काठमाडौंका सडकको दुरावस्था (फोटोफिचर)

काठमाडौं, देशकै संघीय राजधानी हो । राजधानी भएपछि विकासका संरचनाहरु कस्तो हुनुपर्छ ? यो सबै हामीलाई थाहा नै छ । देशकै ठूलो महानगरपालिका, देशभरका मानिसहरु बस्ने ठाउँ, देशभरका शहरमध्ये सबैभन्दा धेरै मानिसहरुको बसोवास गर्ने ठाउँ पनि हो काठमाडौं । स्वभावैले पनि देशको राजधानी भइसकेपछि देशभरका मानिसहरुको पहिलो रोजाइ काठमाडौं नै बन्ने गर्छ । चाहे त्यो शिक्षामा होस् वा त रोजगारीमा नै किन नहोस् । तर बिडम्वना काठमाडौं जस्तो देशको राजधानी र प्रमुख शहरका सडकहरुको अवस्था अहिले पनि अस्तव्यस्त र दयनीय । कतै खाल्डाखुल्टी त कतै हिलाम्मे र धुलाम्मे बाटो । चिल्लो सडकको व्यवस्थापन र निर्माण त परको कुरा पुनःनिर्माणको काम समेत सरकारी निकायहरुले गर्न सकेका छैनन् । जमानामा बनेका सडकहरुमा बिच्छ्याइएको कालोपत्रे उकेर गइसक्यो, बाटोमा खाल्डाखुल्टी, धुलो, हिलो र ढलका पाइप बिच्छ्याउन महिनौँदिनसम्म पनि सडकमा व्यवधान खडा गरिन्छ । भत्किएको सडकमा दुर्घटनाको जोखिम त छ नै साथमा सिर्जित व्यवधानले आवतजावतमा झनै सकस पुगेको सहजै देख्न सकिन्छ । सरकारी निकाय र राजनीतिक दलका प्रतिनिधिहरु विकासको कुरामा सवालजवाफमा नै सीमित छन् । चुनावका बेला बाध्यताले गरिएको कालोपत्रे र सडक निर्माण केही महिना नबित्तै भत्किएर पुनः उस्तै हुन्छ । दीर्घकालीन रुपमा समस्याको समाधान गर्दा आफूले पनि प्रयोग गर्न सहज र छिटो हुन्छ भन्ने महशुस गर्न प्रतिनिधिहरुले सकिरहेका छैनन् । राजनीतिक दलका प्रतिनिधित्व र सरकारले सडक विकासलाई व्यवस्थित गर्न नजान्दा र नसक्दा, अझ भनौ प्राथमिकतामा नराख्दा हरेक दिन आम नागरिकहरुले दुःख भोगिरहेका छन् । कतै सडक भत्काएर छोडिएको छ भने कतै बीच बाटोमा नै ढलका लागि खाली ठाउँ वारपार गरेर छोडिएको छ, कतै टायर, ढुंगा थुपारिएको छ भने कतै बाँस रड जस्ता सामग्री छरपस्ट छन्, त कतै ट्राफिक पुलिसका होर्डिङ बोर्डहरु छरपस्ट देख्न सकिन्छ ।

टिकट काउन्टरलाई लाग्यो दशैं (फोटोफिचर)

काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा आइतबारदेखि भिडभाड देखिन थालेको छ । केही दिन अघिसम्म खासै भिडभाड नभएको बसपार्कभित्रका टिकट काउन्टरहरुमा आइतबारबाट भने भीडभाड बढेको हो । सरकारले दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आइतबारबाट टिकट बुकिङ खुला गरेपछि नयाँ बसपार्कमा रहेका टिकट काउन्टरमा भीड बढेको हो । सरकारले पश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्युठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर धरान विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको हो । पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायतका छोटो दूरीमा जाने सवारी साधनको पनि अग्रिम टिकट बुकिङ चाँडो खुला गरिने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका काठमाडौं प्रमुख रमेश खत्रीले जानकारी दिए । लामो दूरीमा जाने यात्रुका लागि टिकट बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म वितरण गर्ने गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले दसैँ मान्न घर जाने यात्रुलाई ध्यानमा राखेर यातायातको राम्रो व्यवस्था मिलाएको बताए । दसैँमा २० लाखभन्दा बढी यात्रु प्रत्येक वर्ष उपत्यकाबाट बाहिरिने गरेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ । महाशाखाले विभागको सहकार्यमा राजधानीको नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखिनेछ । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रु सहायता कक्षमार्फत राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताए ।

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटोफिचर)

काठमाडौं । आज विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । संविधान सभाबाट संविधान जारी भएको आठ वर्ष पुगेको छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।