नयाँ वर्ष लागेपछि शेयर बजारमा उत्साह, वाणिज्य बैंकहरूकै बोलवाला
काठमाडौं । धितोपत्र बजारमा यस साता उत्साहको सञ्चार भयो । कारोवार मापक नेप्से परिसूचक ४३ दशमलव ५९ बिन्दुले वृद्धि भएको छ । वैशाख २ गतेदेखि बजार वृद्धि हुने क्रम शुरु भएको हो । सातामा चार दिन कारोवार भए । सोमबार बजार एक हजार १८८.७१ बिन्दुमा पुग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन बजार बढेर एक हजार २३२.३० बिन्दुमा पुगेको छ । बैंक र बीमा उपसमूहको शेयर वृद्धि हुँदा बजारमा सकारात्मक प्रभाव परेको छ । यस्तै नयाँ वर्ष लागे पनि शेयर बजारमा स्थायी लेखा नम्बर(प्यान) समेत लागू भएको छ । रु पाँच लाखभन्दा बढीको शेयर कारोवारमा प्यान लागू हुने व्यवस्था गरिएको छ । स्टकका अनुसार यस साता बजारमा वाणिज्य बैंक समूहकै बोलवाला रह्यो । एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । यस्तै कुमारी बैंक, प्रभु बैंक, एनआइसी एशिया बैंक, नेपाल बैंक, सिभिल बैंक, एनसिसी बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे« बैंक र नेको इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोवार भएको छ । स्टकका अनुसार बजार पूँजीकरणमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड पछि वाणिज्य बैंककै बोलावाल रहे । यस साता दुई कम्पनीको शेयर सूचीकृत भए । स्टकमा सिनर्जी फाइनान्स कम्पनीको तीन लाख ८० हजार ९३८ कित्ता हकप्रद शेयर र नेपाल इन्भेस्टमेन्ट बैंकको एक करोड ९४ लाख ४३ हजार ८२ कित्ता शेयर लाभांश सूचीकृत भएका छन् ।
रसुवागढी हाइड्रोपावरको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपीओमा पहिलो दिन १७ करोड रुपैयाँको हाराहारीमा आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार शुक्रबार साँढे २ बजेसम्म २६ हजार आवेदकबाट १७ लाख कित्ता आवेदन परेको हो । रसुवागढीले वैशाख ६ देखि ९३ लाख ३९ हजार ४६७ कित्ता सेयरको बिक्री खुला गरेको छ । यो आईपीओ छिटोमा आगामी मंगलबार अर्थात वैशाख १० गते बैंकिङ समय पश्चात बन्द हुनेछ । रसुवागढीले १११ मेगावाट क्षमताको रसुवागढी क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समावेश भएको यो आयोजनामा न्युनतम १० देखि ५००० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ । रसुवागढीले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर निष्कासन गरेको हो । त्यसमध्ये ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरिरहेको छ भने बाँकी ४ लाख १० हजार ५२६ कित्ता कम्पनीका कर्मचारी र ५ लाख १३ हजार १५७ कित्ता म्युचुअल फण्डलाई छुट्याइएको छ ।
लुम्बिनी जनरल इन्स्योरेन्सले किन बोलायो विशेष साधारणसभा ?
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आगामी वैशाख २५ गते विशेष साधारणसभा बोलाएको छ । इन्स्योरेन्सले चुक्ता पुँजीको २० प्रतिशत (अर्थात १० बराबर २ अनुपातले) हकप्रद सेयर जारी गर्न एकाएक विशेष साधारणसभाको मिति तोकेको हो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । २० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । उक्त विशेष साधारणसभामा जाने प्रयोजनको लागि संस्थाले आगामी वैशाख १५ गते एक दिनको लागि कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ ।