खाडीबाट फर्किएकी कौशिलाको सुझाव : घरेलु कामदार बनेर खाडी नजानू
बलेवा । सात समुन्द्र पारीको देश, मध्यरात र एक्लो कोठामा सुतिरहेको अवस्थामा कोही पुरुषले आफ्नो मुख थुन्छ । हातभरी कुवेती डलर बोकेको वयस्क पुरुषले भन्छ, ‘तलाईं चाहिएको जति दिन्छु मैले भनेको मान ।’ कौशिला विकले भएभरको बल लगाएर त्यसव्यक्तिसँग प्रतिकार गरिन् । आफूलाई अँठ्याउन खोजेको पुरुषलाई भुइँमा पछारिन् । हतारहतार कोठाको चुकुल लगाइन् र आफूलाई बचाइन् । त्यसपछि सुरु भए उनका थप कष्टका दिन । घरेलु कामदारका रुपमा कुवेत पुगेकी बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीकी २३ वर्षीया कौशिलाले व्यहोरेको व्यथा हो यो । आफन्तकै सल्लाहमा सरसफाइ मजदुर बनेर कुवेत पुगेकी उनी त्यहाँ पुग्दा घरेलु कामदार बनिन् । कुवेत पुगेको दुई साता नबित्दै कौशिलामाथि हिंसाको प्रयास भयो । हिंसात्मक घटनामा प्रतिकार गरेकैले उनलाई २८ दिनमा तीन ठाउँमा काम फेरियो । जहाँ गए पनि कामको अवस्था भने उस्तै । नेपालमा हुँदा खाडी मुलुकमा महिलामाथि हुने हिंसाका घटनाका विषयमा धेरैथोरै समाचार सुनिरहेकी कौशिलाले कुवेतमा बसेर घरको ऋण तिर्नभन्दा पनि स्वदेश नै फर्किने निर्णय लिइन् । ‘मेरै आँखा अगाडि एक एजेन्टले नौ सय कुवेती डलरमा एक नेपाली दिदीलाई कुवेतीको घरमा काम गर्न बेचे, अनि मेरो मन थामिएन’, कौशिलाले भनिन्, ‘मैले नेपाल फर्किने बाटो खोजेँ ।’ उनले नेपाल फर्किन खोजेको यहाँ रहेका एजेन्टले थाहा पाएपछि कौशिलाको मोबाइल खोसियो । बन्द कोठमा बिना काम राखेर मानसिक तनाव मात्रै दिने गरेको उनले सुनाइन् । ‘नेपालमा क्लिनर हो भने, विमानस्थल पसेपछि बल्ल डकुमेन्ट दिए, दुईथरी डकुमेन्ट दिएका थिए, उता देखाउने र यता देखाउने दुईथरी भनेर, हामीलाई दिएको कागजमा कुवेतको भिजिट भनेर लेखिएको थियो’, कौशिलाले भनिन्, ‘नेपालकै विमानस्थलमा दुईथरी डकुमेन्ट र भिजिट भनेर होटलसमेत बुक गरेको कागज देखेपछि नजाने भनेकी थिएँ तर विमानस्थलमै बसेका एजेन्टले फर्किन दिएनन्, कुवेत पुगेपछि कम्पनीको प्रतिनिधि आएर लिएर गयो । घरेलु काममा लगायो । केही दिन काम राम्रै थियो, ठाउँ फेरिदियो र हिंसाको प्रयास भयो ।’ कुवेतमै रहेकी एक नेपालीको मोबाइलको सहारामा माइती नेपाल र सुरक्षित आप्रवासन परियोजनामा सम्पर्क गरेकी उनले सबै कागज भने सुरक्षित राखेकी थिइन् । बागलुङमा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रमले उनको सबै डकुमेन्ट मगायो । कौशिलाले समय समयमा लुकीलुकी डकुमेन्ट उपलब्ध गराइन् । उक्त कार्यक्रमले विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थासँगको सहकार्यमा कौशिलासम्म पुगेर सकुशल उनलाई नेपाल ल्यायो । ‘मैले एजेन्टलाई कि मलाई नेपाल फर्काऊ होइन भने चार तलामाथि छु, हाम फालेर मर्छु, तँ पर्छस् भनेँ’, कौशिलाले भनिन्, ‘मरे शव ल्याउन पहल गर्छु भनेर उसले जवाफ दियो ।’ सुरक्षित आप्रवासन कार्यक्रमले दिनरात नभनी आफ्नो उद्धार गरेको उनले बताइन् । ‘कौशिला सचेत हुनुहुँदो रहेछ, हामीसँग समयमा सम्पर्कमा आउनुभयो र आवश्यक कागजात सबै उपलब्ध हुँदा उद्धारमा सहज भयो’, सुरक्षित आप्रवासन कार्यक्रमका परामर्शदाता गङ्गा रिजालले भनिन्, ‘गाउँपालिकाकी कार्यपालिका सदस्य पूर्णमाया विकको सहयोगमा हामी उनीसम्म पुग्यौँ, कौशिलाले रातभरि पनि म्यासेज गरिन्, हामीले दिनरात नभनी उनको उद्धार ग¥यौँ ।’ वैदेशिक रोजगारीका विषयमा राम्रोसँग जानकारी नलिइ जाने र गइसकेपछि पनि फर्किन सक्ने बाटाको विषयमा जानकारी नहुँदा धेरै नेपाली कामदार श्रम शोषण र हिंसाको सिकार हुने गरेको कार्यक्रम संयोजक मीनप्रसाद उपाध्यायले बताए । पासपोर्ट बनाउने बेला नै कौशिलाले कोरिया जाने भनेकी थिइन् । आफन्तले कुवेतमा काम लगाइदिने भनेपछि काठमाडौँसम्म बसमा पासपोर्ट पठाएको बताएकी उनले मेडिकल जाँच गरेको दस दिनमै भिसा आएपछि विमानस्थल प्रवेश गरेपछिमात्रै आफू कुवेत जान लागेको थाहा पाएको बताइन् । ‘मलाई आफन्तले नै फसाए’, कौशिलाले भनिन्, ‘घरेलु कामदारका रुपमा कोही दिदीबहिनी पनि खाडी नजानु, त्यहाँ दिदीबहिनीको हालत खराब छ ।’ कुवेत पुगेको २८ दिनका दिनपछि नेपाल फर्किएकी कौशिला अब भने कोरियाको तयारी गर्ने बताइन् । रासस
विश्वकपमा नेपाल, यूएईसँग नेपालको सानदार जित
काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा नेपालले यूएईलाई पराजित गरेको छ । युएईले दिएको १३५ रनको लक्ष्यलाई नेपालले १८ ओभरमा पुरा गरेको हो । नेपाले ८ विकेटले खेल जितेको हो । युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे । पहिले ब्याटिङ गरेको यूएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिए । यो जितसँगै नेपाल विश्वकपमा छनोट भएको छ । वर्षौंदेखिको विश्वकप खेल्ने नेपालको सपना साकार भएको छ । नेपाल १० वर्षपछि टी-२० विश्वकप क्रिकेटमा छनोट भएको हाे । अब नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्नेछ । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको थियो ।
यूएईले नेपाललाई दियो १३५ रनको लक्ष्य, नेपालले कति ओभरमा समेट्ला ?
काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ । यूएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन मात्रै बनाउन सक्यो । युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४ र कप्तान मोहम्मद वासिमले २६ रन बनाए । नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १/१ विकेट लिए । खेल मुलपानी मैदानमा जारी छ । यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ ।