हवाई इन्धन महँगो भएको भन्दै पर्यटन मन्त्रालयसँग मूल्य घटाउन एनएसीको माग

काठमाडौं ३२ साउन।  हवाई इन्धनको मूल्य बढी भएको भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले घटाउनका लागि सरकारसँग माग गरेको छ। नेपाल अायल निगमले अत्याधिक नाफा राखेर बोनस सम्म बाँड्न लागेपछि वायुसेवा निगमले सो माग गरेको हो। निगमले उडान गर्ने अन्य गन्तव्यभन्दा काठमाडौंमा इन्धनको मूल्य तीन गुणासम्म महँगो पर्ने गरेको पाइएको छ । अत्याधिक मूल्यका कारण यात्रुलाई प्रत्यक्ष मार परेको तथा आफ्नो प्रतिस्पर्धी क्षमता कमजोर भएको भन्दै मूल्य घटाउन पहल गरिदिन निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गुहारेको छ । निगमले मन्त्रालयलाई पत्र लेखी हवाई इन्धनको मूल्य घटाउन पहल गरिदिन आग्रह गरेको छ । हाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटिर २५ रुपैयाँ खुद नाफा राखेको छ । वायुसेवा निगमले गत साउन १ को मूल्यका आधारमा तयार पारेको विवरणअनुसार इन्धन भर्दा मलेसियामा प्रतिलिटर ३७.९९ रुपैयाँ र  नेपालमा १०६.८५ रुपैयाँ भुक्तानी गर्नुपरेको छ । “निगमले उडान गर्ने सबै गन्तव्यमा पर्ने मूल्य र नेपालमा पर्ने मूल्यको तुलना गरेर मन्त्रालयमा पत्र पठाएका छौं,” निगम प्रवक्ता रामहरि शर्माले भने । अन्य एयरलाइन्सहरूले आफ्नै मुलुकमा धेरै इन्धन भरेर आउने भएकाले निगमलाई मात्र बढी भार परेको निगमको भनाइ छ । “सरकारले विशेष निर्णय गरेर भए पनि राष्ट्रिय ध्वजावाहक भएको नाताले निगमलाई अन्यलाई भन्दा सस्तोमा दिनुपर्छ भन्ने हाम्रो माग हो,” प्रवक्ता शर्माले भने । निगमले पठाएको पत्र पर्यटन मन्त्रालयले उपयुक्त लागेमा अर्थ मन्त्रालय पेस गर्नेछ भने अर्थले करमा सहुलियत दिने निर्णय मन्त्रिपरिषद्मा लैजान सक्नेछ । स्रोतका अनुसार अर्थले तत्काल यस्तो निर्णय गर्न सक्ने अवस्था नभए पनि आपूर्ति मन्त्रालयले नाफा घटाउन निगमलाई निर्देशन भने दिन सक्नेछ । “आयल निगमले नाफा थोरै राखेर वायुसेवा निगमलाई सुविधा दिएमा नाफा बढ्ने थियो, जसले सञ्चालनमा सहज हुनेछ,” प्रवक्ता शर्माले भने । निगमले ३ जहाजमार्फत नयाँदिल्ली, बैंग्लोर, मुम्बई, दोहा, मलेसिया, बैंकक र हङकङ उडान गरिरहेको छ । असोजबाट चीनको क्वाङ्चौ उडान गर्दैछ ।  

चीनले विश्वकै पहिलो ह्याक प्रुफ स्याटेलाइट प्रक्षेपण गर्यो

काठमाडौंः चीनले मंगलबार विश्वकै पहिलो ह्याक प्रुफ क्वान्टम स्याटेलाइटको सफल प्रक्षेपण गरेको छ । चीनले दाबी गरे अनुसार यसले पठाएको म्यासेजलाई न त डिकोड गर्न सकिन्छ  न नै स्याटेलाइटलाई ह्याक नै गर्न सकिन्छ । चीनले यस स्याटेलाइटलाई संघाईको एक ल्याबमा तयार गरेको हो । जुन ल्याबलाई चीनले अघिल्लो साल बनाएको थियो । क्वान्टम स्याटेलाइटलाई लन्च गरेर चीनले जापान र अमेरिकालाई पछि मात्रै पारेन यी दुई देशको चिन्ता पनि बढाइदिएको छ। केही वर्षअघि सीआईएका पूर्वकर्मचारी एडवर्ड स्नोडेनले अमेरिकाले चीनको स्याटेलाइट्सको सबै सूचना डिकोड गरिरहेको पोल खोलिदिएपछि चीनले भित्री तयारी थालेको थियो । त्यसपछि चीनले डिकोड गर्नै नसकिने प्रविधिको विकासमा लागेको थियो । चीनले यस स्याटेलाइटको नाम ‘मिसिअस’ राखेको छ ।  मिसिअस छैटौं शताब्दीमा चीनका महान अध्यता र वैज्ञानिक थिए । जुलाई, २०१५ मा क्वान्टम कम्प्यूटिङ्ग ल्याब संघाईमा बनाइएको थियो । यो चीनको उच्च गोप्यता कायम गरिएको ल्याब हो । यसलाई चिनियाँ एकेडेमी अफ साइन्स र चीनको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी अलीबाबाले तयार गरेका हुन् । क्वान्टम स्याटेलाइटमा प्रयोग गरिएको प्रविधिको बारेमा चीनले विश्वकै सबैभन्दा सुरक्षित प्रविधि रहेको दाबी गरेको छ । यसमा फोटोनको प्रयोग गरिएको छ । फोटोनलाई न त अलग गर्न सकिन्छ न त उसको प्रतिकृति (रिप्लिका) बनाउन नै सकिन्छ ।  थाहा पाउनै पर्ने कुरा फोटोन प्रविधिबाट जुन सूचना पठाइन्छ, त्यसलाई डिकोड गर्न सकिन्न । अर्थात यो पूर्णरुपमा ह्याक प्रुफ रहेको छ । चीनको समाचार एजेन्सी सिन्ह्वाका अनुसार स्याटेलाइटमा फोटोन टुक्रा गरिएको अवस्थामा हुनेछ । यदि यसबाट म्यासेजलाई डिकोड गर्ने कोशिस गरियो भने फोटोन आफैं नष्ट भएर जानेछ ।   यस स्याटेलाइटमा दुई कम्जोरी पनि छन् । पहिलो यसको कन्ट्रोल रूम जमीनमा नै हुनेछ । अर्थात स्याटेलाइटबाट पठाइएको डाटा ह्याक या डिकोड त हुन सक्दैन तर जमीनमा आएपछि कन्ट्रोम रूममा डिकोड गरेपछि भने त्यसको ट्रान्स्क्रिप्टलाई दोस्रो तरिकाबाट प्राप्त गर्न भने सकिन्छ । अर्को कम्जोरी भनेको यसको डाटा ३०० किलोमिटर भन्दा धेरै टाढासम्म पठाउन सकिँदैन । यसको घाटा भनेको यदि संघाईको विकल्पमा ३०० किलोमिटर भन्दा बाहिरको अर्को सहरबाट यो स्याटेलाइटबाट डाटा तान्न सकिँदैन । यो प्रोजेक्टका प्रमुख वैज्ञानिक पेन जियानवेईले यो प्रयासपछि आफूहरु पुरानै प्रविधिको सञ्चार प्रविधिबाट आफहरु धेरै अघि बढिसकेको बताएका छन् । यो प्रयास सफल भएपछि चीनका लागि नयाँ बाटो खुल्ने उनको भनाइ छ । यो सफलतापछि अब चीनले सन् २०३० सम्ममा क्वान्टम स्याटेलाइटको ग्लोबल नेट्वर्क तयार गर्न सक्नेछ ।

पर्यटक आकर्षणको लोभलाग्दो सम्पदा ‘नेपालको ताजमहल’ उच्च जोखिममा

पाल्पा, ३२ साउन । बौघागुम्बा गाविस–२, कालीगण्डकी नदीको दक्षिणको भिरालो चट्टाननिरको तीरमा अवस्थित रानीमहल बर्सेनि जोखिमको नजिक पुगेको छ । राणाकालीन समयमा पश्चिमी कलाकौशल प्रयोग गरी निर्माण गरिएको सुन्दर धरोहर ऐतिहासिक एवं पुरातात्विक हिसाबले महत्वपूर्ण मानिन्छ । पर्यटक आकर्षणको लोभलाग्दो सम्पदा ‘नेपालको ताजमहल’ मानवीय क्रियाकलापका कारण अहिले अस्तित्व बचाउने चुनौतीमा पुगेको छ । एक सय २३ वर्ष पुरानो महलमाथिबाट नवलपरासीको गैँडाकोटदेखि तिब्बतको कोरोला नाकासम्मको सडक विस्तार गरिएपछि दायाँ र बायाँ क्षेत्रबाट ठूला पहिरा बारम्बार खस्दा यस क्षेत्र पछिल्ला वर्षमा उजाडजस्तो बन्न थालेको हो । हराभरा सुन्दर, शान्त एवम् मनोरम रानीमहल दरबार नजिकैबाट पहिरो खस्दा दिनप्रतिदिन जोखिम बढेको छ । धीरशम्शेरका सत्र भाइमध्ये पाल्पाका जर्नेल खड्गशमशेरले रानी तेजकुमारीको विसं १९४९ मा पाल्पामै निधनपछि उनको सम्झनामा निर्मित दरबार करिडोर विस्तार गर्दा वातावरणीय हिसाबले पनि सुन्दरता गुम्ने अवस्था नजिकै आएको छ । महलमाथि सडक विस्तार गर्दा डोजरको प्रयोग गरिएपछि यहाँको जमिनमा असर गर्दै आएपछि माथिल्लो भाग खस्न सक्ने स्थानीय बासिन्दा प्रेमबहादुर श्रेष्ठ बताउछन्। भारतको आग्रामा राजा शाह जहाँले आफ्नी रानी मुमताजको स्मृतिमा बनाएको ताजमहलकै प्रतिरुप हेर्न धेरै भारतीय शरद ऋतुमा यहाँ आउँछन् । “रानीमहल दरबारको वरिपरिबाट पहिरो खसिसकेका छन्, सडकमाथिको पहिरो खस्दा रानीमहल समस्यामा पर्न सक्ने छ । पहिरो पहिला झैँ रानीघाटलाई छलेर दायाँबायाँबाट गयो भने रानीघाट जोगिन सक्छ, नत्र रानीमहल सङ्कटमा पर्न सक्छ” उनको अनुमान छ । सडक विस्तारका क्रममा रानीमहलमाथिको सडक कोप्रो पारिएकाले जतिबेला पनि त्यो थुम्को खस्न सक्ने देखिन्छ । सडक विस्तारका क्रममा जथाभाबी माटो फालेपछि खोलाले बगाएको माटोले समेत रानीघाट क्षेत्रको शोभा गुमाउन सहयोग गरेको स्थानीय बासिन्दा ताराबहादुर साठ्ठीघरेले बताए । करिडोरको सडकको माथिल्लो भागबाट पहिरो खसेपछि रानीमहलको सडकसमेत बगाउँदा मान्छे हिँड्नसमेत समस्या भएको छ । विश्वमै विरलै बहने उत्तर बाहिनी नदीका रुपमा रहेको कालीगण्डकी नदी भएकाले समेत यस क्षेत्रको महत्व अझै रहे पनि रानीमहलको अस्तित्व जोगाउन नसकेकामा पाल्पाको पर्यटन व्यवसायलाई समेत असर पर्नेछ । ताजमहल दरबार क्षेत्रमा घोडा बाँधिने तबेला, सैनिकले पहरा दिने स्थान, सैनिक तैनाथीस्थल आदि भग्नावशेष मर्मत भएका छन् । खड्गशम्शेर नुहाउनका लागि जाने कालीगण्डकी किनारसँगै जोडिएको फलामको बार भएको बाटोको नमुना पर्यटकले हेर्नलायक सम्पदाका रुपमा रहेको छ । ताजमहल दरबारको पूर्वतर्फको भागमा खड्गशम्शेरले पूजा गर्ने पूजाकोठाको नमुना मात्र छ । तीनतले दरबारमा माथिल्लो तला बैठक कोठा र बीचमा खड्गशम्शेरका कोठीहरुले राणाकालीन कला संस्कृतिको बेजोड नमुनाको प्रस्तुत गर्छन् । दरबारको बायाँतर्फ शीतलपाटी र फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुई पोखरी छन् । तेस्रो तहमा दाहिनेतर्फ पाले पहरा बस्ने गृह छ भने खुड्किलाको बायाँतर्फ एकै किसिमका शिवजी र गङ्गाको दुई मन्दिरले धार्मिक पर्यटक आकर्षित हुँदै आएका छन् । युवा पुस्ताले ताजमहललाई प्रेमको प्रतीकका रुपमा लिन्छन् । प्रणय दिवसका अवसरमा यस क्षेत्रमा हजारौँ युवा प्रेमको प्रस्ताव राख्ने गर्छन् । युवा पुस्ता ताजमहलप्रति निकै आकर्षित हुँदै आएको स्थानीयवासी ताराबहादुर श्रेष्ठले बताए । रासस