कतारको संकटले नेपालीलार्इ तत्काल असर नगर्ने, नयाँ रोजगारीमा समस्या

काठमाडौं । कतारमा गहिरिएको संकटबाट त्यहाँ रहेका नेपालीको रोजगारीमा तत्काल कुनै असर नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् । कतारसँग सातवटा छिमेकी मुलुकले तत्कालका लागि कूटनीतिक सम्बन्धविच्छेद गरेपछि त्यहा कार्यरत नेपाली र आगामी दिनमा कतारमा रोजगारीको अवसर के होला भन्ने जिज्ञासा बढेको छ । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता तथा सहसचिव गोविन्दमणि भुर्तेलका अनुसार कतारमा रोजगारीको अवसर र त्यहाँ कार्यरत कामदारको भविष्य के हुन्छ भन्ने सन्दर्भमा सरकार पर्ख र हेरको रणनीतिमा छ । ‘पछिल्लो घटनाक्रमबाट कतारस्थित नेपाली नागरिकलाई नकारात्मक असर परेकोबारे अहिलेसम्म कुनै रिपोर्टिङ आइसकेको छैन,’ उनले भने, ‘परिस्थिति जसरी अगाडि बढ्छ, सरकारले त्यसैगरी रणनीति बनाउँछ ।’ लामो समय आर्थिक नाकाबन्दी भए मात्र रोजगारीमा समस्या श्रम तथा रोजगार मन्त्रालयका अनुसार कतारमा अहिले साढे ३ देखि ४ लाख नेपाली कामदार कार्यरत छन् । त्यसमध्ये ठूलो हिस्सा निर्माण क्षेत्रमा सक्रिय छ । मन्त्रालयका अनुसार भारतपछि धेरै नेपाली कामदार निर्माण क्षेत्रमा कार्यरत छन् । त्यसकारण कूटनीतिक विच्छेद र नाकाबन्दीले रोजगारीमा तत्काल ठूलो असर नपर्ने, तर आर्थिक नाकाबन्दी लामो समय रहेमा भने समस्या आउन सक्ने मन्त्रालयको भनाइ छ । नयाँ रोजगारीमा समस्या कतार समस्या लामो समय लम्बिएमा नया रोजगारीको अवसर नआउने र कतारको गन्तव्य नै खतरामा पर्ने सम्भावनाबारे आशंका सुरु भएको छ । तर, व्यवसायीहरू भने यो समस्या शीघ्र हल हुनेमा आशावादी छन् । ‘यो समस्या कति दीर्घकालसम्म लम्बिन्छ भन्ने विषय महत्वपूर्ण हो,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमलप्रसाद ढकाल भन्छन्, ‘आजकै दिनमा अब के हुन्छ भनेर प्रतिक्रिया दिन सक्ने अवस्था छैन ।’ ”कतार समस्याबाट नेपालीमाथि पर्ने तत्कालीन असर वायुसेवाको टिकट हो, यसका लागि पनि विकल्प छन् । आगामी दिनमा के हुन्छ आजै भन्न सकिने अवस्था छैन । परिस्थिति जसरी अगाडि बढ्छ, सरकारले त्यसैअनुसार रणनीति बनाउँछ ।” (गोविन्दमणि भुर्तेल, प्रवक्ता, श्रम तथा रोजगार मन्त्रालय आफ्नो मुलुकमा ट्रान्जिट गरी कतारसम्म उडान गर्ने कम्पनीले कतारको टिकट बिक्री बन्द गरेपछि अन्य कम्पनीले मौकाको फाइदा छोपी भाडा बढाउन सक्छन् । नेपाली कम्पनीहरूलाई निकै राम्रो अवसर आएको छ । नेपाली कम्पनीले उडान संख्या बढाएर नेपाली दाजुभाइलाई सेवा दिनुपर्छ । – यमबहादुर खड्का, प्रबन्ध निर्देशक, एरोलिना ट्राभल । नयाँ पत्रिका दैनिकबाट ।

पैसा थोरै दिन खोजेपछि म्यादी प्रहरीबाटै नाराबाजी गरेर विरोध

स्थानीय तह निर्वाचन सुरक्षाका निम्ति खटिएका म्यादी प्रहरीले असतुष्टि जनाएका छन् । सरकारले भनेजति तलव सुविधा नदिएको भन्दै ललितपुरका म्यादी प्रहरीले परिसरमा नाराबाजी गरे । आफूहरुलाई ४९ हजार मात्र थमाएर पठाउन खोजिएको उनीहरुको गुनासो छ । ललितपुरका एसएसपी ठूले राइले भने सरकारले तोकेअनुसारै तलब दिइएको दाबी गरे । तलब, विभिन्न शीर्षकका भत्तासहित कुल ५२ हजार ९४ रुपैयाँ ८७ पैसा दिइएको उनले बताए । कान्तिपुर दैनिकबाट

कतारसँग छिमेकीकाे सम्बन्ध विच्छेद,  नेपालीको रोजगारी गुम्ने सक्ने, हवाइ उडान साेमबारबाटै रद्द

काठमाडौं । करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रूपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् । अरबी क्षेत्रमा अस्थिरता ल्याएको र इस्लामिक स्टेट, अलकायदा र मुस्लिम ब्रदरहुडलाई सहयोग गरेको भन्दै उनीहरू कतारसँग क्रूद्ध बनेका हुन् । नेपालीको रोजगारी गुम्ने खतरा कतारको अर्थतन्त्र कमजोर बन्दै जाँदा त्यहाँको निर्माण क्षेत्र कमजोर हुन्छ र उसले विदेशी कामदार फर्काउन सक्छ । अर्कोतर्फ कतारले विदेशी कामदार लैजान कम ग(यो भने पनि प्रभावित त नेपाली नै हुन्छन् । कतारका व्यवसायीले विदेशमा गरेको लगानी बन्द भयो भने पनि त्यस्ता कम्पनीमा कार्यरत नेपालीलाई फर्काउन सक्छ । गणेश गुरुङ, वैदेशिक रोजगारविज्ञ सूक्ष्म रूपमा हेरिरहेका छौँः परराष्ट्र मन्त्रालय खाडी क्षेत्रको पछिल्लो घटनाक्रमलाई सूक्ष्म रूपमा हेरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘यो घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा हेरिरहेको छ, आज जुन घटना भएको छ, दोहा, अबुधावी, कायरो, रियादका दूतावासलाई अध्ययन गरी प्रतिवेदन दिन निर्देशन दिएका छौँ,’ परराष्ट्र प्रवक्ता भरतराज पौड्यालले भने । नयाँ पत्रिका दैनिकबाट । सोमबारबाटै उडान रद्दः सयौं यात्रु मर्कामा काठमाडौं । कतार जाने कुनै पनि यात्रुलाई साउदी अरेबीया र यूएईका एयरलाइन्सले यात्रु नबोक्ने घोषणा गरेपछि नेपालबाट कतारको दोहा ट्रान्जिट भएर जाने यात्रुहरु मर्कामा परेका छन् । आसपासका ६ राष्ट्रले कतारसँगको आफ्नो सबै कूटनीतिक सम्बन्ध र सबै सीमा, सामूहिक र हवाईमार्ग समेत विच्छेद गरेपछि यो समस्या उत्पन्न भएको हो । आजको नेपाल समाचारपत्रमा खबर छ । साउदी अरेबिया र यूएईका एयरलाइन्सले सोमबार नै काठमाडौंबाट दोहा जाने यात्रु नलाने घोषणा गरेपछि सयौं यात्रुहरु काठमाडौंमा नै अलपत्र परेका छन् ।