सहकारीमा बढी राजनीति हुँदा बिग्रियो, धेरै विषयगत संघ आवश्यक छैन : रजिष्ट्रार ढुङ्गाना
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार उमेश ढुङ्गानाले सहकारी क्षेत्रमा धेरै राजनीति प्रभाव हुँदा समस्या सिर्जना भएको बताएका छन् । आइतबार सहकारी विभागले आयोजना गरेको सहकारी सम्बन्धी समसामयिक विषयमा राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय संघ लगायत सरोकारवालाहरुसँगको अन्तक्रिर्या कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले सहकारी क्षेत्रमा व्यवस्थापकीय भन्दा राजनीतिक प्रभाव उच्च हुँदा समस्या सिर्जना भएको बताएका हुन् । उनले सहकारीहरू सुशासन प्रबर्द्धनमा पनि चुकेकाे बताए । उनले साधारणसभा समेत गर्न नसक्ने र प्रतिवेदन पनि नियमित नभएका विषयगत केन्द्रीय संघ पनि भएको बताउँदै त्यस्ता संघलाई पुनरावलोकन गर्नुपर्ने अवस्था रहेको पनि सुनाए । उनले देश ग्रे-लिष्टमा पर्नुको एउटा महत्वपूर्ण कारण सहकारी क्षेत्र पनि रहेको बताउँदै अब सबैको सहकार्य र समन्वयले अगाडि बढ्नु पर्ने धारणा राखे । सहकारीमा अपारदर्शी कारोबार छ, नियमित रिपोर्टिङ, ट्र्याकिङ, जरिवानाको अभ्यास, तथा वास्तविक धनी पहिचान नहुँदा सहकारी क्षेत्र समस्यामा गयो, सोही कारण पनि देश ग्रे लिष्टमा पर्यो,’ उनले भने, ‘अब सबै सरोकारवालाले सहकार्य गरेर समस्याको समाधान गर्नुपर्छ ।’ उनले अहिले बचत तथा ऋण सहकारी संस्थाले बचत फिर्ता गर्न नसक्दा बचत तथा ऋणमा मात्रै समस्या भएको देखिए पनि अन्य सहकारीमा पनि समस्या नै रहेको जानकारी दिए । उनले ८० प्रतिशत सहकारी स्थानीय तहको नियमनभित्र पर्ने भएकोले ती स्थानीय तहमा आवश्यक पूर्वाधार तथा जनशक्ति नहुँदा पनि नियमनमा समस्या भएको र सहकारीमा बदमासी बढेको धारणा राखे । उनले सहकारीमा कर्जा सूचना केन्द्र, निक्षेप तथा कर्जा सुरक्षण कोष र ऋण असुली न्यायाधीकरण आवश्यक नै रहेको सुनाए । यस्तै, कार्यक्रममा राष्ट्र बैंकको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै अभियान उपाध्यायले विभिन्न देशमा कुल ग्राहस्थ उत्पादनको ५ प्रतिशत सम्पत्ति सुद्धिकरण हुने गरेको बताउँदै नेपालमा भने दोब्बर अर्थात् जीडीपीको १० प्रतिशत नै रहेको जानकारी दिए । उनले पनि सहकारीमा बढे ठगीले पनि देश ग्रे लिष्टमा परेको सुनाए । सम्पत्ति सुद्धिकरण निवारण विषयमा प्रस्तुति दिँदै उनले नेपालले राष्ट्रिय जोखिम मूल्यांकन अद्यावधिक नगर्दा पनि देश ग्रे लिष्टमा परेको सुनाए । उनले अब नेपालले विदेशमा बैंकको शाखा खोल्न पनि नसक्ने सुनाए । ग्रे लिष्टबाट हट्नका लागि अहिले ठूलो प्रयास भइरहेको उनको भनाइ छ ।
११ महिनामा १७ हजारभन्दा बढी ईभी आयात, सरकारलाई २२ अर्बभन्दा बढी राजस्व
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा १७ हजार ३०५ युनिट चार-पांग्रे विद्युतीय सवारीसाधन (ईभी) आयात भएका छन्। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, यी गाडीहरूबाट करिब ४२ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। सरकारले सो आयातबाट २२ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। आयात गरिएका गाडीहरूमा ५० किलोवाट क्षमतासम्मका ४,७३७ युनिट, ५१-१०० किलोवाट क्षमताका ७,३५८ युनिट, १०१-२०० किलोवाट क्षमताका १,३५४ युनिट, २०१ किलोवाटभन्दा माथिका ४३ युनिट रहेका छन्। यस अवधिमा कमर्सियल प्रयोजनका लागि ३,८१३ युनिट ईभी पनि आयात गरिएका छन्।
नेपालकै पहिलो ओभरपास उद्घाटन, प्रधानमन्त्री ओलीद्वारा विकासको गति दोब्बर बनाउने घोषणा
काठमाडौं। काठमाडौं उपत्यकाको व्यस्त चक्रपथ अन्तर्गत ललितपुरको ग्वार्को चोकमा निर्माण भएको नेपालकै पहिलो ओभरपास शुक्रबार उद्घाटन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीसँग संयुक्त रूपमा ओभरपासको उद्घाटन गरे। सवारी चाप व्यवस्थापन गर्न चक्रपथ विस्तार परियोजना अन्तर्गत निर्माण गरिएको यो ओभरपास कोटेश्वर-कलङ्की सडक खण्डमा जाम हुने तीन मुख्य स्थानमध्ये ग्वार्को चोकमा निर्माण गरिएको पहिलो संरचना हो। जसको लम्बाइ ४ सय ५५ मिटर रहेको छ भने उचाइ (ग्राउन्ड क्लियरेन्स) ६ मिटर, र्याम्प लम्बाइ दायाँतर्फ १८० मिटर, बायाँतर्फ ११० मिटर, स्पान ३५ मिटर, लेन ४ लेन तथा कुल अप्रोच सडक लम्बाइ ५०० मिटर रहेको छ भने, यसको निर्माण लागत १७ करोड ६ लाख ८८ हजार रुपैयाँ रहेको छ । निर्माण कम्पनी आशिष–समानान्तर–रेलिगेर जेभीले २०७८ सालमा सुरु गरिएको ओभरपासको निर्माण पटक–पटक म्याद थप गर्दा पनि तोकिएको समयमा पूरा हुन सकेन। अन्ततः २०८१ पुस १० गतेदेखि निर्माण कम्पनीलाई दैनिक जरिवाना तिराएर काम सम्पन्न गराइएको हो। उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले ओभरपास निर्माणले ग्वार्को चोकको ट्राफिक जामको दीर्घकालीन समाधान गर्ने विश्वास व्यक्त गरे। उनले देशका विभिन्न क्षेत्रमा भइरहेका पूर्वाधार परियोजनाहरूको प्रगति उल्लेख गर्दै नेपालको विकासले गति लिएको दाबी गरे। ‘दैलेखमा मिथेन ग्यास भेटिएको छ, फलामको उत्खनन सुरु हुँदैछ, कृषिमा आधुनिकीकरण र नयाँ उद्योग स्थापनाको तयारी भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘देशको आर्थिक आत्मनिर्भरताको दिशामा महत्वपूर्ण कदमहरू चालिएका छन्।’ साथै, उनले निराश नहुने र सम्भावनाका आधारमा अघि बढ्ने मनोबल राख्न सबैमा आग्रह गरे। हुलाकी राजमार्ग, सुनकोसी मरिन डाइभर्सन, मदन भण्डारी राजमार्गलगायतका परियोजनाले देशको भौगोलिक र आर्थिक संरचनामा रूपान्तरण ल्याउने प्रधानमन्त्रीको भनाइ थियो। ओभरपास उद्घाटनसँगै सवारीसाधनको नियमित सञ्चालन सुरु गरिएको छ। उपत्यका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीले ओभरपास सञ्चालनले उपत्यकाको ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सहजता आउने विश्वास व्यक्त गरे।