वैदेशिक रोजगारको नाममा नयाँ धन्दा, मिर्गौलाको अवैध कारोबार

काठमाडौं । नेपालमा मानव अङ्ग मिर्गौला (किड्नी)को अवैध कारोबार जटिल समस्याका रूपमा देखा परेको छ । वैदेशिक रोजगारका नाममा मानव बेचविखन तथा ओसारपसारसँगै मिर्गौला पनि विक्री वितरण हुने पाइएको छ। विशेष गरी समाजका अशिक्षत, गरिब तथा मजदुरहरूलाई आर्थिकलगायत विभिन्न प्रलोभन देखाई दलालहरूले नै वैदेशिक रोजगारका नाममा भारत पुर्‍याई मिर्गौला विक्री गर्न लगाउने गरेको सम्बद्ध अधिकारीहरूले बताएका छन् । जनअधिकार संरक्षण मञ्च नेपाल (पीपीआर) र दिगो विकासका लागि सञ्चारमाध्यमको परिचालन (एमएमएसडी)ले आइतबार आयोजना गरेको ‘नेपालमा मिर्गौला बेचविखन’ विषयक छलफल कार्यक्रमका सहभागीहरूले मिर्गौला कारोबारमा संलग्न दलालहरूको सञ्जाल मुलुकभर फैलिँदै गएको बताउ। ‘केही वर्ष पहिलेसम्म मिर्गौला विक्री वितरणको समस्या काभ्रे जिल्लामा मात्र सीमित थियो’, पीपीआरका कार्यक्रम निर्देशक सतिशकुमार शर्माले भने, ‘अहिले काठमाडौंको काँठक्षेत्रदेखि सुदूरपश्चिमको बर्दिया र बैतडीसम्म यो समस्या फैलिएको छ । ’ काभ्रेमा विभिन्न गैरसरकारी तथा सरकारी सङ्घसंस्थाको सक्रियता बढेपछि दलालहरूले स्थान परिवर्तन गरेको उनले बताए। पछिल्लो समय काभ्रे र सिन्धुपाल्चोकभन्दा पनि दलालहरूले काठमाडौँको काँठक्षेत्र, धादिङ, गोरखा, बर्दिया र बैतडीलाई लक्षित गरेको सूचना प्राप्त भएको उनले बताए। वैदेशिक रोजगारको नाममा आर्थिक लोभ देखाई फकाई फुलाई भारत लैजाने र त्यहाँ होटलमा राखी खानामा बेहोस हुने पदार्थ खुवाई किड्नी झिक्ने गरेको पाइन्छ । यस्तै, घटनाबाट पीडित गोरखा भच्चेकका १९ वर्षीय दीपक नेपालीले मिर्गौला झिकिएको कुरा छ महिनापछि थाहा पाएका थिए। काभ्रेमा सक्रिय दलालहरूको समूहले पोखरामा मजुदरी गरिरहेका बेला आकर्षक तलब पाइने लोभमा जागिर लगाइदिने भन्दै रातारात दिल्ली पुर्‍याइएका नेपाली आफूलाई एक्कासि दिल्लीको अस्पतालमा पाएका थिए। शर्मा भन्छन्, ‘मिर्गौला कारोबारीको जालो तोड्न गैरसरकारी सङ्घसंस्थासँगै पत्रकार, प्रहरी र अदालतको महत्वपूर्ण भूमिका आवश्यक छ, मानव अङ्ग विक्री वितरणमा सक्रिय आपराधिक समूहको अन्तर्राष्ट्रिय सञ्जाल छ । ’ यस समूहले मिर्गौला मात्र नभई महिलाको डिम्ब, स्कीन, ब्लटको प्लाज्मा नामक तत्वसमेत विक्री वितरण गर्ने गरेको पाइएको छ । मानव बेचबिखन तथा ओसारपसारको समस्या त छँदैछ त्यसमा मानव अङ्ग बेचबिखनको समस्या झन् जटिल बन्दै गएको भनाइ उनको छ । त्यस्तै, नेपाल प्रहरीका प्रहरी उपरीक्षक किरण वज्राचार्यले मानव बेचबिखनको सञ्जाल र मानव अङ्ग बेचबिखनको सञ्जाल उस्तैउस्तै हुने भएकाले कानुनी कारबाहीमा केही जटिलता आउने गरेको बताइन्। ‘यस्तो अपराधमा संलग्न व्यक्तिहरू अप्रत्यक्षरूपमा मतियार तथा सहयोगीको रूपमा मात्र संलग्न हुन्छन्, बढीजसो आफन्तलाई नै प्रयोग गराउँछन्’, उनले थपिन्, ‘पीडितहरू पनि समाजको डरले खुलेर भन्न सक्दैनन्।’ नेपाली समाजमा अझै पनि देहव्यापारका लागि महिलामात्र बेचिन्छन् भन्ने भ्रम छ तर अवस्था त्यति मात्र होइन, उनले भनिन्, ‘पुरुष मान्छे पनि विक्री भएको घटना सार्वजनिक भएका छन् । गरिबी र अशिक्षासँगै सङ्गठित अपराधको सञ्जाल विस्तारै फैलिनु मुख्य कारण पनि हो । ’ बा–आमा तथा आफन्तले कहिल्यै पनि नराम्रो कामका लागि छोरी चेली बेच्दैनन्, प्रहरी उपरीक्षक बज्राचार्यले भनिन्, ‘आफन्तलाई दलालहरूले घुमाउरो शैलीमा प्रयोग गरेका हुन्छन्, पैसाको लोभमा छोरी बेच्न बुबालाई नै प्रयोग गरिदिन्छन्। गोरखापत्र दैनिकबाट ।

विदेशमा नेपाली नेपालीबाटै असुरक्षित, आफ्नै साथिको हत्या गर्ने १५ जना जेलमा

काठमाडौं । देशमै रोजगारीको अवसर सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीका लागि दैनिक दुई हजारभन्दा बढी नेपाली विदेश पलायन भइरहेका छन्। यसरी पलायन हुने नेपाली कामदार नेपालीबाटै असुरक्षित हुने गरेको प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार सुशील ढुंगाना बताउँछन् । रोजगारीकै लागि मलेसिया र खाडीका देशमा वार्षिक पाँच लाखको हाराहारीमा नेपाली पलायन भइरहेका छन् । त्यसमा पनि मासिक १० हजारदेखि १५ हजार संख्यामा कामकै लागि साउदी अरब पुग्ने गरेका छन् । साउदीमा रोजगारीकै लागि पुगेका नेपालीमध्ये अहिले साउदीको जेलमा १५ नेपाली हत्या अभियोगमा जेल जीवन बिताइरहेका छन् । जेलमा रहेका १५ जनामध्ये तीन जनालाई त्यहाँको अदालतले मृत्युदण्ड सुनाइसकेको छ । हत्या अभियोगमा जेल जीवन बिताइरहेका १५ जनामध्ये ५ जनालाई नेपाली दाजुभाइ नै हत्या गरेको अभियोग छ । अन्नपूर्ण पोस्टबाट ।

नयाँ म्यानपावरलाई अनुमति रोक्न निर्देशन, अदालतको आदेशबाट अनुमति लिनेको पनि कारोबार रोकियो

काठमााडौं । नयाँ म्यानपावर कम्पनीलाई नयाँ लाइन्सेन्स नदिन संसदको अन्तर्राष्ट्रिय सम्वन्ध र श्रम समितिले बिहीबार निर्देशन दिएको छ । वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुको अनुगमन तथा नियमन राम्रोसंग गर्न नसकिरहेको अवस्थामा चालु आर्थिक वर्षमा मात्र एकसयभन्दा बढी म्यानपावर कम्पनीहरुलाई अनुमति दिएकोले थप नयाँ अनुमति नदिन समितिले निर्देशन दिएको हो । समितिले वैदेशिक रोजगारी बढ्दो ठगी नियन्त्रण गर्ने कार्यमा वैदेशिक रोजगार विभागले प्रभावकारी ढंगमा कार्य गरेको नदेखिएकोले ठगी नियन्त्रणको योजना नभएको बताएको छ । यसलाई प्रभावकारी ढंगले कार्य गर्न वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरुको प्रभावकारी अनुगमन गरी गैरकानूनी क्रियाकलापमा संलग्न म्यानपावर कम्पनीहरुलाई कारवाही समेत गरी सो सम्बन्धी प्रतिवेदन ३(तीन) महिनाभित्र समितिमा पठाउन निर्देशन दिएको छ । चालु आ.व.मा अदालतको अन्तिम पैmसलाबाट दर्ता भएका म्यानपावर कम्पनीलाई पनि काम कारवही गर्न रोक लगाउन समितिले निर्देशन दिएको छ । अन्य म्यानपावर कम्पनीहरुको हकमा अदालतको आदेशको पुनरावलोकनको लागि निवेदन दिन र अदालतको अन्तिम आदेश नआउँदासम्म अन्तरिम आदेशबाट दर्ता भएका कम्पनीहरुको कारोवार र कामकारवाही रोक्का राख्न निर्देशन दिएको उल्लेख छ । वैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्य रुपमा अभिमुखिकरण तालिम लिए नलिएको प्रभावकारी अनुगमन गर्नुपर्ने पनि उल्लेख छ । तालिममा सहभागी नभएका कामदारलाई पनि तालिम पूरा गरेको प्रमाणपत्र दिने कार्यको छानविन गर्नुपर्छ । तालिममा सहभागि नगराई कामदारलाई प्रमाणपत्र दिने तालिम प्रदायक संस्थाको इजाजतपत्र रद्द गर्न निर्देशन दिएको छ । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने कम्पनीहरुको नियमन र व्यवस्थापनमा देखापरेका समस्याहरुको समाधानको लागि कानूनी सुधारको लागि वैदेशिक रोजगार ऐन, २०६४ संशोधनको प्रकृया तुरुन्त शुरु गर्न पनि समितिले श्रम मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिएको छ ।