प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई नगद लाभांश दिने
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई कूल ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे । पुस २७ गते दिउँसो ४ बजे बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ८४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
सिभिल बैंकले घोषणा गर्यो दुई वर्ष यताकै उच्च लाभांश
काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन पछिल्लो दुई वर्ष यताकै उच्च लाभांशदर हो । पुस २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद(कर प्रयोजनको लागि) गरी कूल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ३३ लाख रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ६४ करोड रुपैयाँ नाघ्ने छ । उक्त प्रस्तावित लाभांश गत दुई वर्ष यताकै उच्च लाभांशदर हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ६.५७ प्रतिशत लाभांश(नगद मात्रै) वितरण गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७४/७५को नाफाबाट ४.०५ प्रतिशत लाभांश (नगद मात्रै) वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७३/७४ को नाफाबाट भने सेयरधनीले १०.७९ प्रतिशत लाभांश पाएका थिए ।
एनएमबि लघुवित्तको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ५४ करोड नजिक
पोखरा । एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २० प्रतिशत लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न संस्थाको आठौं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको १ (एक) प्रतिशतका दरले हुन आउने रकम ४५ लाख ३६ हजार १७५ रुपैयाँ नगद लाभांश वापत (वोनस सेयरको कर प्रयोजनको लागि मात्र) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, १९ प्रतिशतले हुन आउने ८ करोड ६१ लाख ८७ हजार ३२५ रुपैयाँं बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव समेत सभाले पारित गरेको हो । हाल संस्थाको चुक्ता पुँजी ४५ करोड ३६ लाख रुपैयाँ रहेको छ । १९ प्रतिशत बोनस पश्चात लघुवित्तको चुक्ता पुँजी ५३ करोड ९८ लाख रुपैयाँ पुग्ने छ । सोमबार संस्थाका सञ्चालक समिति अध्यक्ष सजिव सुब्वाको सभापतित्व तथा नेपाल राष्ट्र बैकका प्रदेश प्रमुख ईश्वरी प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । कम्पनी सचिव गोविन्द बाँस्तोलाले सञ्चालन गरेको सभामा एनएमबि बैंकको तर्फवाट प्रतिनिधित्व गरेका सञ्चालक गोविन्द घिमिरेले समेत सेयरधनी समक्ष आफ्नाे धारण राखेका थिए । सम्बन्धित समाचार एनएमबि लघुवित्तले घोषणा गर्यो दुई वर्ष यताकै उच्च लाभांश, बोनस कति ?