अष्ट्रेलियाको सङ्ग्रहालयबाट नेपाली पूरातात्विक महत्वका कलाकृति फिर्ता ल्याइदै

काठमाडौं । अष्ट्रेलियाको ‘नेशनल ग्यालरी’ सङ्ग्रहालयमा रहेका नेपाली पूरातात्विक महत्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएकोछ । नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति  विभिन्न माध्यमबाट क्यानबेरास्थित नेशनल ग्यालरी अफ अष्ट्रेलिया पुगेका थिए ।  नेशनल ग्यालरीले नै कलाकृति नेपाली दुतावासलाई हस्तान्तरण गरेको थियो । यसरी हस्तान्तरण गरिएका चार थान काठका कलाकृति सांग्रीला इन्टरनेशनल फ्रेट प्रालिले नेपाल ल्याउन लागेको हो । कूल २२ सेन्टिमिटर उचाइ  ४३ दशमलव छ  सेन्टिमिटर चौडाइ र ११ सेन्टिमिटर गहिराइको सानो आयताकार प्यानल एउटा र तीन वटा विभिन्न साइजका ‘आर्क’ शैलीका प्यानल छन् । पुरातात्विक महत्वका कलाकृतिलाई जम्मा तौल २६ केजी रहेको सांग्रिला कार्गोका कार्यकारी निर्देशक सौगात सिंहले जानकारी दिए । नेपाल ल्याएपछि ती पूरातात्विक महत्वका कलाकृतिहरु पुरातत्व विभागमा राखिनेछ । रासस

आठौैं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई महालक्ष्मीको साथ

काठमाडौं । महालक्ष्मी विकास बैंकले आठौैं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग गरेको छ । ‘स्वस्थ मानसिकताको लागि स्वस्थ शरीर, स्वस्थ शरीरको लागि शारीरिक व्यायाम’ भन्ने धारण जनतासम्म पुर्याउन आयोजित उक्त प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग गरेको हो । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघले असार ८ र ९ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा उक्त कार्यक्रम आयोजना गरेको थियो । बैंकले नेपाल जस्तो विकासशील राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेकाले शारीरिक सुगठन खेल क्षेत्रलाई विकसित गर्दै लैजाने अभिप्रायले उक्त प्रतियोगिताको आयोजना गरिएको हो । विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

पशुपतिमा गङ्गामाई जात्राको तयारी पूरा

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा गरिने गङ्गामाई जात्राको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिनाथ मन्दिरमा रहेको गङ्गाको मूर्तिलाई वाग्मती किनारमा अवस्थित गङ्गा मन्दिर अगाडि पूजा तथा हवन गर्ने तयारी पूरा भएको कोषका सूचना अधिकारी एवं संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए । पूजा एवं हवन सकिएपछि आजै दिउँसो वाग्मती किनारस्थित गङ्गामाईको मन्दिरबाट पञ्चदेवल–वनकाली–गौशाला–जयवागेश्वरी–ताम्रेश्वर पश्चिम मूलढोका हुँदै बज्रघरसम्म रथयात्रा गरिने उनले बताए। आज साँझ हनुमानढोका राजदरबारबाट जाने शार्दुल गङ्गा गणका सिपाहीले गङ्गाको मूर्ति र राजाको प्रतीकस्वरुप खड्गसहित रथमा राख्दा राजकीय सम्मानका साथ सलामी दिई जात्रा गर्ने परम्परा रहेको छ । जात्रा हेर्न उपत्यकासहित देशभरका मानिसको पशुपति क्षेत्रमा भीड लाग्ने गर्दछ । पशुपति क्षेत्रका प्राचीन जात्रामध्ये यो एक मानिन्छ । रासस