इन्फिनिटी लघुवित्तले डाक्यो विशेष साधारणसभा, असार ८ गते बुक क्लोज

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आगामी असार २१ गते विशेष साधारणसभा आव्हान गरेको छ । सो प्रयोजनको लागि संस्थाले आगामी असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त सभा असार २१ गते बिहान ९ बजे नवलपुरको गैंडाकोटस्थित संस्थाको केन्द्रीय कार्यालयमा बस्दै छ । सभाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न इन्फिनिटी लघुवित्तलाई स्वीकृति दिने विशेष प्रस्तावलाई पारित गर्दै छ । नेपाल एग्रो लघुवित्तको १०० कित्ता सेयरलाई इन्फिनिटी लघुवित्तको ९८ कित्ता सेयर दिने गरी स्वाप रेसियो कायम गर्ने गरी सेयर मूल्य अनुपात कायम गर्ने सञ्चालक समितिको प्रस्ताव रहेको छ । त्यस्तै, संस्थाले सभामा बोनस तथा नगद लाभांश र हकप्रद जस्ता कुनै पनि प्रस्ताव लगेको छैन ।

११ दिनपछि कारोबार भएको खानी खोला हाइड्रोको सेयर मूल्यमा सर्किट, प्रतिकित्ता कति ?

काठमाडौं । खानी खोला हाइड्रोपावरको सेयर कारोबार आज (जेठ ३१ गते)देखि खुला भएको छ । गत जेठ २० गतेदेखि रोक्का भएको कम्पनीको सेयर कारोबार नेप्सेले आजदेखि फुकुवा गरिदिएको हो । नेप्सेले जेठ २० गते बिहीबार एक सूचना जारी गर्दै कम्पनीले वित्तीय विवरण नबुझाएको भन्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको थियो । यससँगै कम्पनीले उक्त विवरणहरु नेप्सेको वेवसाइटमा अपलोड गरेकाे र आगामी दिनमा समयमै विवरणहरू पेश गर्न सचेत गराउँदै नेप्सेले आजदेखि कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको हो । कारोबार फुकुवा भएसँगै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७५ रुपैयाँ पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा २५ रुपैयाँले बढी हो । कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता २५० रुपैयाँमा भएको थियो । यो समाचार तयार पार्दासम्म संस्थाको सेयर खरिदकर्ताको चाप देखिएको छ भने बिक्रीकर्ता कोही पनि देखिएका छैनन् । सम्बन्धित समाचार अन्ततः नेप्सेले रोकिदियो खानीखोला हाइड्रोको सेयर कारोबार

किस्ता तिर्ने समय थप्न माग गर्दै लघुवित्त संघले भन्यो- महिला लाभान्वित हुने मौद्रिक नीति ल्याईयोस्

काठमाडौं । लघुवित्त सङ्घ नेपालले किस्ता तिर्ने समयअवधी थप गर्न र कर्जा पुनर्तालिकीकरण गर्न सरकारसँग माग गरेको छ । अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गानालाई भेटेर सङ्घको टोलीले कोरोना प्रभावितहरूका लागि सहुलियत दरमा पुनर्कर्जा उपलब्ध गराउन पनि आग्रह गरेका हुन् । सङ्घका अध्यक्ष जगत पोखरेलको नेतृत्वमा गएको टोलीले लघुवित्त वित्तिय संस्थाहरूलाई दिएको राहतले ग्रामीण क्षेत्रका न्यून आएका भएका महिला लाभान्वित हुने भएकाले उनीहरूलाई सम्झेर राहतमा उदारता देखाउन आग्रह गरेको थियो । सङ्घको टोलीले बुझाएको ज्ञापनपत्रमा कोरोनाभाइरसको महामारीबाट अति प्रभावित ऋणी ग्राहकको ब्याज अनुदान दिनुपर्ने, वचतकर्ता समूह सदस्यहरूको व्याज आयमा कर छुट गर्नुपर्ने, सरकारले उपलव्ध गराउने राहत प्याकेज लघुवित्त प्रदायक सस्थामार्फत उपलब्ध गराउनु उपयुक्त हुनेलगायत सुझाव उल्लेख गरिएको छ । राष्ट्र बैंकले नयाँ आर्थिक वर्षका लागि ल्याउन लागेको मौद्रिक नीतिमार्फत आफ्ना मागहरू सम्बोधन गराउन अर्थ सचिव ढुङ्गानालाई ज्ञापनपत्र बुझाइएको सङ्घकी उपाध्यक्ष भगवती चौधरीले जानकारी दिए । टोलीसँगै गएका लघुवित्त विज्ञ तथा नेपाल सरकारका पूर्व सचिव डा मानवबहादुर विश्वकर्माले वित्तिय सेवामा पहुँच बढाउन विपन्न क्षेत्र कर्जाको परिचालन लघुवित्त संस्थाहरूबाट मात्र प्रवाह गर्ने ब्यवस्था गराउन सुझाव दिएका थिए । सङ्घले गैह्र बैकिङ्ग वित्तीय सस्थाबाट ऋण लिन सकिने व्यवस्था गर्नुपर्ने, एउटा लघुवित्त संस्थाले सङ्कलन गरेको वित्तीय श्रोत अर्को लघुवित्त संस्थामा छोटो अवधिको लागि लगानी गर्न पाउनु पर्ने, समूह सदस्य तथा व्यक्तिलाई प्रदान गरिने कर्जाको सीमा बढाउनुपर्ने माग पनि राखेको छ । गाभिन तथा प्राप्तिलाई अनिवार्य नगरी उपयुक्त मिल्दा संस्थाहरू मिल्न प्रोत्साहन गर्न अर्थ सचिव ढुङ्गानाको ध्यानाकर्षण गराइएको उन्नती सहकार्य लघुवित्तकी अध्यक्ष डा अनिता शाहले जानकारी दिए । लघुवित्त संस्थामा मात्र संस्थागत सामाजिक उत्तरदायीत्व कोष र ग्राहक संरक्षण कोष गरी उस्तै दुई कोषको व्यवस्था भएकोले ग्राहक संरक्षण कोषको मात्र व्यवस्था हुन उपयुक्त हुने उनको सुझाव थियो । लघुवित्त संस्थाको कार्य प्रकृति नै अन्य बैंक नपुगेका तथा अति विपन्नलाई सामाजिक मध्यस्ततासहित सेवा पुर्याउने रहेकोले यसमा लाग्ने संस्थागत कर अरुलाई लाग्ने आधा र समुह सदस्यको वचतको व्याज आयमा कर नलाग्ने व्यवस्था हुनुपर्ने माग पनि सङ्घले राखेको सङ्घका प्रमुख कार्यकारी अधिकृत रविन पोखरेलले जानकारी दिए । सङ्घको माग र सुझावहरू उपयोगी र रचनात्मक रहेको भन्दै अर्थसचिव ढुङ्गानाले सकेसम्म धेरै सुझावलाई समेट्न प्रयास गर्ने आश्वासन दिएका थिए । रासस