त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेबसाइट ह्याक
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक भएको छ । ह्याकरले विमानस्थल कार्यालयको वेवसाइट ह्याक गरेको कार्यालयले जानकारी दिएको छ । अहिले सो कार्यालयको वेवसाइट खुलेको छैन । ह्याकरले वेबसाइट आफ्नो नियन्त्रणमा लिएर सामग्री अध्यागमनको साइटमा राखेको छ । कार्यालयले ह्याकरबाट वेवसाइटलाई रिकभर गर्ने प्रयास गरिरहेको छ ।
शोधनान्तर स्थिति करिब ५ खर्ब बचतमा, १४ खर्ब पुग्यो व्यापार घाटा
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनासम्म शोधनान्तर स्थिति झण्डै ५ खर्ब रुपैयाँ बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब ६२ करोडले बचतमा रहेको छ । यस्तै, चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ३८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । यसैगरी, समीक्षा अवधिमा ११ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब २४ करोड रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०८१/८२ कोएघार महिनामा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९७ अर्ब २३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.७ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १५.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ६७ अर्ब ३० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ३७ अर्ब १३ करोड रुपैयाँ बराबरको भएको थियो ।
मौद्रिक नीतिबारे उपाध्यक्ष अधिकारी र गर्भनर पाैडेलबीच छलफल, देशलाई ग्रे लिष्टबाट हटाउन एकजुट भएर लाग्ने प्रतिवद्धता
काठमाडाैं । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिबारे राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलबीच छलफल भएको छ । आज आयोगमा भएको छलफलका क्रममा बजेटसँग समन्वय हुनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारीबारे कुराकारी भएको उपाध्यक्ष अधिकारीको सचिवालयले जनाएको छ । यस्तै, राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औँ बैठकमा लैजानुपर्ने एजेन्डाका विषयमा पनि छलफल भएको जनाइएको छ । 'छलफलका क्रममा उपाध्यक्ष अधिकारीले विद्यमान आर्थिक मोडल र कार्यशैलीका सन्दर्भमा पुनर्विचार गर्नुपर्ने बेला आएको बताए । यस्तै, दशकौँसम्म निर्माण सम्पन्न हुन नसकेका राष्ट्रिय गौरवका आयोजनालाई कसरी चाँडो सम्पन्न गर्न सकिन्छ भन्नेबारे पनि छलफल भएको छ,' सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ । लक्षित आर्थिक वृद्धि हासिल गर्न प्रत्यक्ष आन्तरिक लगानी बढाउनुपर्नेमा पनि उपाध्यक्ष अधिकारीको जोड थियो । छलफलका क्रममा गभर्नर पौडेलले हाल अनुत्पादक क्षेत्रमा ठूलो आकारमा कर्जा लगानी भएको उल्लेख गर्दै उत्पादन र उत्पादकत्व बढाउने क्षेत्रमा लगानी गर्न आवश्यक रहेको धारणा राखे । यस्तै, नेपाल सम्पत्ति शुद्धीकरण मामलामा वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को खैरो सूचीमा परेकामा चिन्ता व्यक्त गर्दै उनले उक्त सूचीबाट चाँडो बाहिर निस्कन राष्ट्र बैंकले आफ्नो क्षेत्रबाट गर्नुपर्ने सबै प्रयास गरिरहेको बताए । छलफलका क्रममा हाल लघुवित्त र सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गरिनुपर्ने, कृषि क्षेत्रमा सहज रूपमा सहुलियत कर्जा प्रवाह हुनुपर्ने लगायत विषय उठेका थिए । यस्तै, बैंक तथा वित्तीय क्षेत्रका शाखाहरू सहरी क्षेत्रमा निकै बढी भए पनि ग्रामीण क्षेत्रमा वित्तीय पहुँच अझै कमजोर रहेको, बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढेको, ब्याजदर घट्दा पनि अपेक्षाअनुसार कर्जा लगानी हुन नसकेका जस्ता समस्या समाधान गर्नेगरी आगामी आवको मौद्रिक नीति ल्याइनुपर्ने आवश्यकता औँल्याइएको थियो ।