संरक्षणको पर्खाइमा काठमाडौंका पार्क (फोटो फिचर)
काठमाडौं । धुलो धुँवा भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौं शहर घुम्दा यस्तै लाग्छ । तर काठमाडौंमा थोरै भएपनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन् । २०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्व बढेको छ । सरकारी र निजी क्षेत्र शहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन् । पार्कमा घुम्ने संस्कृति पछिल्लो समय बढ्दै गइरहेको पनि छ । भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीवासी घुम्न निस्कन्छन् । लामो बिदामा टाढा घुम्न जाने संस्कृति विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन् । तस्बिर स्रोत : न्युज एजेन्सी नेपाल
टेकोमा अड्याइएको काठमाडौं (फोटो फिचर)
काठमाडौं । लड्न लागेका वस्तुलाई केही समय अड्याउन टेको लगाइन्छ । त्यसले केही दिन त धान्ला । लामो समय धान्दैन । तर, काठमाडौं उपत्यकाको अधिकांश पुराना शहरका गल्ली–गल्लीमा टेकोले धानेका घर प्रशस्तै देख्न पाइन्छ । २०७२ सालको महाभूकम्पले क्षति पुर्याएका ती घरहरुको अझै स्तरोन्नती हुन सकेको छैन । यस्ता घरको कहालीलाग्दो दृश्य हेर्न अन्त जानै पर्दैन । काठमाडौंको न्युरोड, वसन्तपुर, ललितपुरको पाटन, भक्तपुरका विभिन्न क्षेत्रमा यस्ता घरहरु टन्नै पाइन्छन् । अचम्मको कुरा, यस्ता जोखिमयुक्त घरमा बस्ने मानिसहरुको जमात कम छैन । काठ वा फलामको टेकोले अड्याइएको धराप घरहरुमा बस्नेहरु यो क्षेत्रमा छ्याप्छ्याप्ती छन् । कोहीले यही घरमा बसेर भविष्यका सपना देखेका छन् भने कतिले व्यापारिक केन्द्र बनाएका छन् । कुरा यत्ति हो, कोठाभाडामा बस्ने २४ घण्टा नै जोखिम मोल्छन् र व्यापार गर्नेले १२ घण्टा । आजको फोटो फिचरमा टेकोले अड्याइएका काठमाडौंका बस्तीहरुका घरका तस्बिरहरु । तस्बिर स्रोत : न्युज एजेन्सी नेपाल ।
काठमाडौं उपत्यकामा रहेका मानिसको घरको कथा (फोटो फिचर)
लेलेमा परम्परागत गुठी घर । काठमाडौं । मानिसलाई सधैँ चाहिने तर परिभाषित गर्न गाह्रो शब्द हो घर । जंगली युगबाट समाजमा घर बनाएर बस्नुअघि मानिसहरु कहाँ बस्थे होलान् ? बस्ने ठाउँ कस्ता हुन्थे होलान् ? जाडो महिनामा गुफामा बसे पनि गर्मीमा के गर्थे होलान् ? गुफा नभएको ठाउँमा कता बस्थे होलान् ? यी सबै कुराको बारेमा समाजशास्त्रीहरुको फरक–फरक मत छ । तर, पनि मानिस कहिलेदेखि समाजमा बस्न थाल्यो अझै पनि खोजको बिषय बनेको छ । घाम, पानी, हावा–हुरी जंगली जनावर शत्रुबाट बच्न वा अन्य जे कारणले भएपनि मानिसले घर बनाउन थालेको धेरै भयो । काठमाडौंको सुन्ताथानमा रैथाने घर । नेपालमा वाह्य पर्यटक प्राकृतिक सम्पदा विभिन्न जातिहरुको संस्कृति र मौलिक घर एवं बस्तीहरु हेर्न आउँछन् । मौलिक घर नेपाली समाजको सभ्यताको पहिचान मानिन्छ । विविध जाति, धर्म तथा भौगोलिक बनावट भएको मौलिकताले पर्यटकहरुलाई आकर्षण गराएको छ । पर्यटकहरुलाई आधुनिक भन्दा स्थानीय ढुंगामाटो तथा काठ प्रयोग गरी बनाइएको पुराना शैलीको मौलिक घर भएका गाउँमा अवलोकन गर्न रुचाउँछन् । काठमाडौंको पेप्सीकोलामा पृथ्वीको नक्सा अंकित घर । शहरदेखि गाउँसम्म पछिल्लो समय काठका छाना, खरका छाना, ढुंगाका छाना, टिनका छाना हुँदै अहिले आएर सिमेन्ट कंक्रिट ढलानका छाना भएका घरहरु प्रशस्त छन् । साथै आफ्नो रुची, हैसियत अनुसार उपत्यकामै पनि घरहरुका अकार, रङ, शैली फरक फरक छन् । तर पनि घर सबैलाई आफ्नो आश्रयका लागि चाहिन्छ नै । नेपालमा भित्रिने वाह्य पर्यटकहरु मौलिक संस्कृति, भेषभूषा रहन सहन र भाषा समेत अध्ययन गर्न रुचाउँछन् । ललितपुरको धोविघाटमा बनाइएको अत्याधुनिक घर । मौलिकता र सुन्दरताका हिसावले काठमाडौं, भक्तपुर र ललितपुरका पुराना घरहरु ५० वर्ष पहिलासम्म विश्वका उत्कृष्ट पचास शहरमध्ये १० औं नम्बरमा थियो । तर, अहिले आधुनिक कंक्रिटको घर हुनुलाई समाजले प्रतिष्ठाको विषय मानेको छ । जसकारण सबैले मौलिक घरलाई छोड्दै त्रंmकिटको घर बनाउन थालेका छन् भने काठमाडौं उपत्यका कंक्रिटको शहरको रुपमा परिचित छ । ललितपुरको बडिखेलमा शिशाको प्रयोगबाट बनाइएको घर । उपत्यकाका केही भित्रि बस्ती बाहेकका क्षेत्रमा मौलिक पहिचान झल्किने घर भेट्न मुस्किलप्रायः छ । मौलिक पुराना घर जोगाएर पर्यटनको विकास गर्न राजनीतिक नेतृत्व नै अन्योलमा छन् । पर्यटनको विकासको लागि मौलिक घर निर्माण र पुरानो सीपको प्रयोग गरेर नेपालको सौन्दर्यलाई पुनःउजागर गर्न सबै एक हुन जरुरी छ । अहिले विभिन्न शैलीका मौलिक एवं परम्परागत घरहरु लोप हुने अवस्थामा पुगेका छन् । पुराना मौलिक घर भत्काएर नयाँ आधुनिक किसिमका कंक्रिटका घरहरु शहर बजारदेखि गाउँसम्म बन्न थालेका छन् । अर्कोतर्फ ढुङ्गा, टायल, खरले छाएका नेपाली परम्परागत र मौलिक घर भत्काएर आधुनिक कंक्रिट पिल्लरको घर बन्न थालेका छन् । यद्यपी काँठ क्षेत्रमा भने अझैपनि पुराना कलात्मक शैलीको प्रयोग गरी बनाइएका घरहरु भने कतै भेटिने गर्छन् । तस्बिर स्रोत : न्युज एजेन्सी नेपाल ।