विदेशबाट फर्केर तरकारी खेती गर्दै मनिराज, मनग्य आम्दानी
भोजपुर । विदेशको अनुभव र भोगाइले आफ्नै ठाउँमा कृषिमा लाग्नेको सङ्ख्या भोजपुरमा बढ्न थालेको छ । विदेशबाट फर्केर स्वदेशमा कृषि व्यवसायमार्फत धेरैले मनग्य आम्दानी गर्दै आएका छन् । भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका मनिराज राई विदेशबाट फर्केर व्यावसायिक तरकारी खेतीमा लागेका छन् । दश वर्ष विदेश बसेका राई अहिले गाउँमा कृषि उद्यममा जोडिएका हुन् । उनले गोलभेडा, बन्दा, फुलकोभी, गाँजरलगायत तरकारीको व्यावसायिक खेती गरिरहेका छन् । वडा कार्यालयको पहलमा आवश्यक तालिमसँगै औजार तथा उपकरण पाएपछि व्यवसायमा थप सहजता भएको राईले बताए । ‘विदेशमा गरेको दुस्ख र अनुभव आफ्नै ठाउँमा उपयोग गर्ने उद्देश्यले परिवारसँग मिलेर तरकारी खेती सुरु गरेको छु । अहिले प्रशस्त आम्दानी भइरहेको छ’, उनले भने । कृषिमा लाग्ने युवालाई राज्यले विभिन्न प्रोत्साहनमूलक कार्यक्रम गरेर सहयोग गरिरहेको राईको भनाइ थियो । करिब दुई रोपनी क्षेत्रमा तरकारी खेती लगाइएको उनले जानकारी दिए । तरकारी व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिने देखेपछि यसको विस्तारमा जोड दिइएको राईले बताए । ‘स्वदेशमा व्यावसायिक भएर काम गर्न सकियो भने प्रशस्त आम्दानी गर्न सकिने रहेछ’, उनले भने । तरकारी खेतीबाट सबै खर्च कटाएर मासिक रुपमा रू २० देखी २५ हजारसम्म आम्दानी हुने गरेको राईले जानकारी दिए । खेतीलाई थप विस्तार गरेर आम्दानीलाई अझ बढाउने लक्ष्य रहेको उनले योजना सुनाए । उत्पादन भएको तरकारी स्थानीय बजारमा खपत हुने उनको भनाइ छ । वडा कार्यालयले व्यावसायिक रुपमा तरकारी खेतीमा जुटेका किसानको पहिचान गरेर उनीहरुको व्यावसायिक योजनाको आधारमा अनुदानसँगै तालिम तथा कृषियन्त्र, उपकरण सहयोग गर्दै आएको छ । यहाँका कतिपय ठाउँ भौगोलिक रुपमा उर्वरभूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडाध्यक्ष बाचकुमार राईले बताए । भावी दिनमा व्यावसायिक खेतीका लागि माटोको परीक्षण गरेर माटो सुहाउँदो बाली लगाउन प्रोत्साहन गरिने उनको भनाइ थियो । ‘आर्थिक रुपमा किसानलाई सक्षम बनाउन कृषिमा जोड दिन आवश्यक छ’, वडाध्यक्ष राईले भने, ‘स्थानीयवासीलाई व्यावसायिक कृषिमा जोड्न आवश्यक काम गरिरहेका छौँ । किसानलाई तरकारी खेती, व्यावसायिक बाख्रापालन, विभिन्न सीपमूकल तालिम दिँदै आएका छौँ । अहिले व्यावसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दो छ ।’ किसानले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणमासमेत सहयोग गर्ने लक्ष्य रहेको वडाध्यक्ष राईले जानकारी दिए । वडाको बजेट बाहेक अन्य सङ्घ संस्थासँग सहकार्य गरेर पनि कृषिका कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ थियो । वडामा विनियोजन हुने बजेटले सबै क्षेत्रलाई समेट्नुपर्ने भएकाले अन्य निकायसँग सहकार्य गरेर किसानलाई प्रोत्साहन गर्दै आएको उनले बताए । ‘वडामा आउने बजेटले सबै पक्षलाई समेट्न समस्या हुन्छ’, वडाध्यक्ष राईले भने, ‘विभिन्न निकायसँग सहकार्य गरेर कृषि क्षेत्रको विकासमा जोड दिएका छौँ । कृषिमा वडालाई नमुनायोग्य बनाउने लक्ष्य लिएका छौँ ।’ रासस
सामाजिक सुरक्षा कोषले माग्यो विभिन्न पदका लागि कर्मचारी (सूचनासहित)
काठमाडौं । सामाजिक सुरक्षा कोषले विभिन्न पदमा ५१ कर्मचारी माग गरेको छ । आज एक सूचना प्रकाशित गर्दै कोषले तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले अनलाइन प्रणालीमार्फत दरखास्त दिन सक्ने जनाएको छ । कोषले उपनिर्देशकदेखि सहायक कम्प्युटर अपरेटर पदसम्मका लागि दरखास्त माग गरेका हो । लोकसेवा आयोगबाट लिइने विभिन्न पदका लागि तोकिएको दस्तुर तिरेर अनलाइनमार्फत पुस २६ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने कोषद्वारा जारी सूचनामा उल्लेख छ । तलब सुविधा कोषको प्रचलित नियमअनुसार हुने जनाइएको छ ।
नेपाल राष्ट्र बैंकले माग्यो ६७ जना कर्मचारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी मागेको छ । केन्द्रिय बैंकले विभिन्न पदका लागि ६७ जना कर्मचारी मागेको हो । बैंकले प्रशासनतर्फ अधिकृत तृतीय स्तरको सहायक निर्देशक पदका लागि १९ जना, लेखा तथा लेखापरीक्षणतर्फ सहायक निर्देशक पदकै लागि ५ जना, वाणिज्य कानुनतर्फ २ जना, सूचना प्रविधितर्फ ६ जना सहायक निर्देशक मागेको हो । यस्तै, सहयाक द्धितिय स्तरको सहायक पदका लागि २० जना, कानुनतर्फ ४ जना र सूचना प्रविधि पदमा ११ जना कर्मचारी मागेको हो । रिक्त रहेका उक्त पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्ने राष्ट्र बैंकले जनाएको छ । योग्य नेपाली नागरिकहरूले आज पुस ६ गतेदेखि अनलाइन माध्यममार्फत दरखास्त फाराम पेश गर्नु पर्नेछ । पुस २६ गतेसम्म तोकिएको दस्तुर र माघ ४ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सकिनेछ ।