मेडिकेयर हस्पिटलको १०.५२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । मेडिकेयर हस्पिटलले लाभांश वितरण गर्ने भएको छ । हस्पिटलको सञ्चालक समितिको कात्तिक ७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित १०.५२ प्रतिशतका दरले ४ करोड ७३ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको चुक्ता पुँजी ४५ करोड रुपैयाँ छ । उक्त लाभांश प्रस्ताव पारित गर्न हस्पिटलले मंसिर ६ गते बिहान ११ बजे काठमाडौंमा २८औँ वार्षिक साधारण सभा बोलाएको छ ।  हस्पिटलको सभाले सञ्चालक समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन र चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्नेछ ।  सन् १९९६ मा स्थापित, मेडिकेयर अस्पताल करिब ३ दशकदेखि स्वास्थ्य सेवा व्यवसायमा संलग्न छ । सानिमा र महतो ग्रुपको लगानीमा सञ्चालित मेडिकेयर हस्पिटलको काठमाडौंमा ८७ सैय्यामा चलिरहेको छ ।  सन् २०२४ मा हस्पिटलले ५४ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा ५० करोड १० लाख रुपैयाँ र सन् २०२२ मा ४७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । 

सेयर घट्दा पनि बढ्यो कारोबार, २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २५६६ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ८५ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ४ अर्ब ५७ करोडको कारोबार भएको थियो । बुधबार ३२१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोको भएको छ । युनियनको २३ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको २३ करोड ३१ लाख, बुटवल पावरको २२ करोड ७२ लाख, राधी विद्युतको २२ करोड ३० लाख र हिमालयन रिइन्स्योरेन्सको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । खानीखोला हाइड्रोको १० प्रतिशत र उपकार लघुवित्तको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ । होटल तथा पर्यटन समूह २.१५, व्यापार २.०० तथा हाइड्रोपावर ०.०१ प्रतिशतले बढेको छ । अन्य समूह १.२० प्रतिशत घटेको छ । त्यस्तै बैंकिङ ०.३४, विकास बैंक ०.९१, फाइनान्स ०.७७, लगानी ०.१७, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.२८ तथा निर्जीवन बीमा ०.१९ प्रतिशत घटेका छन् ।

सोल्टी होटलको लाभांश घोषणा

काठमाडौं । सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १६.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २८ गते बिहान १० बजे काठमाडौंमा ५१ औँ वार्षिक साधारण सभा बोलाएको छ ।   साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ । जस अनुसार मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।