अटो चलाएर स्वरोजगार बन्दै विरेन्द्ननगरका महिला, मासिक ६० हजारसम्म कमाइ

वीरेन्द्रनगर । वीरेन्द्रनगरकी सिर्जना गुरुङले साँझ बिहान पेटभर खान पाइएला भनेर सोचेकी थिइनन् । चौध वर्षकै उमेरमा विवाह बन्धनमा बाधिएकी उनको आर्थिक अवस्था नाजुक रहनाका साथै मजदुरी गरेर ल्याएको पैसाले साँझ बिहानको गुजारा चलाउन समस्या थियो । विगतमा सिर्जनाका दुई छोरा र दुई छोरी सानै भएकाले मजदुरी गर्न जान पनि नसकिने अवस्था थियो । त्यतिबेला कयौँ रात भोकै बस्नुपरेको उनी सुनाउँछिन् । ‘काम गरेको पैसाले कहिले आधा किलो चामल र चाउचाउ किन्थे तर सबैलाई पेटभर खान पुग्थेन’, विगत सुनाउँदै उनी भन्छन्, ‘कहिलेकाहीँ कोही छिमेकीले दिएको खाएर बस्थ्यौँ।’ छोराछोरीलाई भोकै सुताउँनुपर्दा राति सिर्जनालाई निद्रा लाग्दैनथ्यो । श्रीमान्काे सहयोग नभएकाले चार छोराछोरीको पालनपोषण गर्ने जिम्मा उनको काँधमा थपिएको थियो । जीवनमा कहिले घाम त कहिले छाँया भनेझैँ सिर्जनाको जीवनले पनि अर्काे मोड लियो । त्यो हो ‘अटो रिक्सा’ । उनले अटो चलाउन थालेपछि आर्थिक अवस्था सुधार हुँदै आएको छ । ‘अहिले भोकै बस्नुपरेको छैन’, सिर्जना भन्छिन्, ‘अटो चलाएपछि पेटभर खान पाएका छौँ’, उनले दैनिक गुजारा गर्नाका साथै मनग्य आम्दानी गर्न सफल भएकी छिन् । अटो चलाएरै मासिक ३० हजार बढी आम्दानी हुने गरेको सिर्जना बताउँछिन् । सरकारी विद्यालयमा पढाउँदै आएका छोराछोरीहरुलाई अहिले बोडिङ स्कुलमा पढाउने सोच उनले बनाएकी छिन् । उनकाे विद्यालय नगएर बसेकी ठूली छोरी पनि अब विद्यालय जान पाउने भएकी छिन् । वीरेन्द्रनगर–१२ की कल्पना सिंहका श्रीमान्ले दोस्रो बिहे गरे । आफ्ना दुई छोरासहित भाडामा बस्नुभएकी कल्पनालाई श्रीमान्ले सहयोग नगरेपछि समस्यामा परिन् । छोराछोरीसहित उनलाई भने बिहान बेलुकाको छाक टार्नै हम्मेहम्मे थियो । एकदिन उनले नगरपालिकाले अटोरिक्सा चलाउने तालिम दिन लागेको छ भन्नेकुरा गाउँमा सुनिन् । वीरेन्द्रनगर नगरपालिकाले महिलालाई लक्षित गरी एक महिनासम्म अटो रिक्सा चलाउने तालिम दिने कार्यक्रम ल्याएको थियो । कल्पनाले पनि उक्त तालिम लिइन् र त्यसपछि नगरपालिकाबाट अटो किन्न दुई लाख पनि सहयोग पाइन् । दुई लाखमध्ये एक लाख अनुदान हो भने अर्को लाख एक वर्षमा तिर्ने ऋण । अटो चलाउनथालेपछि उनलाई श्रीमान्काे आश गर्नै परेन । ‘रिक्सा चलाउन थालेपछि तीन जनाको मेरो परिवार सजिलै पाल्न सकेकी पालेकी छु,’ उनी भन्छिन् । अटो सिक्ने बेला कल्पनालाई समाजले के भन्ला भन्ने डर लागेको थियो तर अहिले अटो चलाएर मनग्य आम्दानी गर्न थालेपछि टोल–समाजले उल्टै हौसला दिन थालेका छन् । ‘समाजमा मैले अटो चलाउँदा अर्कै सोच्छकी भन्ने लागेको थियो’, उनी भन्छन्, ‘तर सोचेजस्तो छैन, राम्रो गरेकी छाैँ, अझ मेहनत गर्दै जाउ भन्छन् ।’ कल्पनालाई एउटा समस्या भनेको सवारी चालक अनुमतिपत्र नहुँदा समस्या भएको छ । उनी अहिले अनुमतिपत्र निकाल्ने प्रक्रियामा छिन् । ‘ट्रायल कटाउन सक्दिनकी भनेर चिन्ता लाग्छ’, उनी भन्छिन् । कल्पना मात्र होइन, अहिले सुर्खेतका यस्ता अटो रिक्सा चालक महिला धेरै छन् । प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा उपत्यकाभित्रको सार्वजनिक यातायात भनेकै अटो रिक्सा हो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालका अनुसार महिला स्वरोजगार कार्यक्रममार्फत तालिम लिएका १५ जनाले अहिले अटो चलाउँदै आएका छन् । वीरेन्द्रनगरको झुप्रा खोलामा गिट्टी कुट्ने र बालुवा चाल्दै आएकी २८ वर्षीया पवित्रा रावतले अहिले अटो चलाउँदै आएकी छिन् । पहिले मजदुरी गरेर कमाएको पैसाले घरखर्च चलाउन कठिन थियो । उनका श्रीमान्ले पनि मजदुरी काम गर्छन् । दुवैजनाले मजदुरी गरे पनि घरखर्च चलाएर छोराछोरी पढाउन समस्या परेको थियो तर अहिले अटो चलाउन थालेपछि मासिक ५० हजार देखि ६० हजारसम्म आम्दानी हुने गरेको छ । घरखर्च चलाउन सजिलो भएपछि उनका श्रीमान् पनि खुुसी छन् । पहिला सामान्य घरायसी सामान किन्न पनि आँट नगर्ने पवित्रा अहिले जग्गा किन्ने सोचमा छन् । ‘आफू आत्मनिर्भर भएपछि मात्र आँट आउँदो रहेछ’, उनी भन्छन्, ‘अब घरको ऋण सबै तिरिसकेपछि जग्गा किन्ने सोच बनाएकी छु ।’ पवित्राले गाउँको सहकारी संस्थामा बचत पनि गर्न थालेकी छिन् । अटो चलाउँदा थरिथरिका व्यक्तिसँग कुराकानी गर्दै बाटो काट्नु पर्छ । ‘कोही कति पीडामा हुन्छन् अनि कोही खुसीमा रमाएका भेटिन्छन्’, उनी भन्छिन्, ‘उनीहरुसँग कुरा गर्दा आफ्ना पीडा पनि बिर्सन्छु ।’ कहिलेकाहीँ पीडित र समस्यामा परेका व्यक्ति भेटाएमा सहयोग पनि गर्ने गरेकी छु । वीरेन्द्रनगर–७ की मौसमी शाही पनि अटो रिक्सा चालक हुन् । साँझ बिहानको घरको कामबाहेक दिउँसोको समय सदुपयोग गर्न उहाँले अटो रिक्सा तालिम ल्याउनुभएको हो । सानोतिनो खर्च चाहिए पनि श्रीमान्कै हात थाप्नुपर्ने भएपछि आफैँ आत्मनिर्भर बन्नुपर्छ भन्ने सोचले तालिम लिएको मौसमी बताउँछिन् । उनका श्रीमान् नेपाल प्रहरीमा छन् । अटोको आम्दानीबाट मौसमीका परिवार सन्तुष्ट छिन् । अटोबाट मासिक ४० हजारसम्म आम्दानी हुने गरेको उनी बताउँछिन् । अटो चलाउन थालेपछि घरखर्च चलाउन सहज भएको मौसमी बताउँछिन् । ‘पहिला श्रीमान्को कमाइले मात्र सम्पूर्ण घरखर्च चलाउन समस्या हुन्थ्यो’, मौसमी भन्छिन्, ‘अहिले दुवैजनाले कमाउन थालेपछि बचत पनि हुन थालेको छ ।’ अटो चलाउन थालेपछि बढेको आम्दानीले उनले एक तले घरमा तला थप्न लागेकी छिन् । ‘आफ्नो हातमा पैसा भएपछि आँट पनि आउँदो रहेछ’, मौसमी भन्छिन्, ‘मेरो कमाई देखेर श्रीमान् पनि खुसी छिन् र उनलाई भार पनि कम परेको छ ।’ नगरपालिकाले विपन्न महिलालाई अटो रिक्सा तालिम दिएपछि यहाँका महिलाको अटोतर्फ आर्कषण बढेको हो । अटोबाट राम्रो आम्दानी भएको देखेपछि अहिले छिमेकी महिला पनि अटो चलाउन थालेको अटो चालक मौसमी शाही बताउँछिन् । ‘मैले अटो रिक्सा तालिम लिने बेलामा छोरी मान्छेले पनि अटो चलाउने भन्ने दिदीबहिनी नै अहिले अटो चलाएर आम्दानी गर्न पाए हुन्थ्यो भनेर सोध्नुहुन्छ’, उनी भन्छन्, ‘कतिपयले त अटो किनेर चलाउन सुरु पनि गर्नुभएको छ ।’ पुरुषको तुलनामा महिला चालकले ट्राफिक नियम पालना गर्ने भएकाले दुर्घटना पनि कम हुने गरेको पाइएको ट्राफिक प्रहरी यज्ञबहादुर वली बताउँछन् । ‘महिला चालकले तीव्र गतिमा चलाउँदैनन् र दुर्घटना हुने सम्भावना कम हुन्छ’, उनी भन्छन्, ‘प्राय महिला चालकले लापर्बाही गर्दैनन् ।’ महिलाले संवेदनशील भएर अटो चलाउने गरेको ट्राफिक प्रहरी वलीको भनाइ छ । वीरेन्द्रनगर–१० की यशोदा सापकोटाले पनि कक्षा १२ को परीक्षा दिएपछि खाली समय सदुपयोग गर्न नगरपालिकाको सहयोगमा अटो रिक्सा चलाउने तालिम लिइन् । त्यसपछि आफैँले अटो रिक्सा पनि किनेकी उनले कमाइ गर्दै मासिक १७ हजार ५०० किस्ता तिर्दै आएकी छिन् । ‘प्रायः पुरुषले मात्र गर्ने काम खाली बस्नुभन्दा मैले पनि सुरू गरेँ, अहिले परिवारका अरू सदस्यको आम्दानीमा मेरो पनि थप भएको छ’, यशोदा भन्छिन्, ‘घरखर्च चलाउन सजिलो भएको छ ।’ उनको परिवारमा नौ जना छन् । परिवारको खर्चमा आफ्नो आफ्नो आम्दानीले पनि सहज बनाएको उनी बताउँछन् । ‘कामलाई सानो वा ठूलो भनेर वर्गीकरण गरेर मात्र बस्ने पनि समाजमा छन्, मैले कामलाई समानरूपमा सोच्छु,’ यशोदा भन्छिन्, ‘म पनि त्यसै गरेर बसेको भए बेरोजगार युवामा पर्थें, अहिले त आत्मनिर्भर भएकी छु ।’ वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले पनि महिला आफ्नै खुट्टामा उभिनका लागि यो पेसा रोज्न थालेको बताउँछन् । ‘सुरुसुरुमा त हामीले खोलेको जति सङ्ख्यामा पनि आवेदन पाएनौँ’, उनी भन्छिन्, ‘अटो चलाउने भनेपछि अर्कै सोचाइ हुन्थ्यो अब भने कार्यालयमै आएर हामी यो व्यवसाय गर्छौं तालिम कहिले खुल्छ भनेर सोध्नुहुन्छ ।’ नगरपालिकाको ‘महिला स्वरोजगार कार्यक्रम’ अन्तर्गत आर्थिक वर्ष ०७५/७७ बाट अटो रिक्सासम्बन्धी तालिम दिन थालेको हो नगरपालिकाका ६५ जनालाई अटो रिक्सा चलाउने तालिम प्रदान गरेको नगरप्रमुख ढकाल बताउँछिन् । ‘सुरूमा तालिम पूरा गरेका १४ महिलाले अटो किनेर पनि व्यवसाय गरिरहनुभएको छ’, उनी भन्छन्, ‘त्यो देखेपछि अरू महिला दिदीबहिनीको पनि अटोमा आकर्षण बढ्दै गयो, यो विपन्न महिलालाई लक्षित कार्यक्रमलाई हामी निरन्तर सञ्चालन गर्छौं ।’ ‘जसले आफ्नो तर्फबाट धितो राखेर ऋण निकाल्न सक्दैन, त्यस्ता विपन्न परिवारका महिलालाई छनोट गरी तालिम प्रदान ग¥यौँ’, उनी भन्छिन्, ‘लाइसेन्सको प्रक्रियामा गइसकेपछि उनीहरूलाई अटो किन्न एक लाख अनुदान दियौँ, एक लाख बिनाब्याज एक वर्षभित्र तिर्ने गरी ऋण दियौँ ।’ तालिम खर्च पनि नगरपालिकाले नै व्यवस्था गरेको छ । दुई लाख नगरपालिकाका तर्फबाट पाएपछि उनीहरूलाई सुरूमा तिर्नुपर्ने रकम तिरेर आफैँले रोजेको कम्पनीको अटो रिक्सा किन्न दिने गरेको नगरप्रमुख ढकाल बताउँछन् । रासस

यी हुन् नेपालीले रोजगारीका लागि जान पाउने देश

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीका लागि विदेश जाने युवाहरुको संख्या बढ्दो छ । स्वदेशमा रोजगारीका अवसर नभएपछि दैनिक हजारौं युवा वैदेशिक रोजगारीका लागि विदेश जान बाध्य छन् । वैदेशिक रोजगारीमा जानेहरूबाट स्वदेशमा पठाउने रकम विप्रेषण वा रेमिट्यान्सले हाम्रो अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको छ । विश्वमा २ सय भन्दा धेरै मुलुकहरु अस्तित्वमा रहेका छन् । अस्तित्वमा रहेका मुलुकहरु मध्ये नेपालीहरु १ सय ९ वटा देशहरुमा कानुनी प्रकृया पूरा गरेर नै वैदेशिक रोजगारीका लागि जान सक्ने व्यवस्था रहेको छ । हेर्नुहोस्, वैदेशिक रोजगारीका लागि जान सकिने देशहरुको सूची : १. अल्बेनिया २. अल्जेरिया ३. अर्जेन्टिना ४. अर्मेनिया ५. अस्ट्रेलिया ६. अस्ट्रिया ७. अजरबैजान ८. बहराइन ९. बंगालादेश १०. बेलारुस ११. बेल्जियम १२. बोलिभिया १३. बोस्निया हर्ज १४. ब्राजिल १५. ब्रुनाई १६. बुल्गेरिया १७. क्यानडा १८. चिली १९. चीन २०. कोलम्बिया २१. कम्बोडिया २२. कंगो २३. कोस्टारिका २४. क्रोटिया २५. क्युबा २६. साइप्रस २७. चेक रिपब्लिक २८. डेनमार्क २९. इजिप्ट ३०. इस्टोनिया ३१. फिजी ३२. फिनल्याण्ड ३३. फ्रान्स ३४. जर्मनी ३५. ग्रेट ब्रिटेन ३६. ग्रिस ३७. गुवाना ३८. होल्एसी ३९. हङकङ ४०. हंगेरी ४१. आइसल्याण्ड ४२. इन्डोनेसिया ४३. इरान ४४. आयरल्यान्ड ४५. इजरायल ५६. इटली ४७. जापान ४८. जोर्डन ४९. कजाखस्तान ५०. केन्या ५१. कोसोभो ५२. कवेत ५३. लाओस पिडिआर ५४. लाट्भिया ५५. लेबनान ५६. लक्जमवर्ग ५७. मकाउ ५८. मलेसिया ५९. माल्दिभ्स ६०. माल्टा ६१. मेसोडोनिया ६२. मेक्सिको ६३. मोल्डोभा ६४. मंगोलिया ६५. मोरिटस ६६. मोरक्को ६७. मोजाम्बिक ६८. म्यानमार ६९. नेदरल्याण्ड ७०. न्यूजिल्याण्ड ७१. निकारागुवा ७२. नाइजेरिया ७३. नर्वे ७४. ओमान ७५. पाकिस्तान ७६. पानामा ७७. पेरु ७९. पोल्याण्ड ८०. कतार ८१. रिपब्लिक कोरिया ८२. रिपब्लिक स्लोभाक ८३. रोमानिया ८४. रसिया ८५. सैपान ८६. साउदी अरेबिया ८७. सिंगापुर ८८. स्लोभानिया ८९. दक्षिण अफ्रिका ९०. स्पेन ९१. श्रीलंका ९२. स्वीडेन ९३. स्वीट्जरल्याण्ड ९४. सिचेलिज ९५. तान्जानिया ९६. थाइल्याण्ड ९७. फिलिपिन्स ९८. टुनेटिया ९९. टर्की १००. युगाण्डा १०१. युक्रेन १०२. युनाइटेड अरब इमिरेट्स १०३. अमेरिका १०४. उज्वेकिस्तान १०५. भेनेजुएला १०६. भियतनाम १०७. जाम्बिया १०८. सर्बिया सरकारले हाल वैदेशिक रोजगारको लागि अफगानिस्तान, इराक र लिविया जान प्रतिवन्ध लगाएको छ । वैदेशिक रोजगारमा जाने देशहरुको विषयमा अपडेट थाहा पाउन वैदेशिक रोजगार विभागको https://dofe.gov.np/recognized.aspx लिंकमा गएर पनि हेर्न सकिन्छ ।

म्यानपावर र कन्सल्टेन्सीबाट ५७३ जना ठगिए, ११ महिनामा झण्डै १८ हजार उजुरी

काठमाडौं । चालु आर्थिक वर्ष ०७८/०७९ को ११ महिनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ५७३ वटा गठीकाे उजुरी परेकाे छ ।जसमध्ये म्यानपावरबाट ठगी भएको भनेर २ सय ८० जना, कन्सल्टेन्सीबाट २८ जना र व्यक्तिबाट ठगी भएको भनेर २ सय ६५ जनाले उजुरी परेकाे मन्त्रालयले जनाएकाे छ । विदेशबाट शब झिकाउन तथा ढुवानीको लागि १ सय ५७, मृतक परिवारलाई आर्थिक सहायताको लागि १ हजार १ सय २२ र अंगभंग तथा बिमारी भएका व्यक्तिको उद्धारका निम्ति ३८ वटा गुनासा तथा उजुरी आएको मन्त्रालयको कल सेन्टरले जनाएको छ । मन्त्रालयकाे कल सेन्टरमा ११ महिनामा १७ हजार ८ सय ९६ वटा, उजुरी, गुनासाे र सोधपुछ आएको रेकर्ड भएको छ । कल सेन्टरमा चालु आवको ११ महिनामा विदेशमा अलपत्र परेको भनि उद्धारको लागि १ सय ५३ जनाले उजुरी टिपाएका थिए । त्यस्तै सेन्टरमा स्वदेश फर्कन चाहेर पनि नपाएको भनेर ६९ जना, विदेशमा गएर काम गर्न नपाएको भनेर ५० जना, काम गरेर तलब नपाएको भनेर ५० जना र एउटा काम भनेर अर्कै काम लगाइदिएको भनेर २२ जनाले उजुरी तथा गुनासो टिपाएका छन् । जेल परेको सम्बन्धमा १९, करारमा लेखिएको भन्दा कम तलब पाएको भन्दै १८ जनाले सेन्टरमा उजुरी तथा गुनासो टिपाएका थिए । चालु आवको ११ महिनामा सबै भन्दा धेरै एउटै विषयमा इजरायल कामको विषयमा २ हजार २ सय २७ जनाले सोधपुछ गरेको मन्त्रालयले जनाएको छ ।