वैदेशिक रोजगारीले फेरियो म्याग्दी, नयाँ प्रविधिको प्रयोग गर्दै स्थानीय बासिन्दा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका– ५ पुरन्यको बस्तीमा १०३ घर रहेको दलित बस्तीमा एउटा मात्र पानीको कुवा थियो । टाढा–टाढाका गाउँमा पुगेर दैनिक ज्याला मजदुरी गरी ल्याएको अन्नले बिहान बेलुकीको छाक टार्नुपर्दथ्यो । गरिबीको मारमा पिल्सिएका त्यहाँका दलित दैनिक ज्याला मजदुरीका लागि टाढाटाढाका गाउँमा जानुपर्ने बाध्यता थियो । गरिबीबाट वाक्कदिक्क भएर २०६७ सालमा पुरन्यका डिलबहादुर, रिजन, यामबहादुर लगायतका कैयौँ युवा खाडी मुलुक पसे । कतार, साउदी, युएई पसेका ती युवाको मेहनतले सार्थकता पाउन थाल्यो । उनीहरुले पैसा कमाएर घरमा रहेका आफन्तलाई पठाउन थाले । अनि फेरियो पुरन्य गाउँको मुहार । घरमा आर्कषक टिभी, गोठमा दुहुनो भैँसी र बैंकमा पैसा, अनि सहरमा घर घडेरी केही वर्ष अगाडिसम्म पुरुन्नेका दलित समुदायलाई सपना जस्तै लाग्ने यो अवस्था अहिले उनीहरुले नै भोग्न पाएका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण दैनिक ज्याला मजदुरी गरेर घरखर्च चलाउने गरेका पुरुन्नेका दलितको दैनिकीमा अहिले पत्याउनै नसकिने किसीमले परिवर्तन आएको छ । गाउँबाट धमाधम वैदेशिक रोजगारमा जानेको लर्को लाग्न थालेपछि पुरुन्नेवासीको हातमा मोबाइल, घरमा महँगो टिभी, श्रीमती र सुनको सिक्री, औँठी र सहर बजारमा घरघडेरी समेत छन् । पुरन्यका यामबहादुर दर्जीले दिएको जानकारी अनुसार १०३ घरपरिवार रहेको पुरन्यको दलित बस्तीबाट अहिले एकाध बाहेक सबै घरका युवा विदेशमा गएका छन् । आर्थिक अवस्था अत्यन्त कमजोर भएपछि छिमेकीको घरमा भाडा, दैनिक मजदुरी गरेर गाँस जुटाउने गरेका यहाँका दलित परिवार घरका उमेर पुगेका भाइ छोरालाई ऋण खोजेर विदेश पठाएको केही वर्षमै गाउँमा आफ्नै घरसहित आधुनिक सुविधा उपभोग गरिरहेका छन् । गाउँघरमा ज्याला मजदुरी गरेर दिन बिताउने गरेका यहाँका युवा विदेश गएर धमाधम ‘रेमिट्यान्स’मार्फत पैसा पठाउन थालेपछि पुरुन्नेमा व्यक्तिगत आर्थिक जीवनस्तरका साथै सरसफाइ, जीवनशैली, जनचेतना र अन्य व्यवहारमा समेत परिवर्तन आएको गाउँका अगुवा यामबहादुर दर्जीले बताए । पुरुन्नेका अधिकांश घरबाट खाडीमूलुक कतार, साउदी अरब, बराइन, मलेसिया, भारतलगायतका देशमा गएपछि गाउँको रुप फेरिएको छ । आर्थिकस्तरमा परिवर्तन भएसँगै सरसफाइसहित जनचेतनामूलक कार्यमासमेत गाउँले सक्रिय रहेका छन् । पुरुन्नेमा मासिक ३० लाख रुपैयाँ बढी रेमिट्यान्स बापतको रकम भित्रिने गरेको स्थानीयवासीले बताएका छन् । आर्थिकस्तरमा परिवर्तन भएपछि सरसफाइ, नयाँ प्रविधिको प्रयोग, शिक्षादिक्षामासमेत सहज भएको छ । बालबालिकाले समेत निजी तथा गाउँकै सामुदायिक विद्यालयमा समेत उत्कृष्ट अङ्क ल्याउन सफल भएका छन् । महिलाले गाउँमा फेन्सी, सिलाइकटाइ, खुद्रा पसलसहित विभिन्न स्वरोजगारमूलक काम गरिरहेका छन् । त्यसैगरी केही युवाले वैदेशिक रोजगारबाट कमाएको पैसाले पोखरामा घडेरी किनेर घर समेत बनाएका छन् । तीमध्येका एक युवा हुन् रिजन दर्जी । ४३ वर्षीय दर्जी विगत १३ वर्षदेखि युएईमा कार्यरत रहेको छ । उनले यो अवधिमा दुई छोरी, एक छोरा र श्रीमतीले चाहेको पुर्याइदिनुका साथै पोखरामा घडेरी किनेर घर समेत बनाएको बताए । रासस

सुदूरपश्चिमका मन्त्री सिंहको उपचारको क्रममा निधन

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बझाङमा भएको गाडी दुर्घटनामा परेपछि उपाचारकाे लागि नेपागञ्ज लगिएका उनको उपचारको क्रममा निधन भएको हो । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी भरत बोहराले जानकारी दिए । सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो । चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ ।

अन्तरजातीय विवाहको पीडा न विवाह दर्ता न जन्मदर्ता

बाँके । बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उनको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उनको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेला गर्दै आएको सुनिताले बताए तीन सन्तानकी आमा सुनिताका दुई छोरी र एक छोरा छन् । तीनै जनाको जन्मदर्ता बनेको छैन । सामान्यदेखि घरको पूजाआजा र अन्य काममा समेत विभेद गर्दै आएको उनीको भनाइ छ । ‘विवाह गरेको दिनदेखि अहिलेसम्म पीडाबाहेक कुनै दिन सुख आएन’, सुनिताले भने, ‘अहिले घर न घाटको भएकी छु । श्रीमान्लाई घरपरिवारले अन्यत्र भगाएका छन् । आफू भने छोराछोरीको जोहो कसरी टार्ने भन्ने पिर छ ।’ सुनिता अहिले राँझास्थित आफ्नो दिदीसँग बस्दै आइरहेका छन् । ‘श्रीमान्ले घर छाडेपछि म दिदीसँगै बस्दै आएकी छु । उनीसँगै मिलेर काम गर्छु । सुख–दुःख पोख्ने गर्छु’, उनले भने, ‘मेरो त यस्तै हो, छोराछोरीको चिन्ताले सताउँछ । विवाह दर्ता भएको भए विदेश गएर पनि कमाउन सकिन्थ्यो तर विवाह दर्ता बनाउन श्रीमान् र घरपरिवार राजी छैनन् । पाएको काम पनि गर्न सकिएको छैन ।’ अन्तरजातीय विवाहले गर्दा विवाह दर्ता, नागरिकता र बच्चाको जन्मदर्ता बनाउन घरपरिवारले कहिले पनि सहयोग नगरेको सुनिताले बताए । ‘वडा कार्यालय, इलाका प्रहरी कार्यालय कोहलपुर र बैजनाथ गाउँपालिका धाउँदाधाउँदै हारेस खाइसकेँ कतैबाट आश्वासन आएन’, उनले भने, ‘जहाँ जाँदा पनि श्रीमान् ल्याउन भन्छन् सम्पर्कमै नभएको श्रीमान् कहाँबाट खोजेर ल्याउने ? भन्दै घर फर्किनुहुन्छ ।’ सुनिताका आमा विष्णु परियारले सानो उमेरमै मन पराएर अन्तरजातीय बिहे गर्दा छोरीले दुःख पाइरहेको पीडा सुनाए । ‘बिहे गरेदेखि नै छोरीको दुःख देखेर घरमा शान्तिको महसुस कहिल्यै भएन ।’ उनले भने, ‘छोरीको पीडा देखेर उराठ लाग्छ, सधैँ चिन्ताले सताइरहन्छ । यसको विवाह दर्ता बन्यो र नातिनातिनीहरूको जन्मदर्ता बनेको हेर्न इच्छा छ । ‘ सुनिताले बिहे गरेदेखि सुनिताका श्रीमान् र सासु–ससुराले विवादमात्र सिर्जना गरेको आमा विष्णुले बताए । सुनिताको माइतमा कोही मर्दापर्दा पनि आउँदैनन् भन्दै आमा विष्णु पछ्यौराले मुख छोपेर भक्कानिए । उनका अनुसार बोल्दा पनि होच्याएर बोल्ने । अपशब्द प्रयोग गरेर बोल्ने गरेको उनको भनाइ छ । सुनिताको दुःख देखेर नङ्गा परियारले सकेको सहयोग गर्दै आइरहनुभएको छ । दिदीको पनि सुनिताको भन्दा त कम पीडा छैन । तर पनि सुख–दुःख जे–जस्तो भए पनि बाँडीचुडी खाउँला भनेर उनीहरूसँगै बस्दै आएका छन् । ‘बहिनीको दुःख देखेर दया लागेर आउँछ, सुनिताको श्रीमान् खोज्न हरसम्भव प्रयास गर्दा पनि भेट्टाउन सकिरहेका छैनौँ’, नङ्गाले भने, ‘ज्वाइँलाई लुकाउन घरपरिवारको ठूलो हात छ । तर पनि हामीलाई कानुनमाथि विश्वास छ, एक दिन त मेरी बहीनी र यसका बच्चाले पक्कै न्याय पाउनेछन् ।’ बैजनाथ वडा नं ४ का वडासचिव तिलक खत्री नागरिकता र विवाहदर्ताका लागि श्रीमान् स्वयं उपस्थित हुनुपर्ने बताउछन् । बालबच्चाको जन्मदर्ता बनाउन सचिवले नै बालबालिकाको आफन्त र गाउँ समाजलाई साक्षी राखेर बनाउन सकिने उनको भनाइ छ । वडासचिव खत्रीका अनुसार रामबहादुर थापालाई वडा कार्यालयसम्म ल्याउने व्यवस्था गरेपछि आफूहरूले सबै प्रक्रिया पुर्याएर विवाह दर्ता र नागरिकता सिफारिसका साथै जन्मदर्ता बनाउन मद्दत गर्ने जानकारी गराए। श्रीमान नभएको खण्डमा विवाहदर्ता र नागरिकताका लागि अदालतबाट नाता प्रमाणित कायम गरेको प्रमाणका आधारमा पनि बनाउन सकिने वडासचिव खत्रीले बताए । रासस