विश्वकप लिग-२ क्रिकेटः अमेरिकासँग नेपाल पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग नेपाल पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । अमेरिकाले दिएको २८२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४४ रनमा समेटियो । नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ८० बलमा ४ चौका र एक छक्कासहित सर्वाधिक ५२ रन जोडेका हुन् । नेपालले ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो । दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेलले २९ रन जोडे । त्यसपछि कुशल मल्लले ५४ बलमा एक चौका र एक छक्कासहित ३३ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल एक, गुल्सन झा १२ तथा आरिफ शेख २१ रन बनाउँदै आउट भए । त्यसपछि सोमपाल कामीले २७ बलमा चार चौका र दुई छक्कासहित ४६ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३८ बलमा एक चौका र एक छक्कासहित ३१ रन बनाए । करण केसीले पाँच तथा सन्दीप लामिछानेले दुई रन बनाए । अमेरिकाका सौरभ नेत्रवालकरले सर्वाधिक चार विकेट लिए । नोष्थुश केंजिगे र साड्ली भान शाक्लीले समान दुई/दुई तथा जसदीप सिंह र हरमित सिंहले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८१ रनको योगफल बनाएको थियो । अमेरिकाका लागि साइतेजा मकामल्लाले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ८७ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिएका हुन् । त्यस्तै कप्तान मोनाङ्क पटेलले ८१ बलमा पाँच चौका र एक छक्कासहित ६७ रन जोडे । ओपनर शयान जहानजिगर १० र आरोन जोन्स २६ रनमा आउट भए । हरमित सिंहले ४४ बलमा तीन चौका र तीन छक्कासहित ५९ रनको योगदान गरे । नेपालका गुल्सन झाले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिए । त्यस्तै कुशल भुर्तेलले एक विकेट झारे । नेपालल लिग-२ मा ११ खेलमा दुईमा जित र आठमा हारसहित पाँच अ्कका साथ अङ्कतालिकाको सातौँ स्थानमा छ । त्यस्तै अमेरिका १२ खेलमा आठमा जितसहित १६ अङ्कका साथ शीर्षस्थानमा छ । क्यानडा १२ खेलमा १६ अङ्कका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ । अब नेपालले भोलि स्कटल्याण्डसँग खेल्नेछ ।

मिथिलाञ्चलमा आज भैयादुज पर्व मनाइँदै

काठमाडौं । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी दिदीबहिनीहरूले आज आ-आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँदै छन् । यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम तथा पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दिदीबहिनीले दाजुभाइलाई निम्त्याएर पूजन गर्ने मैथिल परम्परा छ । मिथिलामा यस पर्वलाई भैयादुज, भरद्वितीया र भातृद्वितीया पनि भन्ने चलन छ । यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन् । अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा रहँदै आएको छ । यमपञ्चकमा पर्वत मूलका र मैथिल हिन्दूको पर्व मनाउने विधि र तरिका केही फरक भएपनि पौराणिक कथावस्तु भने एउटै देखिन्छ । सत्ययुगमा राजा बलिका बहिनीहरू गङ्गा र यमुनाले दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टिका लगाइदिएका कथा नै यो पर्वको आधार परम्परा रहँदै आएको मिथिलाका प्रसिद्ध साहित्यकार डा राजेन्द्र विमल बताउँछन् । मैथिल परम्पराको भैयादुज पर्वमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्ने चलन नै छ । विवाहित दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ वस्त्र, आभूषण कोसेली लिएर जाने गर्छन् । पर्वमा दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइ बसाउँछन् । टाढाबाट थाकेर आएका दाजुभाइको गोडा कोपरामा राखेर तातोपानीले धुइन्छ । यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीले सप्तरङ्गी टिका लगाइ दिने मैथिल परम्परा छ । मैथिल परम्परामा यो विधि सम्पन्न गरिएसँगै दिदीबहिनीले गङ्गा, यमुनाको जस्तै वेग र कीर्ति दाजुभाइको होस्भन्दै गीतबाट भाव व्यक्त गर्दछन् । यसैक्रममा सुकेको केराउको दाना दाजुभाइलाई चबाउन दिइन्छ । ‘बजरी’ ख्वाइने भनिने यो विधिमा सा¥हो न साह्रो केराउलाई बज्रसँग तुलना गरेर ‘बजरी’ भनिएको डा विमलको भनाइ छ । बजरी ख्वाइने विधिको भाव भने दाजुभाइको शरीर बज्रसमान कठोर होस् भन्ने कामना रहेको उनी बताउँछन् । यो विधि सकिएपछि दाजुभाइले दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा राखी दिन्छन् । दिदीबहिनीले त्यसपछि दाजुभाइलाई मिष्टान्न भोजन गराएर पर्व सम्पन्न गर्छन् । यो विधि मिथिलामा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गको आधारमा द्वितीया तिथिबाट शुभसाइत निकालिन्छ । मिथिलामा दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम सम्बन्ध प्रगाढ बढाउने तीनवटा पर्व परम्परा देखिन्छन् । साउन पूर्णिमाका दिन दाजुभाइलाई बाँधिने सप्तरङ्गी डोरा ‘राखी’ बाँधीदिने र यमपञ्चक अर्थात् तिहारको कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भैयादुजको कथावस्तु पौराणिक गाथामा आधारित राजा बलि र उनका दिदीबहिनी गङ्गा यमुना नै हुन् । कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्वभने द्वापरयुगकालीन भगवान श्रीकृष्णका पुत्र साम्ब र छोरी सामाबीचको प्रेमपूर्ण स्नेह, समर्पण र त्यागको कथावस्तुमा आधारित भएको बताइन्छ । मिथिलाञ्चलभरिका गाउँ सहरको चौबाटामा आज एकाबिहानै विभिन्न लोकगीत र नाचगान गर्दै दिदीबहिनीहरूले गाईको गोबर र केराउका दाना९बजरी०लाई ओखलमा कुटेर दाजुभाइको दीर्घायुको कामना गर्ने चलन छ । दिदीबहिनीहरुले ओखलमा गोबरसँगै कुटिएको केराउका दाना गोबरबाट झिकेर धोई पखाली आ–आफ्ना दाजुभाइलाई मिठाइ, लड्डु वा पेडासँगै ‘बजरी’ खुवाउने गर्दछन् । दिदीबहिनीहरूले ‘बजरी खैया भैया बजर होइहा, दान नदिहा दरिद्र होइहा’ अर्थात बजरी खाएर अमर बन्नु, दान नदिए दरिद्र बन्नु भने भनाइका साथ दाजुभाइलाई आँगनमा बसाइँ माला, फूल, चन्दन लगाएर बजरी खुवाएर भैयादुज पर्व मनाउने परम्परा यहाँ चलिआएको जानकारहरू बताउँछन् । मिथिलाञ्चलमा भैयादुज पर्व हर्षोल्लास र खुसीका साथ मनाउने गरेको र यस पर्वले दिदीबहिनी तथा दाजुभाइको सम्बन्ध अझै प्रगाढ बनाउने गरेको जलेश्वर नगरपालिका—१ स्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पूजारी उपेन्द्र पाठकले बताए ।

देउसीभैलोमा मौलिकता हराउँदै, बुढापाका चिन्तित

काठमाडौं । देउसीभैलोलाई तिहारको महत्वपूर्ण हिस्साका रूपमा लिइन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्म देउसीभैलोमा रमाउने गर्छन् । सोरठी, मारुनीसहित पुराना नाच नाचेर खेलिने देउसीभैलो पछिल्लो समय हराउँदै गएको छ । मौलिक संस्कृतिसहित देउसीभैलो हराउँदै गएपछि बुढापाका चिन्तित बनेका छन् । यमपञ्चक सुरु भएपछि बागलुङ बजारसहित ग्रामीण क्षेत्रमा देउसीभैलो खेल्नेहरूको भिड लाग्ने गरेको छ । भैलोले गाउँ, टोल र छिमेक गुञ्जायमान छन् तर यसको मौलिकता भने बर्सेनि हराउँदै गएको छ । तिहार पर्वसँग मादल, बासुरी, खैजडीलगायत बाजा र मौलिक गीत जोडिएका हुन्छन् । अहिलेको देउसीभैलोमा मौलिक बाजा र गीत सुनिदैनन् । बजारमा आएका ‘रेकर्डेड’ पप, आधुनिक र ¥याप गीतमा युवायुवती भैलो खेल्छन् । पप, ¥याप र विदेशी भाषाका गीतमा भैलो खेल्दा बुढापाका भने खिन्नतता प्रकट गर्छन् । निसीखोला गाउँपालिका-४ का ७४ वर्षीय धनबहादुर घर्तीले परम्परागत देउसीभैलोलाई आधुनिकताले प्रभावित गरेको बताउनुभयो । आफ्नो पालामा बाउबाजेले संरक्षण गर्दै आएको मौलिकतासहितको देउसीभैलो अचेल पश्चिमा संस्कृतिको चेपुवामा परेको उहाँको कथन छ । भैलोको माध्यमबाट कथा व्यथा प्रस्तुत हुने भए पनि हिजोआज देउसीमा विकृति मिसिएको र केवल पैसा जम्मा गर्नेमा मात्र ध्यान जाने गरेको भन्दै घर्तीले विरोध जनाए । ‘जुग जमानासँगै हाम्रा कला, संस्कृति हराउँदै गए, नयाँ पुस्ताले मौलिक संस्कृतिलाई बिर्सिए, हाम्रो पालको जस्तो देउसीभैलोमा मादले सिङ्गारु बनेर नाच्ने चलन अहिले छैन,’ उनले भने, ‘हामी बुढाबुढी भइयो, गाउन नाच्न सकिन्न, अहिलेका युवाले पुरानो संस्कृति सिक्दैनन्, पश्चिमेली संस्कृतिले विशिष्ट मौलिक संस्कृतिलाई विस्थापित गर्याे ।’ गलकोट नगरपालिका-१० का पूर्णबहादुर घर्ती मगरले विदेशीको देखासिकीका कारण मौलिकता हराएको बताए । तिहार पर्व र देउसीभैलोले नेपालीहरूको पहिचान बोकेको भन्दै पछिल्लो समय पहिचान नै गुम्ने खतरा बढेको उनको भनाइ छ । ‘मौलिकता जोगाउने भन्ने चाहना छैन, हाम्रो पहिचान के हो रु तिहारमा के गाउने रु कस्तो नाच्ने भन्ने पनि ज्ञान छैन, उही विदेशी गीत गाएर नाच्छन्, न त्यसमा मौलिकता छ, न कुनै नेपालीपन, अरुको देखासिकी गर्ने प्रवृत्तिले हाम्रा कयौँ संस्कृति लोप भए,’ उनले भने । काठेखोला गाउँपालिका-१ का २७ वर्षीय कमल थापा मगर बाउबाजेले मौलिकतालाई संरक्षण गरे पनि आफ्नो पुस्ताले जोगाउन नसकेको स्वीकार्छन् । अहिले देउसीभैलोमा आधुनिकता मिसिए पनि अझै सम्पूर्ण रूपमा मौलिकता गुमिनसकेकाले यसतर्फ ध्यान दिन भने आवश्यक रहेको उनको भनाइ छ ।