नलगाड हाइड्रोपावरमा डिपिआरको काम गर्ने मजदुरले पाएनन् ज्याला

जाजरकोट । नलगाड हाइड्रोपावर कम्पनीको विस्तृत योजना प्रतिवेदन (डिपिआर)को काम गर्न खटिएका मजदुरले ज्याला पाएका छैनन् । बाँधस्थल बारेकोट गाउँपालिका–८ अधेरीखोला र विद्युत्गृहस्थल नलगाड नगरपालिका–७ मा काम गर्ने मजदुरले काम गरेको रकम नपाएका हुन् । निर्माण कम्पनीले रु सात लाखभन्दा बढी रकम मजदुरलाई भुक्तानी दिन बाँकी रहेको उनीहरुले बताएका छन् । दुई महिनादेखि रकम नभएको खाली चेक दिएर ढाँटीरहेको मजदुर नलगाड नगरपालिका–५ का शेरबहादुर सिंहले बताएका छन् । कम्तीमा पनि एक मजदुरको रु ७० हजारभन्दा बढी रकम निर्माण कम्पनीले भुक्तानी गर्न बाँकी रहेको छ । ३० महिनामा सम्पन्न गर्ने शर्तसहित अष्ट्रेलियाको स्मेक, अमेरिकाको एमडब्लुएच र नेपालको उदय कन्सल्ट प्रा.लि जेभीले डिपिआर गर्न नलगाड जलविद्युत् आयोजनासँग सम्झौता गरेका थिए । ती कम्पनीबाट अर्को निर्माण व्यवसायी वसन्त डिसीले अहिले कामको जिम्मेवारी लिएर गरिरहेका छन् । कम्पनीले ड्रिलिङकार्य ९० प्रतिशत पूरा गरेर जलविज्ञान मापन आँकलन, भूकम्प सर्भे, पावर अटिमाइजेसन, फिल्ड सर्भेलगायत अध्ययनको काम गरिरहेको आयोजनाका इञ्जिनीयर पदम थापाले बताएका छन् । कन्ट्रक्सनका वसन्त डिसीले यहाँ काम गर्ने मजदुरलाई पटक–पटक खाली चेक दिएर झुक्याउने गरेको अर्का बारेकोट गाउँपालिका–८ अधेरीखोलाका मोहन सिंहले जानकारी दिए । मजदुर शेरबहादुर सिंहका अनुसार आफूलाई मात्र तीनपटक खाली चेक उपलब्ध गराएको तर बैंक जाँदा रकम नभएपछि तीनपटकसम्म चेक फर्किएको छ । उनले भने, “हामी १४ भन्दा बढी मदजुरको झण्डै रु छ लाख लिन बाँकी छ, सधैँ पैसा माग्दा चेक हात पार्छन्, तर बैंक जाँदा पैसा हुँदैन, खाली हात आउनुपरेको छ”, त्यस्तै स्थानीय मोहन सिंहले मङ्सिरदेखि अहिलेसम्म घरको भाडा नपाएको बताएका छन् । यस भन्दा अगाडि (पुस महिनामा) मजदुरले तुरुन्तै रकम पाउनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएपछि नलगाड नगरपालिकाको न्यायिक समितिले दुई महिनाभित्र उपलब्ध गराउने दुवै पक्षबीच सहमति गराएको थियो । वसन्त डिसीलाई मजदुरको रकम नदिएर पटक–पटक खाली चेक दिनुको कारणबारे बुझ्न खोज्दा फोन नउठाएका कारण प्रतिक्रिया लिन सकिएन । रासस

वैदेशिक रोजगार नियमावली संशोधन, ‘पुनःश्रम स्वीकृति लिन अब नेपाल आउनै पर्दैन’

काठमाडौँ । पछिल्लो समय वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन तल्लीन देखिएको सरकारले वैदेशिक रोजगारसँग सम्बन्धित ऐन, कानूनलाई कामदारमैत्री बनाउँदै लगेको छ । यसअघिका कानून कामदारभन्दा पनि म्यानपावर व्यवसायी अनुकूलका रहेको भन्दै चर्को आलोचना हुँदै आएको थियो । सरकारले गत वर्ष मात्रै म्यानपावर व्यवसायीलाई व्यावसायिक आचरणप्रति जिम्मेवार बनाउन वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गरेको थियो । वैदेशिक रोजगारीमा जाने कामदारलाई बढीभन्दा बढी सेवा, सुविधा, सहुलियत प्रदान गर्दै कामदारको भावना सम्बोधन गर्न सरकारले गत साता मात्र वैदेशिक रोजगार नियमावली, २०६४ लाई संशोधन गरी कामदारमैत्री बनाएको छ । नियमावलीको पाँचौँ संशोधनले गन्तव्य मुलुकबाटै पुनः श्रम स्वीकृति प्रदानदेखि कामदारले प्राप्त गर्ने राहतका लागि स्थानीय तहबाटै निवेदन दिन सकिने व्यवस्था गरिएको छ । अबदेखि गन्तव्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगले एकपटकमा बढीका लागि दुई वर्षका लागि पुनःश्रम स्वीकृति जारी गर्नेछ । यस व्यवस्थासँगै विदेशमा रहेका थुप्रै नेपाली युवाले ठूलो राहत पाउनेछन् । यसअघि श्रम स्वीकृतिको अवधि सकिएपछि पुनःश्रम स्वीकृतिका लागि नेपाल नै आउनुपर्ने अवस्था थियो । जसले गर्दा कामदारले नेपाल आउँदा र जाँदाको सम्पूर्ण व्ययभार आफैँले व्यहोर्नु पथ्र्यो । नियमावलीको संशोधनसँगै पुनःश्रम स्वीकृति लिने युवाले श्रम स्वीकृति, राहदानी, अघिल्लो पटक र त्यसबखत प्राप्त गरेको प्रवेशाज्ञाको प्रतिलिपिसहित निवेदन दिनुपर्नेछ । त्यस्तै प्रवेशाज्ञाको अवधि बाँकी छँदै सम्बन्धित मुलुकको प्रचलित कानूनबमोजिम रोजगारदाता परिवर्तन भएमा नयाँ रोजगारदातासँग गरेको करारको प्रतिलिपी, करार अवधि समेट्ने गरी म्यादी जीवन बीमा, वैदेशिक रोजगार कल्याणकारी कोषमा कल्याणकारी रकम दाखिला गरेको प्रमाण पेश गर्नुपर्नेछ । यसैगरी श्रम स्वीकृति लिइ गएका कामदारको करार अवधिभित्र वा करार समाप्त भएको एक वर्षभित्र जुनसुकै कारणबाट मृत्यु भएमा आर्थिक सहायता पाउने व्यवस्था गरिएको छ । त्यस्तै सोही अवधिभित्र अङ्गभङ्ग भएमा वा गम्भीर बिरामी भएमा पनि सहायता पाउने व्यवस्था गरिएको छ । संशोधित नियमावलीले आर्थिक सहायताका लागि स्थानीय तहबाटै निवेदन दिन सकिने बाटो खोलेको छ । यसअघि कुनै पनि आर्थिक सहायताका लागि काठमाडौँमा वैदेशिक रोजगार बोर्डमा आउनुपर्ने अवस्था थियो । आर्थिक सहायताका लागि राजधानी आउनुपर्दा कामदार तथा उनका परिवारले थप व्ययभार व्यहोर्नुपर्ने अवस्था थियो । आर्थिक सहायताका लागि परेको निवेदन सम्बन्धित स्थानीय तहले सात दिनभित्र बोर्डमा पठाउनुपर्ने छ । गतल स्वास्थ्य परीक्षणबाट फर्कन बाध्य भएका कामदारले वैदेशिक रोजगारीमा जाँदा र आउँदा लागेको खर्च फिर्ता लिन ९० दिनभित्र श्रम मन्त्रालय, विभाग, बोर्ड वा रोजगार कार्यालयमा आवेदन दिन सक्नेछन् । यसअघि ३५ दिनभित्र मन्त्रालयमा मात्र आवेदन दिनसक्ने व्यवस्था थियो । जसले गर्दा गलत स्वास्थ्य परीक्षणका कारण विदेशबाट फर्कन बाध्य युवाले छोटो समयावधिका कारण खर्च फिर्ताका लागि निवेदन दिन सकस पाउने गरेका थिए । त्यस्तै खर्च फिर्तका लागि मन्त्रालयनै धाउनुपर्ने थियो । धरौटीको ७५ प्रतिशत व्याज कोषमा म्यानपावर व्यवसायीले राखेको धरौटी रकममध्ये ९० प्रतिशत रकम वैदेशिक रोजगार विभागले ‘क’ वर्गको वाणिज्य बैंकमा मुद्दतीमा राख्ने व्यवस्था संशोधित नियमावलीमा थपिएको छ । मुद्दती खाताबाट प्राप्त व्याजको ७५ प्रतिशत रकम वैदेशिक रोजगार कल्याणकारी कोषमा राख्नुपर्ने छ । त्यस्तै मुद्दती खातामा जम्मा गरेको रकमबाट प्राप्त व्याजको २५ प्रतिशत रकम विभागले वैदेशिक रोजगार व्यवसायको नाममा खाता खोजी जम्मा गर्नुपर्न व्यवस्था गरिएको छ । सो कोषमा जम्मा हुने रकम म्यानपावर क्षमता अभिवृद्धि तथा कल्याणकारी कार्य वा वैदेशिक रोजगारसम्बन्धी अध्ययन अनुसन्धानमा खर्च गर्न सकिने छ । सरकारले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गरी वार्षिक तीन हजारसम्म कामदार पठाउने म्यानपावरले धरौटीबापत रु ५० लाख नगदै र रु एक करोड ५० लाखको बैंक ग्यारेन्टी पेश गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै वार्षिक तीनदेखि पाँच हजारसम्म कामदार पठाउने म्यानपावरले धरौटीबापत रु एक करोड नगद र रु तीन करोडको बैंक ग्यारेन्टी तथा वार्षिक पाँच हजारभन्दा बढी कामदार पठाउने म्यानपावरले धरौटीबापत रु दुई करोड नगद र रु चार करोड बैंक ग्यारेन्टी राख्नुपर्नेछ । संशोधित नियमावलीमा वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखीकरण तालीम प्रदान गर्ने संस्थाको धरौटी वृद्धि गरिएको छ । अभिमुखीकरण संस्थाको धरौटी रु एक लाखबाट बढाएर रु पाँच लाख पुर्याइएको छ । यस्तै वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाको धरौटी रु तीन लाखबाट वृद्धि गरेर रु पाँच लाख पुर्याइएको छ । रासस

अब विदेश जाने दिनको अन्त्य, बेरोजगारलाई गाउँमै रोजगारी

जुम्ला । जिल्लाको रास्कोट नगरपालिकाले श्रम रोजगार बैंक स्थापना गरेपछि रोजगारीका लागि भारत जाने यहाँका बासिन्दा गाउँमै रोजगारी पाउन थालेका छन् । नगरपालिकाले बेरोजगारलाई गाउँमा नै रोजगारी दिने उद्देश्यले श्रम रोजगार बैंक स्थापना गरेर रोजगारका अवसर उपलब्ध गराएकाले भारत जानेहरु गाउँमा रोजगार बन्न थालेका हुन् । नगरपालिकाले गाउँमै उक्त बैंक स्थापना गरेपछि भारतमा रोजगारी गर्ने दिनको अन्त्य भएको वडा नं–२ का चन्द्र सिम्खडाले बताएका छन् । “म १२ वर्षको उमेरदेखि भारतको नैनीतालमा मजदूरी गर्दै आएको थिए”, उनले भने, “भारतमा गएर काम गर्दा धेरै दुःख हुन्थ्यो । जति काम गरे पनि घरमा आउँदा परिवारका लागि लुगाफाटो पुर्याउन पनि मुस्किल हुन्थ्यो ।” रोजगारीका लागि मलेसिया पुगेर पाँच वर्षसम्म काम गरेका सोही नगरपालिका–१ का हिक्मत न्यौपानेले गाउँमै रोजगारी पाइएकाले अब मलेसिया नजाने बताए । “पाँच वर्ष मलेसिया बसेँ । मलेसिया बस्दा न पैसा कमाउन सकेँ नत सुख नै पाए”, उनले भन, “अहिले नगरपालिकाले रोजगार बैंकमार्फत काम दिन थालेपछि विदेशमा गरिएको दुःखभन्दा घर नजिकै काम पाउँदा साह्रै खुशी लागेको छ ।” गाउँमै रोजगारी पाउन थालेपछि स्थानीय बेरोजगार पनि खुशी हुन थालेका नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंंह बमले बताए । “अहिले रोजगारीका लागि भारत जानुपर्ने बाध्यता हटेको छ”, उनले भने, “घर नजिकै रोजगारी पाइएको छ । गाउँमा नै काम गरेर स्थानीयवासीहरु रोजगार हुन थालेका छन् ।” नगरपालिकाले बेरोजगारी युवायुवतीहरुलाई रोजगार बनाउने उद्देश्यले स्थापना गरेको श्रम रोजगार बैंकमार्फत २६० ले गाउँमै रोजगारी पाएकाले कामको प्रभावकारितासमेत बढ्दै गएको नगरप्रमुख काशीचन्द्र बराल बताउँछन् । उनले भने, “अझै यो कार्यक्रम प्रभावकारी हुँदै गएमा थपलाई रोजगारी दिन नयाँ कार्यक्रम ल्याउने योजना छ ।” उक्त बैंकमार्फत गाउँको विकासका लागि ग्रामीण सडक, धारा, पुलपुलेसा, पोखरी निर्माण गरेर विकाससँगै रोजगार हुन थालेको उक्त बैंकका अध्यक्ष पदमबहादुर खड्काले बताए । “हामीले श्रम रोजगार बैंक स्थापना गर्दा धेरैले हाँसोका रुपमा लिए”, उनले भने, “अहिले गाउँमै रोजगारी हुँदा धेरै मानिस खुशी भएका छन् ।” रासस