लुम्बिनी अञ्चल अस्पतालमा एनआइसियु सुरु, दैनिक ८ नवजात शिशुले संघन उपचार पाउने
रुपन्देही, १९ कात्तिक । लुम्बिनी अञ्चल अस्पालतामा नवजात शिशु सघन उपचार कक्ष (एनआइसियु) बाट सेवा सुरु भएको छ । उक्त कक्षमा उमेर नपुगेर जन्मेका नवजात शिशु, जन्मनेबित्तिकै सास फेर्न नसकेका, कमलपित्त भएका र जटिल सङ्क्रमण भएका शिशुको उपचार हुन्छ । एनआइसियु सञ्चालनमा आएपछि नवजात शिशुको मृत्युदर घट्ने, तिनलाई काठमाडौँ र भरतपुर रिफर गनुपर्ने अवस्थाको अन्त्य हुने तथा अस्पतालमा सुत्केरी गराउनेको सङ्ख्या वृद्धि हुने बताइएको छ । अञ्चल अस्पतालमा दैनिक ३० देखि ३५ नवजात शिशुको जन्म हुन्छ । ती मध्ये आठदेखि १० शिशु एनआइसियुमा उपचार गनुपर्ने अवस्थाका हुन्छन् । अब तिनीहरुको अञ्चल अस्पतालमै उपचार हुने भएको छ । एनआइसियु सेवाका लागि आठ श्यया छन् । यस क्षेत्रको सिद्धार्थ महिला तथा बाल अस्पतालमा दुई श्ययाको एनआइसियु सेवा छ । एनआइसियुका लागि अस्पतालले पाँच मेडिकल अफिसर र बालरोग विशेषज्ञ, १२ स्टाफ नर्स र अन्य पाँच कर्मचारी थप गरिएको छ । एनआइसियु सेवा नहुँदा कतिपय महिलाले अस्पतालको सेवा नै नलिई बाहिरबाट सेवा लिनुपर्नेमा एनआइसियुपछि अस्पतालमा सुत्केरी हुनेको सङ्ख्या बढ्ने बताइएको छ । विसं १९६७ मा सुरु भएको यस क्षेत्रको जेठो सरकारी अस्पतालको एनआइसियुको आज स्वास्थ्यमन्त्री गगनकुमार थापाले उद्घाटन गर्दै नागरिक स्वास्थ्य सेवालाई प्रत्याभूत गर्न नागरिक स्वास्थ्य बिमा नीति लागू गर्नका लागि सरकार कटिबद्ध रहेको बताए । उनले नागरिकलाई सरकारी अस्पतालमा नभएर निजी चिकित्सालयमा जानका लागि बाध्य पार्ने वातावरण अन्त्य गर्नका लागि सरकारी अस्पतालमा उपकरण र सेवा दुवैमा ध्यान दिनुपर्ने बताए । मन्त्री थापाले निजी अस्पतालले १० प्रतिशत श्यया निःशुल्क रुपमा गरिबलाई दिने सम्झौता गरेकाले त्यसको कार्यान्वयनका लागि मातहतका निकायलाई निर्देशन दिँदै त्यसो नगरिए उनीहरुको अस्पताल नवीकरण नगरिने चेतावनी दिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विकास देवकोटाले स्वास्थ्य विभाग र अस्पतालको रु एक करोड लगानीमा विभिन्न उपकरण खरिद गरी उक्त सेवा सञ्चालनमा आएको जानकारी दिँदै उक्त सेवा निजी अस्पताल सेवाका तुलनामा धेरै सस्तो र स्तरीय हुने बताए । अस्पताल विकास समितिका अध्यक्ष डा प्राश्चित श्रेष्ठले एनआइसियु नवजात शिशुका लागि अति आवश्यक सेवा रहेकाले यो सेवा ससञ्चालनमा आएपछि यस क्षेत्रमा खुशी छाएको बताए । रासस
उच्चस्तरीय स्वास्थ्य नीति समन्वय समिति गठन, समितिको अध्यक्ष मन्त्री आफै
काठमाडौँ, १९ कात्तिक । सङ्घीय नेपालमा स्वास्थ्य सेवा र संरचना कस्तो हुने भन्ने विषयमा खाका तयार गर्न स्वास्थ्यमन्त्री गगनकुमार थापाले उच्चस्तरीय स्वास्थ्य नीति तथा पुनःसंरचना समन्वय समिति गठन गरेका छन् । आफूले बनाएको समितिको अध्यक्ष पदमा भने आफै बसे बसेका छन् । मन्त्री थापाले बिहीबार स्वास्थ्य, कानुन, सङ्घीयता र पुनःसंरचना क्षेत्रका विज्ञ रहेको १३ सदस्यीय समिति गठन गरेका हुन् । समितिले दुई महिनाभित्र स्वास्थ्य मन्त्रालयको संरचना कस्तो हुने, विद्यमान स्वास्थ्य कानुन समयानुकूल बनाउन केके गर्ने र संविधानमा उल्लेखित स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाका रुपमा विस्तार गर्न कसरी अगाडि बढ्नेलगायतका विषयमा अध्ययन, अनुसन्धान र सम्बन्धित क्षेत्रका विज्ञसँग छलफल गरी खाका तयार गर्ने मन्त्री थापाले जानकारी दिए । मन्त्रालयको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख विशेषज्ञ डा पदमबहादुर चन्द सदस्य सचिव रहेको सो समितिमा पूर्वस्वास्थ्य सचिव डा प्रवीण मिश्र, वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशकद्वय डा लक्ष्मीराज पाठक र डा यशोवद्र्धन प्रधान, जनस्वास्थ्य विज्ञ डा रिता थापा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठनका पूर्वउपकुलपति डा अर्जुन कार्की, वरिष्ठ सर्जन डा सरोज धिताल, आयुर्वेद विज्ञ डा चन्द्रराज सापकोटा, कर विज्ञ डा रुप खड्का, कानुनविद् डा रमेश बडाल र पुनःसंरचना विज्ञ त्रिलोचन पोखरेल सदस्य रहेका छन् । यही कात्तिक २३ गते बस्ने समितिको पहिलो बैठकले कार्यतालिका बनाई काम अगाडि बढाउने बताइएको छ । मुलुकको समग्र पुनःसंरचनाको प्रक्रिया चलिरहेका बेला स्वास्थ्य क्षेत्रको नीतिगत, संरचनागत र सेवा प्रवाहको प्रणालीमा सुधार गर्न समिति गठन गरिएको स्वास्थ्यमन्त्री थापाले बताएका छन् । उनले खाका बनाउँदा सङ्घीयतालाई मुख्य आधार बनाइने जानकारी दिए । रासस
दाँत किराले खाएर हैरान हुनु भयो ? अपनाउनुस यी ४ घरेलु उपाय
काठमाडौं, १९ कात्तिक । आम नेपालीका लागि दाँत किराले खानु सामान्य जस्तै भैसकेको छ । नियमित ब्रस नगर्नाले अन्नका स साना कणहरु दाँतका किनारामा बस्छन जसमा किराले संक्रमण गरेपछि दाँतमा पनि किरा लाग्छ । यसरी दाँतमा लागेको किराको दुखाई एकदमै पीडादायक हुन्छ । यदि तपाईंको दाँतमा पनि किरा लागेको छ वा अत्याधिक दुखाई महशुस हुन्छ भने यी घरेलु उपायहरु अपनाएर त्यसबाट छुटकारा पाउन सक्नुहुन्छ । १) पिसेको धुलो बेसार र नुनलाई तोरीको तेलमा मिलाउनुस् । मञ्जनजस्तै हिलो बनेको यो मिश्रणले दैनिक दुई–तीन पटक दाँत माझ्दा गर्दा वा यसले ब्रस गर्दा दाँतको किरा मर्दछ । २) किराले खाएर खोक्रो बनेको भागमा कपासलाई ल्वाङको तेलमा भिजाएर राख्नुस् । यसो गर्दा दाँतमा लागेको किरा मर्दछ । ३) तातो पानीमा फिटकिरी घोलेर बिहान–बेलुका मुख कुल्ला गर्दा दाँतको किरा मर्नुका साथै गन्ध पनि हराएर जान्छ । ४) किरा लागेको दाँतमा बरको चोप लागाउँदा किरा मर्नुका साथै दुखाई पनि कम हुन्छ ।