पोखरामा असारे रोपाइँ महोत्सव बुधबार

पोखरा, १४ असार । पोखरा पर्यटन परिषद्को आयोजनामा यही असार १५ गते यहाँ १३ औँ असारे रोपाइँ महोत्सव हुँदैछ । महोत्सव मूल आयोजक समितिका संयोजक डम्बरबहादुर केसीले महोत्सवमा विभिन्न नौ प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम, असारे खाजाको कक्ष लगायत रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । महोत्सवमा स्वदेशी पर्यटकका साथै विदेशी पर्यटक सहभागी हुने छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा, महासचिव रामु गौतम, परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराई, पर्यटन व्यवसायी वासु त्रिपाठी लगायतले परम्परागत कृषिको महत्वको बोध गराउनाका साथै कृषिप्रतिको बढ्दो अनाकर्षण घटाउँदै खेती गर्नुपर्छ भन्ने भावना जागृत गराउन महोत्सव उपयोगी बन्ने विश्वास व्यक्त गरे । बाह्र वर्षयता लागातार रुपमा सञ्चालन गरिँदै आएको यो महोत्सव यस पटक पोखरा उपमहानरपालिका–१७ महतगौँडामा हुने छ । रासस

नक्कली प्रमाणपत्रधारी चिकित्सकको निवेदन खारेज

काठमाडौँ, १३ असार । सर्वोच्च अदालतले नक्कली शैक्षिक प्रमाणपत्रका आरोपमा पक्राउ परेका १० चिकित्सकले दायर गरेको रिट निवेदन खारेज गरेको छ । कामु प्रधानन्यायाधीश सुशीला कार्की र गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले नक्कली शैक्षिक प्रमाणपत्रका आरोपमा पक्राउ परेका चिकित्सकले दायर गरेको निवेदन खारेज गरेको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । आदेशमा भनिएको छ, “थुनामा भएका नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ भएका चिकित्सक गैरकानुनी र बद्नियतपूर्ण पक्राउ परेको भन्न सकिने अवस्था देखिँदैन ।” नक्कली प्रमाणपत्रका आरोपमा चिकित्सकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० बाट पक्राउ परेपछि आफूहरुलाई गैरकानुनी रुपमा थुनामा राखेको उल्लेख गर्दै संयुक्त रुपमा निवेदन दायर गरेका थिए । निवेदन दिने चिकित्सकमा रामकुमार प्रधान, विनिता पाण्डे, सरोज घिमिरे, पन्नलाल पटेल, मोहम्द रुहुल्लाह, श्रीराम घिमिरे सहित थिए । यसैबीच काठमाडौँ जिल्ला अदालतले नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेका चिकित्सकलाई अनुसन्धानका लागि थप पाँच दिन थुनामा अनुमति दिएको छ । रासस

गौतम बुद्ध विमानस्थलको लक्ष्यः दैनिक ६० अन्तर्राष्ट्रिय उडान, बार्षिक ६० लाख पर्यटक

भैरहवा, १३ असार । सन् २०३३ सम्ममा दैनिक ६० अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्यका साथ गौतम बुद्ध विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको, कुनै पनि समस्या आउँदा भारत र नजिकका विभिन्न विमानस्थलमा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै गौतमबुद्ध विमानस्थलको काम अगाडि बढाइएको हो । सन् २०१८ मा निर्माण सम्पन्न गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा सो विमानस्थल निर्माण सम्पन्न हुनेछ । आयोजनालाई युद्धस्तरमा अगाडि बढाइएको आयोजना प्रमुख ओम शर्माले जानकारी दिए । सन् २०१८ सम्म आन्तरिक रुपमा दैनिक १६ उडान हुने प्रक्षेपण गरिएको छ भने ती उडानबाट पाँच हजार ३०० बढी नागरिकले यात्रा गर्नेछन् । छ वटा अन्तर्राष्ट्रिय उडान सो विमानस्थलबाट हुनेछन् । ती उडानबाट दैनिक दुई हजार बढीले यात्रा गर्नेछन् । सञ्चालनमा आएको एक वर्षमा चार लाख १३ हजार बढीले सो विमानस्थल प्रयोग गर्ने बताइएको छ । विमानस्थललाई स्तरोन्नति गर्दै सन् २०३३ मा दैनिक तीन÷तीन मिनेटमा आन्तरिक तथा प्रत्येक घन्टामा तीनदेखि चार वटा अन्तर्राष्ट्रिय उडान भर्ने गरी तयारी गरिएको शर्माले बताए । दैनिक आन्तरिक उडानबाट एक लाख २० हजार र अन्तर्राष्ट्रिय उडानबाट २० हजार नागरिकले सो विमानस्थल प्रयोग गर्ने लक्ष्य राखिएको छ । “वार्षिक ६० लाख नागरिकलाई गौतम बुद्धको जन्मस्थलमा भ्रमण गराउने लक्ष्य छ,” उनले भने । सो अवधिमा दैनिक एक लाख ६५ हजार कार्गोसमेत सोही विमानस्थलबाट आयात निर्यात गर्ने हुने प्रक्षेपण गरिएको छ । तीन किलोमिटर लामो धावनमार्गको निर्माण जारी रहेको विमानस्थलमा तत्काल बोइङ ७७७–२००, एयरबस ३३०–३०० र सोही क्षमताका विमान उडान तथा अवतरण गर्न सक्नेछन् । हाल सञ्चालनमा रहेको विमानस्थलको धावनमार्गलाई ट्याक्सी वेमा परिणत गर्ने तयारी गरिएको शर्माले बताए । लुम्बिनी शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र भएकाले अन्तर्राष्ट्रिय चासोको क्षेत्रका रुपमा रहेको छ । लुम्बिनीमा विभिन्न मुलुकले निर्माणका कार्य गर्दै आएका छन् । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध पैदा हुँदा अन्तर्राष्ट्रिय सम्पर्क नै विच्छेद हुने अवस्था आउने अवस्थालाई मध्यनजगर गर्दै निर्माणमा गति दिइएको हो । लक्ष्यअनुसार पहिलो चरणमा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाइनेछ भने आन्तरिक यात्रु आवागमन टर्मिनललाई पाँच हजार स्वायर मिटरको बनाइनेछ भने अन्तर्राष्ट्रिय यात्रु कक्षलाई १५ हजार स्क्वायर मिटरमा बढाइनेछ । दोस्रो चरणमा १६० वटा ट्याक्सी तथा सवारी साधन अटाउने गरी अन्तर्राष्ट्रिय कार पार्किङस्थल बनाइनेछ भने आन्तरिक एप्रोनमा थप चार वटा आन्तरिक हवाई सेवा प्रदायक कम्पनीका जहाज पार्किङ गर्न मिल्ने गरी तयारी गरिएको छ । तेस्रो चरणमा ट्याक्सी वेको लम्बाई एक हजार १०० मिटर लामो र २३ मिटर चौडाइको बनाइनेछ । अन्तर्राष्ट्रिय एप्रोन ५७ हजार स्क्वायर मिटरभन्दा बढीको बनाइनेछ भने ट्याक्सी वेको क्षमतासमेत उल्लेख्य मात्रामा विस्तार गरिनेछ । वार्षिक करिब ३० लाख भन्दा बढी बौद्ध धर्मावलम्बीलाई लुम्बिनी भित्र्याउने लक्ष्यलाई आत्मसात् गर्दै विमानस्थलको क्षमता विस्तार गर्न लागिएको हो । हाल एसियाली विकास बैंकको सहयोगमा अगाडि बढाइएको विमानस्थल विस्तारको काम सन् २०१८ मा सम्पन्न हुनेछ । आठ अर्ब बढीको लागत अनुमान गरिएको विस्तार कार्य सम्पन्न भएपछि त्यसपछिको लागतका बारेमा पनि सामान्य छलफल भइरहेको आयोजना प्रमुख शर्माको भनाइ छ । लुम्बिनी विकास कोषले समेत लुम्बिनी क्षेत्रको विकासलाई विशेष प्राथमिकतामा राखी काम गरिरहेको सन्दर्भमा पहिलो आधार नै विमानस्थललाई बनाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डुण्डुराज घिमिरे बताउँछन । धार्मिक पर्यटनलाई बढावा दिने र आर्थिक समृद्धिलाई केन्द्रमा राखेर काम गर्ने लक्ष्यका साथ काम भइरहेको छ । लुम्बिनीलाई प्रचारप्रसार गर्ने र गौमतबुद्धको शान्तिको सन्देशलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउने सरकारको लक्ष्य रहेको छ । सोही लक्ष्यलाई बढावा दिने लक्ष्यका साथ सरकारले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको समेत सम्पन्न गरेको छ । भौतिक पूर्वाधारको विकाससँगै आउने परिवर्तनले लुम्बिनी क्षेत्रको विकास र विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले त्यसमा बढावा दिने विश्वास छ । रासस