बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
ढोरपाटन । बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका-१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पुनः निर्माणका क्रममा एक्कासि घर भत्किँदा काम गरी रहेका घर धनी विक सहित अन्य ११ जना मजदुर घाइते भएका थिए । विकको उचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । उनका अनुसार घाइते हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का २६ वर्षीय शंकर पन्थी, काठमाडौं महानगरपालिका–१० का २४ वर्षीय सुगान्त पौडेल, बागलुङको ढोरपाटन –४ का खडकप्रसाद विक, सोही ठाउँका २० वर्षीय ईन्द्र रसाइली ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय शुभ बुढामगर, ढोरपाटन –१ का ४० वर्षीया देवीसरा विक, सोही ठाउँकी ३० वर्षीया थम कुमारी विक, तमानखोला गाउँपालिका–१ ३८ वर्षीया खममाया घर्ती, ३५ वर्षीय टेकबहादुर विक र ५१ वर्षीया टेकमाया रसाइली छन् । घरले पुरिएका सबैको उद्धार गरी सो स्वास्थ्य केन्द्रमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।
तरकारी खेती गरेर छोरछोरीलाई डाक्टर र इन्जिनियर बनाउँदै उर्मिला
उर्मिला डगौरा कञ्चनपुर । मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने कुराको प्रमाण हुन् बेदकोट नगरपालिका-७ मन्दिरपुरकी उर्मिला डगौरा । तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल भएकी छन् । उनले छोरा रविनलाई भारतको चण्ढीगढमा सफ्टवेयर इन्जिनियर पढाइरहेकी छन् भने छोरी रविना चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहेकी छिन् । ‘हामीले तरकारीखेतीबाट आम्दानी गरेरै छोराछोरीको पढाइ खर्च जुटाएका छौँ,’ उर्मिलाले भनिन्, ‘तरकारीखेती गर्न थालेको २०५२ सालदेखि हो ।’ २०५२ सालमा एक कट्ठा जग्गामा तरकारीखेती गरेकी उनले तरकारीखेतीकै आम्दानीले दुई वर्षपछि दुई कट्ठा जग्गा खरिद गरिन् । त्यसपछि आम्दानी गर्दै जग्गा थप्दै तरकारी खेती विस्तार गरेको उनको भनाइ छ । उनको मेहनतमा श्रीमान् रामबहादुरको ठूलो सहयोग छ। तरकारीखेतीसँगै स्थानीय लालपुर बजारमा उनका श्रीमानले किराना पसल सञ्चालन गरेका छन् । उक्त पसलमा आफ्नै खेतमा उत्पादन गरेको तरकारी बिक्री गर्दै आएका छन् । ‘तरकारी र पसल गरेर हामीले जग्गा थप्दै गयौँ अहिले १५ कट्ठा जग्गा छ,’ उर्मिलाले भनिन् । छोरी रविनालाई डाक्टर पढाउन हालसम्म ६० लाख खर्च भइसकेको उनको भनाइ छ । सबै खर्च तरकारीखेतीबाटै धानेको उनले बताइन् । तरकारीबाटै सिजनमा दुई लाखसम्म बचत हुने उनको भनाइ छ । तरकारीखेती सुरु गरेको केही वर्षपछि महेन्द्रनगरको उदयदेव सहकारीले गाउँमै पुगेर उद्यम गरिरहेका महिलाको समूह गठन गर्यो । सहकारीले गठन गरेको तुलसी उदयदेव महिला केन्द्रमा उनी आबद्ध छन् । सरकारीले उक्त समूहमा आबद्ध तरकारीखेती गरिरहेका महिलाहरुलाई निःशुल्क प्राविधिक सहयोग गरेपछि खेती गर्न सहयोग पुगेको उनको अनुभव छ । रासस
हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति
काठमाडौं । नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम सबै यात्रुहरूलाई फिर्ता गर्ने भएको छ । रकम फिर्ता गर्नका लागि समिति सचिवालयले सूचना जारी गरेको छ । समितिले यस पटक प्रति व्यक्ति २३ हजार ४०० रुपैयाँ फिर्ता गर्ने भएको छ । समिति सचिवालयले प्रेस सम्मेलनका आयोजना गरी भर्खरै सम्पन्न भएको हज यात्रा सुखद र सफल भएको बताएको छ । ‘यो वर्ष हामीले हज यात्रीलाई मक्का नजिक राख्न सफल भयौं । खानाको मेनुमा पनि धेरै परिवर्तन ल्यायौं । बसाइँ अवधिमा यात्रुलाई कुनै पनि कठिनाइ हुन नदिनका लागि साउदी सरकार, साउदीस्थित नेपाली दूतावाससँग सहकार्य गर्याैं,’ नेपाल हज समितिका अध्यक्ष इश्रा मुल्ला मियाले भने । हजमा विभिन्न मुलकका मानिसहरुको सहभागिता हुन्छ । धेरै भीड हुने भएकाले खान, बस्न र स्वास्थ्यसम्बन्धी समस्या हुँदा व्यवस्थापन गर्न कठिन हुन्छ । तर, यस पटक सचिवालयले सबै व्यवस्थापन चुस्त राख्न सफल भएको उनले बताए । त्यस्तै, नेपालबाट हज यात्रामा जान थालेको ६१ वर्ष भयो । यो अवधिमा कमिटीले पहिलो पटक यात्रीलाई धेरै रकम फिर्ता गर्न सफल भएको नेपाल हज समितिका अध्यक्ष मियाले दाबी गरे । ‘म अध्यक्ष नियुक्त हुँदा पनि पारदर्शी प्रक्रियाबाट भए । मैले पनि आफुले गर्ने काम सबै पारदर्शी र कम खर्चिलो गर्ने कोसिस गरेको छु,’ उनले भने । समितिले प्रति व्यक्ति चार लाख १५ हजार रुपैयाँ संकलन गरेको थियो । तर, अनुमान गरेभन्दा खर्च कम भए पछि कमिटिले रकम फिर्ता गर्न लागेको उनले बताए । ‘रकम फिर्ता गर्नका लागि हामीले खाता नम्बर टिपाउन सूचना जारी गरेका छौं । नम्बर प्राप्त भएपछि हामी अनलाइन नै भुक्तानी गरिदिन्छौं,’ नेपाल हज समितिका अध्यक्ष मियाले भने । यो वर्षको हज यात्राको लागि नेपालले १२०० कोटा पाएको थियो । तर, जम्मा ७६४ जना मात्रै हज यात्रामा सहभागी भएको उनले बताए । आर्थिक मन्दीका कारण यो पटक हज यात्रामा कम व्यक्ति सहभागी भएको उनले जानकारी दिए । हजमा यात्रामा दुई जना चिकित्सकको पनि सहभागीता थियो । आगामी वर्षको हज यात्राको लागि निवेदनको आह्वान त्यसैगरी, हज समितिले आगामी वर्षको हज यात्राको लागि आवेदन माग गरेको छ । आगामी वर्षको लागि पनि नेपालले १२०० कोटा प्राप्त गरेको हज कमिटीका सदस्य सचिव झन्कनाथ ढकालले बताए । उनका अनुसार साउदी अरबले सम्बन्धित मुलुकमा रहेका मुस्लिम समुदायको संख्याको आधारमा कोटा तोक्दै आएको छ । प्राप्त निवेदनको आधारमा हज यात्रामा जानेको सूची सार्वजनिक गरिने उनले बताए । त्यस्तै, आगामी वर्षको हज यात्राको अवधि छोट्याउने कमिटीको योजना रहेको सचिव ढकालले बताए । सामान्यतया ४२ देखि ४४ दिनसम्म हज यात्राको अवधि हुन्छ । तर, ३२ दिनमा पनि यसलाई छोट्याउन सकिने पाइएपछि यसलाई छोट्याउन खोजेको उनले जानकारी दिए । त्यस्तै, कमिटीले हज यात्राको कार्यविधि संशाेधन गरी हज यात्रीले जम्मा गरेको रकमबाट प्राप्त ब्याजलाई आकस्मिक खर्चमा प्रयोग गर्न सकिने व्यवस्था गर्न लागिएको सचिव ढकालले बताए । हज यात्रीको लागि चुस्त मेडिकल टिमको व्यवस्था गर्न कमिटीको आग्रह नेपाल हज सचिवालयले हज यात्रामा जाने यात्रुको लागि मेडिकल टिमको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेका छन् । हजको बसाइँमा नेपालबाट जाने नेपालीलाई हावापानीका कारण स्वास्थ्य समस्या हुने भएकाले आफनै मेडिकल टिमको व्यवस्था गर्न कमिटीले आग्रह गरेको हो । हजमा जाने नेपाली यात्रुमध्ये कतिपयले पहिलो पटक गाउँ छोडेर बाहिर निस्केका हुन्छन् । साउदीको गर्मी र एसीको कारण नेपाली यात्रीलाई स्वास्थ्य समस्या हुने कमिटीका प्रवक्ता मिर्जा रासिद बेगले बताए । उनले सरकारले पनि केही खर्च गरेरै भए पनि नेपाली हज यात्रीको लागि कम्तीमा पनि चार जनाको मेडिकल टिम र पर्याप्त औषधी उपकरणको व्यवस्थापन गर्न उनले सरकारसँग आग्रहसमेत गरे ।