आइतबार २३ वटा कम्पनीका लगानीकर्ता मालामाल, क-कसले कति कमाए ?

काठमाडौं । आइतबारको सेयर बजारमा कुल २३ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सो मध्ये ७ कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् भने बाँकी १३ वटा कम्पनीका ९ प्रतिशत भन्दा बढी र १० प्रतिशतभन्दा कम कमाएका छन् । आइतबार अधिकांश बीमा र लघुवित्त संस्थाका लगानीकर्ताले बढी कमाएका छन् । सो दिन एशियन लाइफ इन्स्योरेन्स कम्पनी, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स वित्तीय संस्था, विजया लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनीको साधारण र संस्थापक र आरएमडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशत कमाएका हुन् । १७६ कम्पनीको कारोबार भएको सो दिनको बजारमा १३२ कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ । भने बाँकी ४४ कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । सबैभन्दा बढी सनराइज बैंकको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।  

नेप्से तीन महिना यताकै उच्च बिन्दुमा, एक अर्ब ६७ कराेडको कारोबार

काठमाडौं । सेयर बजारमा नेप्से परिसूचक २२ अंकले बढेर १३१४.५१ बिन्दुमा पुगेको छ । जुन पछिल्ला तीन महिनायताकै उच्चतम बिन्दु हो । गत पुस १५ गते १२०४ अंकमा रहेको नेप्से हालसम्म ११० अंकले उकालो लागेको छ । पछिल्लो समय बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आइतबार मात्रै कुल १७६ कम्पनीको साढे एक अर्ब रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सो दिन ४९ लाख २१ लाख कित्ता सेयर एक अर्ब ६७ करोड रुपैयाँमा किनबेच भएको छ । पछिल्ला दुई साताजस्तै यस साता पनि वाणिज्य बैंकहरुको बढी सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ रहेको छ ।  बजारमा अधिकांश वाणिज्य बैंकहरुको बढी कारोबार भएता पनि सेयर मूल्यमा भने गिरावट देखिएको छ । त्यस्तै, सेयर बजारमा पालैपालो परिसूचकहरुमा वृद्धि आएको छ । यस साताअघि वाणिज्य बैंकको समूहमा सूधार देखिएको थियो भने आइतबार बीमा समूहको सूचकमा उच्च वृद्धि भएको छ । बजार बन्द हुँदा जीवन बीमा ६२९ र निर्जीवन बीमा समूह ४६२ अंकले बढेको छ ।

अपडेटः नेप्सेले पार गर्याे १३०० अंक, परिसूचकमा पालैपालो सुधार

काठमाडौं । नेप्से परिसूचकले १३०० अंकले पार गरेको छ । आइतबार कारोबार खुलेको साढे एक घण्टाको अवधिमा नेप्से २९.२९ अंकले १३२०.४१ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.१९ प्रतिशतको वृद्धि हो । आइतबार बीमा समूहको परिसूचक त्रिपल डिजिटले बढेको छ । सबैभन्दा बढी जीवन बीमा ६१८ अंकले र त्यसपति निर्जीवन बीमा ३९५ अंकले बढेको छ । पछिल्लो दुई साता निरन्तर बैंकिङ् समूहको परिसूचक उकालो लागेको थियो भने यस साताको पहिलो दिन बीमाको परिसूचक उच्च अंकले बढिरहेको छ । करिब साढे १ बजेसम्म ६ वटा बीमा कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । सबैभन्दा बढी एसियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४६२ रुपैयाँमा कारोबार भइरहेको छ । सो अवधिसम्म १७० कम्पनीको ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइरहेको छ । सबैभन्दा बढी नेपाल बैंकको ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।