जेनजीहरु रोजगारी माग्न आउँछन्, आश्वासन बाहेक केही दिन सकेनौँ : मन्त्री यादव

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले जेनजी युवालाई सरकारले रोजगारी दिन नसकेको बताएका छन् ।  बिहीबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले जेनजी आन्दोलनमा घाइते भएका युवाहरू रोजगारीको माग लिएर मन्त्रालयमा लगातार आउने गरेको भएपनि आश्वासन दिएर मात्रै पठाउने काम भएको बताएका हुन् ।  उनकाअनुसार मन्त्रालयमा दैनिक हजारभन्दा बढी युवा रोजगार माग्न आउने गरेका छन् । उनकाअनुसार श्रम मन्त्रालयको मुख्य जिम्मेवारी प्रत्यक्ष रोजगारी सिर्जना गर्नु नभई सीप विकास, प्लेसमेन्ट र रोजगारसँग जोड्ने काम मात्र हो । तर हरेक दिन युवाहरु रोजगार माग्न आउने गरेको उनको भनाई छ । मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा घाइतेहरूलाई सीपमूलक तालिम दिने योजना राखिएको भएपनि रोजगारीको ग्यारेन्टी गर्न नसकिने बताए । राष्ट्रिय रोजगार कार्यक्रमको बजेट भारी कटौती भएको छ । पहिले १३ अर्ब रुपैयाँ रहेको कार्यक्रम अहिले घटेर १ अर्ब २० करोड रुपैयाँमा सीमित भएको उनको गुनासो छ । उनकाअनुसार देशभर अधिकतम १७ हजार जनालाई मात्रै १०० दिनको रोजगारी दिन सकिने बताए । मन्त्री यादवकाअनुसार आगामी आर्थिक वर्षमा मन्त्रालयको कुल बजेटसमेत घट्नेगरि सिलिङ दिइएको छ । उनले मन्त्रालयले सीपमुलक तालिम आयोजना गरेर निजी क्षेत्रसँग रोजगारीका लागी समन्वय गर्नेगरि काम अगाडी बढाएको जानकारी दिए ।    

हुरीका बेला सतर्कता अपनाउन आग्रह

काठमाडौं । हुरीबतास  तथा चट्याङका घटना बढ्न थालेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको सचेतनामूलक सूचनामा हुरी चलिरहेका बेला घरका झ्याल–ढोका बन्द गर्न, आगोका स्रोत सुरक्षित रूपमा बन्द गर्न तथा खुला स्थानमा नबस्न अनुरोध गरेको छ । मोटरसाइकल वा सवारीसाधन चलाइरहेका व्यक्तिलाई सवारी रोकेर सुरक्षित स्थानमा बस्न पनि आग्रह गरिएको छ । प्राधिकरणका उपसचिव रामबहादुर केसीले भीडभाड भएका स्थानमा आत्तिनु वा भागदौड गर्नु जोखिमपूर्ण हुनसक्ने भएकाले शान्त रहँदै सुरक्षित स्थानतर्फ जान समेत आग्रह गरे ।   

लुटेराको प्रतिकार गर्ने महिलालाई आइजिपी कार्कीले गरे सम्मान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नैना एन्ड ईशान ज्वेलर्समा कार्यरत सञ्जिता शाक्यलाई सम्मान गरेका छन् । काठमाडौं महानगरपालिका– २२ शाक्यलाई लुटपाट गर्न आएका व्यक्तिहरूविरुद्ध प्रदर्शन गरेको साहसिक कार्यको कदर गर्दै सम्मानित भएकी हुन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रमबिच प्रहरी महानिरीक्षक कार्कीले उनलाई कदरपत्र प्रदान गरी सम्मान गरेका हुन् ।  काठमाडौं महानगरपालिका– २४ तुछेनानी गल्लीस्थित नैना एन्ड ईशान ज्वेलर्समा गत वैशाख १७ गते दिउँसो दुईजना व्यक्तिहरूले पेस्तोल देखाई लुटपाट गर्ने उद्देश्यका साथ आतंक सिर्जना गर्दा आफ्नो ज्यानको  प्रर्वाह नगरी प्रदर्शन गरेको हिम्मत, आत्मविश्वास तथा निर्वाह गरेको नागरिक दायित्वको उच्च कदर गर्दै उनलाई सम्मान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  प्रहरी महानिरीक्षक कार्कीले त्यस्तो विषम परिस्थितिमा समेत सम्मानित व्यक्ति सञ्जिता शाक्यले देखाएको अदम्य साहस, चेतना र जिम्मेवारीबोधको प्रशंसा गरे ।  सभ्य र सुरक्षित समाज निर्माण तथा अपराधको सफल अनुसन्धानमा प्रहरी र नागरिकको साझेदारीपूर्ण भूमिका महत्त्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा समेत नागरिकसँग आवश्यक सहकार्य गर्दै प्रविधिको प्रयोगलाई समेत उच्च प्राथमिकतामा राखी कार्य गर्दै जानुपर्ने उनको भनाइ छ ।  उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्तालगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । सो अवसरमा सम्मानित व्यक्ति सञ्जिता शाक्यले घटनाबारे आफ्नो अनुभवसहितको मन्तव्य व्यक्त गरे ।   सञ्जिताले उक्त घटनामा संलग्न व्यक्तिहरूको हुलिया र सिसिटिभी फुटेज समयमै उपलब्ध गराउन देखाएको तदारुकताले कुनै पनि आपराधिक घटनाको सफल अनुसन्धानमा प्रहरीका लागि शीघ्र जानकारी र प्रविधिको भूमिका महत्त्वपूर्ण रहन्छ भनेर आमनागरिकहरूलाई सुसूचित गराउन निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  ‘साथै उनले प्रदर्शन गरेको साहसले सम्भावित आपराधिक घटना नियन्त्रण हुन गई समाजमा सुरक्षा सचेतना तथा अपराधविरुद्ध प्रतिरोध गर्ने सकारात्मक सन्देश प्रवाह भएको नेपाल प्रहरीले विश्वास लिएको छ,’ प्रधान कार्यालयको बुलेटिनमा भनिएको छ ।