मोलुङ्ग हाइड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ कराेड ३१ लाख रूपैयाँ बराबरकाे साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले निकट भविष्यमा सर्वसाधारणलाई एक सय अंकित दरको ३५ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्ने लागेको हो । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त गर्ने सम्झाैता भएकाे छ । उक्त सम्झाैतापत्रमा कम्पनीको तर्फबाट प्रबन्ध संचालक अमृतकुमार महर्जन तथा सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । कूल ३५ लाख ३१ हजार कित्ता सेयरमध्ये आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई ८ लाख २ हजार ५ सय कित्ता सेयर छुट्टयाईएको छ । मोलुङ्ग हाइड्रोपावर कम्पनीको ७ मे.वा. क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट २०७४ चैत १२ गतेबाट व्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ । मिति २०७७ माघ २५ गते सम्पन्न कम्पनीको ११ औं वार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पुँजी वृद्धि गरी एक अर्ब र जारी पुँजी बृद्धि गरी ८० करोड २५ लाख रुपैयाँ कायम गर्ने निर्णय गरेको छ । उक्त निर्णय पश्चात कम्पनीले सेयर संरचना अन्तर्गत जारी पुँजीको ५६ प्रतिशत अर्थात ४४ लाख ९४ हजार कित्ता संस्थापक सेयर र ४४ प्रतिशत अर्थात ३५ लाख ३१ हजार कित्ता सर्वसाधारण सेयरको सार्वजनिक निष्काशनबाट पुँजी कायम गर्ने भएको छ ।

साना किसान विकास लघुवित्तको हकप्रद सेयर लिलामीमा, फागुन २८ गतेदेखि आवेदन खुला

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले बिक्री नभएको हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । संस्थाले हकप्रद निष्काशन गरी बिक्री नभएको कूल १२ हजार ४४२ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको हो । जसमध्ये ३ हजार ३६८ कित्ता संस्थापक र ९ हजार ७४ कित्ता सर्वसाधारण सेयर रहेको छ । उक्त सेयर लिलाम बिक्री गर्न गत पुस २८ गते सम्पन्न संस्थाको १९औं वार्षिक साधारणसभाले पारित गरेको थियो । यससँगै संस्थाले आगामी फागुन २८ गतेदेखि चैत १३ गतेसम्म उक्त सेयरहरु लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । इच्छुक संस्थापक साना किसान सहकारी संस्थाले मात्र चैत १३ गते एक बजेभित्र प्रतिकित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो त्यसमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्ने छन् । उक्त लिलाम बिक्रीका लागि बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नियुक्त भएको छ । यससँगै इच्छुकले काठमाडौंको नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग र साना किसान विकास लघुवित्तको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । कम्पनीले सेयरको न्युनतम मुल्य एक सय रुपैयाँ तोकेको हुँदा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । आवेदकहरुले बोलपत्र पेश गर्दा न्युनतम सय कित्ता र अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

मञ्जुश्री फाइनान्सको १८ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । मञ्जुश्री फाइनान्सको १८ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सोमबार मात्रै संस्थाको १४ लाख ७२ हजार ६३६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै संस्थाको सो मात्राको सेयर केही दिनमा सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।