विजय लघुवित्तले माग्यो कर्मचारी, साउन १८ गतेभित्र आवेदन दिनुपर्ने
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले अधिकृत छैठौं र सहायक तेस्रो तहका लागि कर्मचारी मागेको हो । लघुवित्तले बुधबार एक सूचना प्रकाशन गरी कनिष्ठ अधिकृत प्रशासन विभागका लागि १ जना र कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि केही कर्मचारी मागेको हो । अधिकृत छैठौं पदका लागि व्यवस्थापन विषयमा स्नातक तह वा सा सरहको परिक्षा उतिर्ण गरेको वा स्नातकोत्तर तह उतिर्ण गरेको वा बैंक तथा वित्तीय संस्था वा कुनै संगठित संस्थामा अधिकृत स्तरमा २ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । त्यस्तै, सहायक तेस्रो तहका लागि भने कम्तिमा एसईई वा एसएलसी तथा सो सरहको परिक्षा उतिर्ण गरेको गरेको हुनुपर्ने अथवा प्लस टु उतिर्ण गरेको हुनुपर्नेछ । इच्छुक आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र लघुवित्तको वेभसाइटमा गएर सूचना प्रकाशन भएको १५ दिन अर्थात् साउन १८ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग गरेको छ । बन्दीपुर अस्पतालमा विगत लामो समयदेखि मेडिकल सुपरिटेण्डेन्ट पद रिक्त रहेको साथै स्थायी दरबन्दीमा रहेका मेडिकल अधिकृत (आठौँ तह) दुवै अध्ययनमा रहेकाले गाउँपालिकाले मन्त्रालयसँग चिकित्सक माग गरेको हो । अस्पतालमा हाल करारमा कार्यरत चिकित्सकहरूको पनि सेवा समाप्त हुने अवधि नजिक रहेकाले दैनिक स्वास्थ्य सेवा प्रवाहमा अप्ठ्यारो परेको गाउँपालिकाका अध्यक्ष अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । ‘अस्पतालमा चिकित्सक अभाव र स्वास्थ्य सेवा प्रवाहमै समस्या आउने भएपछि स्वास्थ्य सचिवलाई भेटी चिकित्सकको माग गरेका हौँ’, उनले भने । अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टसहित छ मेडिकल अधिकृतको दरबन्दी रहेकामा अस्पताल लामो समयदेखि मेडिकल सुपरिटेण्डेन्टविहीन छ । दुई जना मेडिकल अधिकृत छात्रवृत्तिमा अध्ययनका लागि बिदामा छन् । हाल तीन मेडिकल अधिकृत कार्यरत छन् । छात्रवृत्तिका लागि गएका दुई चिकित्सकको दरबन्दी प्रदेशमा स्थानान्तरण गरी दुई चिकित्सक नियुक्तिका लागि मन्त्रालयसँग अनुरोध गरिएको अस्पताल व्यवस्थापन समितिका थापाले बताए । ‘अस्पतालबाट सबै विवरणसहित पत्र लेखेर मन्त्रालयमा पठाएपछि उनीहरूलाई प्रदेशमा स्थानान्तरणका लागि सहयोग गर्ने स्वास्थ्य सचिवबाट प्रतिबद्धता आएको छ, त्यसपछि त्यस ठाउँमा अर्को चिकित्सक नियुक्ति हुनेछ’, उनले भने । विसं २०२२ मा स्थापना भएको बन्दीपुर अस्पतालका भवन जीर्ण भएकाले भवन निर्माणका लागि बजेट विनियोजन गरिदिन पनि मन्त्रालयसँग माग गरिएको छ । विसं २०७२ को भूकम्पका कारण पनि भवनमा थप क्षति भएकाले सेवा प्रवाहका कठिनाइ भएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । ‘स्थापनाकालदेखि निर्मित भवनबाट नै हालसम्म सेवा सञ्चालन भइरहेको र भवन जीर्ण भइसकेको अवस्था छ, नयाँ भवन निर्माण गर्नुपर्ने आवश्यकता छ’, उनले भने । यस्तै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रसँग क्षयरोगी पहिचानका लागि जेनेक्सपर्ट उपकरण माग गरिएको छ । बन्दीपुर अस्पतालमा क्षयरोगीको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको र बन्दीपुरमै डिआर होम सञ्चालनमा रहेकाले क्षयरोगी पहिचानका लागि उक्त उपकरण आवश्यक भएको जनाइएको छ । बन्दीपुर अस्पतालमा तनहुँका अतिरिक्त गोरखा, लमजुङबाट पनि क्षयरोगी उपचारका लागि आउने गरेका छन् । रासस
राम्रो देश पठाइदिन्छु भन्दै ठग्ने चितवनका श्रीकृष्ण पक्राउ, ६ वर्ष जेल सजायसहित ६ लाख जरिवाना
काठमाडौं । वैदेशिक रोजगार कसुर मुद्दामा फरार प्रतिवादी चितवन बस्ने ४६ वर्षीया श्रीकृष्ण घिसिङ तामाङ पक्राउ परेका छन् । तामाङलाई सर्वोच्च अदालतले २०७७ साल चैत १७ गते वैदेशिक रोजगार ठगी मुद्दामा ६ वर्ष जेल र ६ लाख रुपैयाँ जरिवाना सुनाएको थियो । तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिहीबार काठमाडौंको कलंकीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । ब्युरोका अनुसार फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उनलाइ पेस गरिएको छ । वैदेशिक रोजगार संचालन गर्ने अनुमति नै नपाएका उनले राम्रो पारिश्रमिक हुने भनी इजरायल जापान लगायतका वैदेशिक मुलुकमा पठाइदिने प्रलोभनमा पारेर पीडितहरुसँग ठगी गरेको कसुरमा उक्त सजाय भएको व्युरोले जनाएको छ ।