टेलिकमको सञ्चालकमा लगानीकर्ता पौडेलको उम्मेदवारी, लगानीकर्तालाई उचित प्रतिफल दिने प्रतिबद्धता

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक पदमा लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । पौडेलले टेलिकमको सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक पदमा उम्मेदवारी दिएका हुन् । आगामी चैत २३ गते हुने टेलिकमको वार्षिक साधारण सभाले कम्पनीकाे सर्वसाधारण सेयरधनीको तर्फबाट एक संचालक सदस्यको निर्वाचन गर्दै छ । पौडेल सेयर लगानीकर्ताको संस्था नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष पनि हुन् । उनले उक्त पदमा निवार्चित भएसँगै नेपाल टेलिकमलाई उत्कृष्ट सेवा प्रदायक, उत्कृष्ट नाफा गर्ने कम्पनी र लगानीकर्तालाई दिने प्रतिफलमा समेत अब्बल बनाउनको लागि समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता गरेका छन् । ‘नेपाल टेलिकममा मैले संचालकको रूपमा प्रतिनिधित्व गर्न सकेको अवस्थामा सो को व्यवस्थापन र सरकारी निकायहरुबाट प्रतिनिधित्व गर्ने संचालक बीच समन्वय कायम गर्दै मेरो लगानी सम्बन्धी ज्ञान अनुभव र बुद्धि विवेकको उच्चतम प्रयोग गरी नेपाल टेलिकमलाई उत्कृष्ट सेवा प्रदायक, उत्कृष्ट नाफा गर्ने कम्पनी र लगानीकर्तालाई दिने प्रतिफलमा समेत अब्बल बनाउनको लागि समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’, सामाजिक सञ्चालमार्फत लगानीकर्ता पाैडेलले बताए । ‘टेलिकममा नेपाल सरकार ९१.४९ प्रतिशत, सर्वसाधारण सेयरधनीहरु र कर्मचारीहरुको ८.४८ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत स्वामित्व रहेको कम्पनी हो । १५ अर्ब चुक्ता पूँजी भएको यो कम्पनीको असार मसान्त सम्मको सञ्चित मुनाफा ७८ अर्ब भन्दा बढी रहेको छ भने स्थिर सम्पत्तिको हिसावले सबैभन्दा धनी कम्पनी हो । नेपाल टेलिकमले आफ्नो पुँजी र सञ्चित मुनाफा र स्थिर सम्पत्तिलाई सहि किसिमले परिचालन गर्न सकेको खण्डमा सरकारलाई सबैभन्दा बढी राजश्व दिने, कर्मचारीलाई सबैभन्दा बढी बाेनस दिने र लगानीकर्तालाई सबैभन्दा बढी प्रतिफल दिने र पुँजीबजारको सबैभन्दा उत्कृष्ट सुचिकृत कम्पनी हुन सक्ने छ’, उनले बताए । नेपाल टेलिकमले आगामी चैत १३ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा तेह्रौं वार्षिक साधारणसभा बोलाएको हो । सम्बन्धित समाचार नेपाल टेलिकमले डाक्यो वार्षिक साधारणसभा, ४० प्रतिशत नगद लाभांश पारित गर्ने

नेप्सेमा २ करोड बढी बोनस सेयर सूचीकृत, सबैभन्दा बढी एनएमबि बैंकको

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कूल २ करोड २२ लाख ७७ हजार ३७१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । आज (फागुन २५ गते) एनएमबि बैंक र ज्योति विकास बैंकको गरि साे मात्राकाे बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये एनएमबि बैंकको १३ प्रतिशत अर्थात एक करोड ८७ लाख ८२ हजार ०७८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, ज्योति विकास बैंक १० प्रतिशत अर्थात ३४ लाख ९५ हजार २९३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यससँगै यी दुई कम्पनीको सो मात्राको सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

एलआईसी नेपालको १०.५३ प्रतिशत लाभांश पारित, सञ्चालकमा कोमल अग्रवाल चयन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) को प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित भएको छ । फागुन २५ गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७५/७६को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र बोनस सेयरको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश पाउने भएका छन् । साथै, सभाले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने १ जना पब्लिक डाइरेक्टरमा कोमल अग्रवाललाई निर्विरोध चयन गरेको छ । कम्पनीको साधारणसभा काठमाडौंको नक्सालस्थित एलआईसी नेपालको शिक्षालय हलमा सम्पन्न भएको हो । आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले १ लाख ८९ हजार ३२० वटा नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत ४ अर्ब २२ करोड ८३ लाख रुपैयाँ संकलन गर्न सफल भएको थियो । त्यस्तै, २०७६ असार मसान्तसम्ममा कम्पनीमा सक्रिय बीमालेखहरुको संख्या ७ लाख ३५ हजार ७४५ वटा र कूल जीवन बीमा कोषमा ५३ अर्ब ८७ करोड ७३ लाख रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०७५/७६ मा कम्पनीको कूल जीवन बीमा कोषमा २७.४८ प्रतिशत, प्रथम बीमाशूल्क आर्जनमा ४६.३६ प्रतिशत, बीमालेख संख्यामा ४२.०९ प्रतिशत, लगानीतर्फ २३.६५ प्रतिशत र लगानीबाट प्राप्त आम्दानीमा २१.९२ प्रतिशतको बृद्धिदर रहेको थियो । कम्पनीका अध्यक्ष एम.आर. कुमारले आफ्ना बीमितहरुलाई सदैव उच्चतम प्रतिफल दिईरहने प्रतिबद्धता जनाएका छन् । सभामा संचालक समितिका अन्य संचालकहरु मुकेश कुमार गुप्ता, अशोक कुमार अग्रवाल, कुमार केशर विष्ट, भि.के. कुक्रेजा र लक्ष्मी प्रसाद दास उपस्थित थिए ।