मलेसियामा हडतालरत नेपाली श्रमिकका माग पूरा

काठमाडौं, ७ साउन । मलेसियास्थित नेपाली दूतावासको टोलीले मलेसियाको इपो राज्यमा अवस्थित लेटेक्स म्यानुफ्याक्चरिङ कम्पनीमा नेपाली श्रमिकले हडताल गरेकाले कम्पनीका उच्च प्रतिनिधिसँग तिनका मागबारे बुधबार वार्ता गरी समस्या समाधान गरेको छ । उक्त कम्पनीले हालै वृद्धि भएको तलब तत्कालै लागू गर्ने, अतिरिक्त समय मलेसियाली नियमानुसार लागू गर्ने तथा श्रमिकको स्वास्थ्य र सुरक्षामा ध्यान दिने लगायत प्रतिबद्धता व्यक्त गरेको छ । सम्झौतापछि आजदेखि श्रमिकहरु नियमित काममा फर्केका छन् । उक्त कम्पनीमा हाल एक हजार पाँच सय ५७ नेपाली कार्यरत छन् । यसैगरी मलेसियाको जोहोर राज्यको के फोर्स कम्पनीमा कार्यरत नेपाली सुरक्षाकर्मी सवार गाडी दुर्घटना भएकाले राजदूतावासले कम्पनीका उच्च प्रतिनिधिलाई फोन सम्पर्क गरी घाइतेको शीघ्र उपचारमा ध्यान दिन दबाब दिएपछि कम्पनीले सबैको उपचार गरेको र गम्भीर घाइते सागर श्रेष्ठको बुधबार शल्यक्रिया भएको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । रासस

सडक अवरुद्ध हुँदा खाद्यान्न ढुवानीमा समस्या

भोजपुर, ७ साउन । वर्षात्का कारण सडक अवरुद्ध भएपछि भोजपुरको पूर्वी चम्पे गाविसका स्थानीयवासीलाई खाद्यान्नलगायतका सामग्री ढुवानीमा समस्या भएको छ । प्याउलीदेखि चम्पे हुँदै हिलेभन्ज्याङ जोड्ने करिब सात किमी सडक पहिरोका कारण अवरुद्ध हुँदा स्थानीयवासी मारमा परेका हुन् । त्यसैगरी, प्याउली, याङपाङ हुँदै बोक्ताम जोड्ने सडक पनि वर्षात्को कारण भत्केको छ । चम्पे गाविसको वडा नंं ४ र ५ का मानिस करिब तीन घन्टाभन्दा बढी समय लगाएर दैनिक उपभोग्य सामग्री पिँठ्युमा बोक्न बाध्य बनेको स्थानीय सरस्वती फुँयालले बताए । गाविसको टोल–टोलमा सडक पु¥याउने उद्देश्यका साथ खनिएका विभिन्न सडक एकपटक एस्काभेटर लगाएर छोडेकाले लाभभन्दा बढी हानी व्यहोर्नुपरेको स्थानीयवासीको गुनासो छ । विभिन्न सडक विस्तार तथा स्तरोन्नतीका लागि बजेट विनियोजन भएपनि सार्वजनिक सुनुवाइ नगर्ने तथा ठेकेदारले आफुखुसी काम गरेकाले स्थानीयवासी अझ मारमा परेको अर्का स्थानीय रामचन्द्र्र दाहालले गुनासो गरे । रासस

उपत्यकाका तीन जिल्लामा शुक्रबारदेखि सर्भेक्षण सुरु

काठमाडौं, ६ साउन । काठमाडौं उपत्यकाका तीन जिल्लामा शुक्रबारदेखि भूकम्पपीडितको वास्तविक लगत लिन सर्भेक्षण सुरु हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले काठमाडौँमा एक महानगरपालिकासहित ११, भक्तपुरमा छ, ललितपुरमा पाँच नगरपालिका तथा १९ गाविसका भूकम्पपीडितको सर्भेक्षण गर्न कम्तीमा पनि डेढ महिना लाग्ने जानकारी दिए । सर्भेक्षण सकी विभागले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई प्रतिवेदन दिएपछि छानबिन गरी अन्तिम नामावली प्रकाशन गरेर पीडितलाई अनुदान वितरण प्रक्रिया सुरु हुने बताइएको छ । विभागले यसअघि उपत्यका बाहिरका अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा र नुवाकोटाम सर्भेक्षण गरी प्राधिकरणलाई बुझाएको प्रतिवेदनका आधारमा सम्झौता गरी पहिलो किस्ताको अनुदान वितरण प्रक्रिया सुरु भएको छ । रासस