसायी यसपालि कामबिहीन भएका छन् । बागलुङ बजारको हल्लनचोकका टेलरिङ व्यवसायी सुजन परियार लगनको महिनामा न त राम्रोसँग खान र सुत्न पाउँथे । अझ वैशाख, जेठका लगन त झन् छोप्नै गाह्रो हुन्थ्यो । विवाहका लुगा सिलाउन आउनेदेखि नयाँ शैक्षिकसत्र शुरु भएसँगै विद्यालय पोशाकको चापले परियारलाई उठिखाऊँ कि बसीखाऊँको अवस्था हुन्थ्यो । उनीसँगै काम गर्ने टेलरिङका मजदुरको अवस्था पनि उस्तै । काम चल्थ्यो र त कमाइ हुन्थ्यो । यो वर्षको शुरुकै लगनको महिना उनीहरुका लागि खेर गयो । विद्यालय बन्द रहेकाले शैक्षिकसत्र त केही ढिलो भए पनि शुरु होला तर वैशाख जेठमा हुने विवाह टरेकाले उनीहरुको आम्दानी लकडाउनले सक्यो । लकडाउनका कारण यो वर्षको वैशाखमा बागलुङमा बैदिक विवाह निकै कम भएका छन् । अत्यावश्यक मानिएका बाहेक रोक्न मिल्ने र लगन सारेर गर्न मिल्ने विवाह यो वैशाखमा भएनन् । “मङ्सिरमा पनि बिहे त होलान् तर अहिलेका बिहे खप्टिएर आउँदा के फाइदा होला र”, सुजन भने, “वर्षभरि घरभाडा तिर्न पुग्ने कमाउने महिना हो तर आफैं सुतेर समय बिताएको छु ।” कोरोना भाइरस लक्षित लकडाउनको प्रत्यक्ष प्रभाव सिलाइ व्यवसायीमा परेको हो । हिजो काम गरेर ज्यालामा दैनिकी चलाएका मजदुरहरु आज सहकारीले दिएको ऋणकै भरमा गुजारा चलाएर बसेको परियार बताए । “श्रमिकको त बिचल्ली भएको छ, बजारमा महङ्गो घरभाडा तिरेर महङ्गो खाद्यान्न खाएर बसेका छन्”, परियार भने, “अरु केही काम गरौँ भने पनि केही छैन ।” मजदुरमात्रै होइन सञ्चित सम्पत्ति नभएका व्यवसायीलाई नै दैनिक कारोवार चलाउन कठिन भइरहेको अर्का व्यवसायी मीनकुमार दर्नाल बताए । “घरभाडा तिर्नैपर्यो, व्यवसाय गर्दा लिएको ऋणको व्याज बढ्दै छ”, दर्नालले भने, “मजदुर र साहु सबैको बिल्लीबाठ हुने भो ।” सिजनको काम धेरै चल्ने टेलरिङ व्यवसायले अरु महिनाभन्दा विद्यालय र विवाहका पोशाक बनाउने महिनामा धेरै आम्दानी गर्छन् । “यहाँ व्यवसाय गर्ने अधिकांश आफैँ पनि मजदुर हुन्, ऋणमा चलाएको व्यवसायमा अरु केही साथीहरु मिलेर काम हुन्थ्यो”, अर्का व्यवसायी धनबहादुर परियारले भने, “को मालिकको श्रमिक सबैलाई समस्या छ ।” बागलुङ बजारमा करिब ८० वटा सानाठूला टेलरिङ सेन्टर सञ्चालनमा छन् । व्यवसायिकरूपमा सञ्चालनमा आएकादेखि स्वरोजगारका लागि चलेका टेलरिङको क्षेत्रमा २ सय ५० भन्दा बढीले रोजगारी पाएका छन् । बजार बाहिरका पालिका मुकामका टेलरिङसमेत अहिले ठप्प छन् । उनीहरु के–कति स्वरोजगारीमा छन् भन्ने तथ्याङ्क छैन । ग्रामीण क्षेत्रमा छिटफुटरूपमा रहेको बालीघरे प्रथासमेत लकडाउनको कारण सङ्कटमा परेको छ । कल बोकेर घरघरमै सेवा दिने बालिघरे प्रथा कोरोना त्रासको कारण समस्या परेको व्यवसायी बताउँछन् । सिजन गुमाएको व्यवसायलाई सबै तहका सरकारले राहतको कार्यक्रम ल्याउनुपर्ने उनीहरुको माग छ । रासस