औद्योगिक ‘हब’ बन्दै झापाको मेचीनगर
भद्रपुर । व्यापारिक नाकाको रूपमा परिचित झापाको मेचीनगर केही वर्षयता औद्योगिक नगरको रूपमा विकसित हुन थालेको छ । यातायात र बैंकिङ सुविधा, कच्चा पदार्थको आयातको सहजता र सुरक्षित लगानीको वातावरणले मेचीनगरको ज्यामिरगढी र दुहागढी क्षेत्रमा करोडौं लगानीका नयाँ उद्योगहरू स्थापना भएका छन् । उद्योगहरू स्थापना भएसँगै स्थानीयले रोजगारी पाउने क्रम र व्यापारिक चहलपहल बढेको छ । मेचीनगर वडा नं. १३ दुहागढीमा मनषा थाईफुड्स प्रालिले तयारी चाउचाउको उत्पादन शुरु गरेको छ । रु दुई सय करोड लगानीमा खुलेको यो उद्योगमा ५० जनाभन्दा बढी स्थानीयले प्रत्यक्ष रोजगारीको अवसर पाएको सञ्चालक बुद्धि घिमिरे बताउँछन् । नगरमा दर्जनभन्दा बढी प्लाईउडका कारखाना सञ्चालनमा छन् । कर्मचारी र कामदार गरी हरेक प्लाइउड कारखानामा सयौँले रोजगारी पाएका छन् । सञ्जीवनी, सिद्धार्थ लगायतका प्लाइउड कारखाना ठूलो लगानीमा खुलेका हुन् । पूर्वमै सबैभन्दा बढी सिमेन्ट उद्योग मेचीनगरमै सञ्चालनमा रहेका छन् । हिमालयाज, सनराइज, मेगा र गोरखकाली उद्योगबाट उत्पादित गुणस्तरीय सिमेन्टले प्रदेश नं. १ को ठूलो माग धान्दै आएको छ । सिमेन्ट उद्योगहरूमा करिब पाँच सयले प्रत्यक्ष रोजगारी पाएका छन् । कतिपय प्राविधिक कामदार भारतबाट आउने गरे तापनि पछिल्लो समयमा उद्योगहरूले स्वदेशी कामदारलाई नै प्राथमिकता दिने गरेका छन् । सनराइज र हिमालयाज सिमेन्ट उद्योगका महाप्रबन्धक अमित पोद्दारका अनुसार सनराइजले वार्षिक डेढ लाख र हिमालयाजले ७५ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । ती दुबै उद्योगमा १६० स्वदेशी कामदारले प्रत्यक्ष रोजगारी पाएका छन् । यसैगरी, पशु र पक्षीको आहाराको रूपमा दाना उत्पादन गर्ने उद्योगहरू पनि मेचीनगरमा खुल्ने क्रम बढेको छ । भ्याली एग्रो फिड्स प्रालि नामक दाना उद्योग मेचीनगर–१३ मा रु. ४५ करोडको लगानीमा तीन महिना अघि स्थापना भएर आफ्नो उत्पादनलाई बजारमा पुर्याउन थालिसकेको छ । उक्त उद्योगले कुखुरापालन गर्नुका साथै अण्डा र चल्ला उत्पादन समेत गर्दै आएको छ । उद्योगका सञ्चालक सुबोध निरौलाले गाईभैँसी, सुँगुरबङ्गुर र कुखुराका लागि आवश्यक पर्ने दाना प्रति घण्टा १० मेट्रिक टनका दरले उत्पादन भइरहेको जानकारी दिए । कुखुराको अण्डा र मासुमा नेपाल आत्मनिर्भर भइसकेको हुँदा भारतबाट कुखुरा र अण्डाको अवैध आयात रोक्न सबै लाग्नुपर्ने उनको भनाइ छ । मेचीनगर–१० मा दैनिक पाँच हजार जोडा जुत्ता उत्पादन गर्ने क्षमता भएको एसियन फुटवेयर प्रालि नामक कारखाना भर्खरै खुलेको छ । प्रालिका अध्यक्ष छवि पौडेलले रु. १० करोड लगानीमा उद्योग स्थापना गरिएको र ७५ जना स्थानीय कामदारले प्रत्यक्ष रोजगारी पाइरहेको जानकारी दिएका छन् । सुरक्षित लगानीको वातावरण बनेपछि मेचीनगरमा उद्योगी व्यवसायीहरू आकर्षित भइरहेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिना बताउँछन् । उनका अनुसार भारतबाट कच्चा पदार्थ आयात गर्न भन्सार विन्दु नजिक हुनु र मुलुकभित्र लगानी सुरक्षाको वातावरण सिर्जना हुनुले मेचीनगर औद्योगिक ‘हब’को रूपमा विकसित भइरहेको छ । मेची उद्योग वाणिज्य सङ्घमा आर्थिक वर्ष २०७५/०७६ मा ३८४ वटा व्यावसायिक फर्म थपिएको तिम्सिनाले जानकारी दिए । उनले नगरमा चाउचाउ, जुस, पानी, दाना, जुत्ता चप्पल, लुब्रिकेन्ट्स उद्योगहरू धमाधम खुल्ने क्रममा रहेको बताएका हुन् । त्यस्तैगरी, मेचीनगर भारत, भूटान र बङ्गलादेशसँग प्रत्यक्ष व्यापारिक सम्बन्ध भएको व्यापारिक नाका भएकोले यहाँ पाँचतारे होटल र क्यासिनो खुल्ने क्रम चलिरहेको छ । मेचीनगर–७ मा मेची क्राउन नामक पाँचतारे होटलको निर्माण अन्तिम चरणमा रहेको छ । काँकरभिट्टा, धुलाबारी, चारआली लगायतका बजारमा सनराइज, कन्काई, एक्सेल, प्रभु, एनआइसी एसिया, माछापुच्छे सिद्घाथर्, ग्लोबल आइएमई लगायतका बैङ्कका शाखा छन् । बैंकहरूले उद्योगमा लगानी प्रवर्धन गरिरहेका छन् । रासस
प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुला, कहिले खुलाउला विज्ञापन ?
काठमाडौँ । प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश लोकसेवासम्बन्धी विधेयकसभाबाट सर्वसम्मतिले पारित भएसँगै कर्मचारी भर्ना गर्ने बाटो खुलेको हो । पारित भएको विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि प्रदेश सरकार अब लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्नसक्ने छन् । सरकार गठन भएदेखि नै मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी अभावको कारण सरकारले प्रभावकारी रुपले काम गर्न नसकेको गुनासो गर्दै आउनुभएकोमा विधेयक पारित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै भने, “अब प्रदेश नं २ सरकारले आफ्नै कर्मचारी भर्ना गरेर सरकार सञ्चालन सहज र प्रभावकारी बनाउने छ ।” मुख्यमन्त्री राउतले भने, “लोकसेवा आयोगको विधेयक पारित भएपछि प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । यसअघि प्रदेश सरकारले प्रहरी विधेयक पारित गरे पनि लोकसेवा आयोग नभएका कारण प्रहरी भर्ना गर्न सकेको थिएन । अब विधेयक प्रमाणीकरणलगत्तै लोकसेवा आयोग गठन प्रक्रिया अगाडि बढाइन्छ ।” त्यसैगरी प्रदेश नं २ को प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गरेको बालबालिकाको हकअधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था व्यवस्था गर्न बनेको विधेयक २०७५ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइएको छ । त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले पेश गरेका प्रदेश नं २ को वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रदेशसभामा टेबलसमेत गरिएको छ । प्रदेशसभाको अर्को बैठक बिहीबार दिनको ३ बजे बस्ने भएको छ ।
नागरिक उड्डयन प्राधिकरणमा १४० जनालाई जागिरको अवसर, ९ देखि ४ तहसम्मका कर्मचारी माग
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा १४० जना कर्मचारी माग गरेको छ । ९ तहदेखि ४ तहसम्म रिक्त रहेका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको प्राधिकरणले जनाएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले साउन १९ गतेदेखि २१ दिन भित्र अनलाइन फारम भर्न सक्नेछन् । विभिन्न सेवा समूहमा प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदमा कर्मचारी माग भएको छ । आर्थिक प्रशासन, एयरवर्दिनेश, एयर ट्राफिक सर्भिस, सिभिल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, सूचना प्रविध, एभियशन फायर सर्भिसेज, फ्लाइटल अपरशन सर्भिसेज, इ.एण्ड टे. कम इञ्जिनियरिङ समूहमा कर्मचारी माग भएको हो । आवेदकले आवश्यक कागजात/प्रमाण पत्रका साथमा तह ९ का लागि ९ सय, तह ८ का लागि ८ सय, तह ७ का लागि ७ सय, तह ६ का लागि ६ सय, तह ५ का लागि ५ सय र तह ४ का लागि ४ सय रुपैयाँ दस्तुत बुझाउनु पर्नेछ ।