कालीगण्डकीको सतह बढेपछि सेतीवेणी बजारका ५० पसल डुबानमा
पर्वत, ११ साउन । सोमबार दिउँसोदेखि अविरल परेको वर्षाका कारण कालीगण्डकी नदीको सतह बढ्दा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित सेतीवेणी बजार डुबानमा परेको छ । राति २ः३० बजेदेखि पानीको सतह ह्वात्तै बढ्दा बजार डुबानमा परेको स्थानीय प्रहरी चौकीले जनाएको छ । राति एक्कासि पानीको सतह बढेपछि स्याङ्जाको पिढीखोलामा पर्ने बजारका झन्डै ५० पसल डुबानमा परेको स्थानीय प्रहरी चौकीका प्रमुख चन्द्र न्यौपानेले जानकारी दिए । अहिले बजारवासी घर छाडेर माथि उक्लिएका छन् । उनीहरु रातभर खुला आकाशमुनि रात काट्न बाध्य भए । वर्षा नरोकिएकाले सतह पनि बढ्दै गएको र डुबानमा पर्ने घर पसलको सङ्ख्या पनि बढ्दै गएको छ । कतिपय व्यवसायीले पसलका सामान उपल्लो तलामा राख्न सफल भए पनि अधिकांश व्यवसायीका पसल भने डुबानमा परेका छन् । डुबानबाट भएको क्षतिको यकिन विवरण नआए पनि करोडौँको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । अहिलेसम्म उक्त क्षेत्रका बासिन्दालाई उद्धारका लागि कुनै पहल भएको छैन । पर्वतको शालिग्राम र स्याङ्जाको पिढीखोला–८ मा पर्ने सेतीवेणी बजारमा झन्डै २०० घर तथा पसल छन् । कालीगण्डकीमा पानीको सतह बढेर बजारसम्म आइपुगेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए । स्थानीय प्रहरी चौकीका प्रमुख न्यौपानेका अनुसार कुनै मानवीय क्षति भने भएको छैन । राति नै स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएपछि उनीहरु बस्तीभन्दा माथिको भिरमा गएर रात काट्न बाध्य भएका थिए । मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा सेतीवेणीबजार डुबानको खतरामा पर्ने गरेको छ । बाढीका कारण विश्वकै ठूलो शालिग्राम शिला पनि डुबानमा परेको छ । छ वर्षअघि कालीगण्डकी र सेतीखोलो उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तल लगायत संरचना डुबेका छन् । शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबिनसमेत पानीले पुरिएपछि शिला सङ्कटमा परेको बताइएको छ । अहिलेसम्म पर्वततर्फको भागमा रहेको बजारमा भने क्षति नपुगेको बताइएको छ । रासस
व्यापारीले ढक अनिवार्य राख्नुपर्ने, यहि महिनादेखि लागू हुने
काठमाडौं, ९ साउन । उपभोक्ताको विश्वसनियताको लागि प्रविधियुक्त तौलने मेसिन प्रयोग गर्ने व्यापारीले अब पसलमा ढक राख्नुपर्ने भएको छ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले यसै महिनादेखि लागू हुने गरी ढक राख्न व्यापारीलाई निर्देशन दिएको हो । क्षेत्रीय कार्यालयका प्रमुख शशीभूषण यादवले तौलने यन्त्रमा मानिसले मिटर बिगारेर ठगी गरिरहेको उजुरी कार्यालयमा आउन थालेपछि निर्देशन दिइएको बताए । “विभागले प्रत्येक क्षेत्रीय कार्यालयलाई गतवर्ष नै निर्देशन दिए पनि यस वर्षदेखि अनिवार्य लागू हुनेगरी काम अगाडि बढाएका छौँ,” उनले भने । प्रत्येक व्यापारीले तौलने यन्त्रसँगै ढक नराखे कानुन बमोजिम कारबाही गरिने यादवले बताए । साउन एक गतेदेखि अहिलेसम्म एकसय जनाभन्दा बढीले क्षेत्रीय कार्यालयमा तौलने यन्त्र ल्याएर नापजाँच गरी ढक राखिसकेको कार्यालयले जनाएको छ । हाल क्षेत्रीय कार्यालयअन्तर्गतका जिल्लामा ५० हजार व्यापारीले नापतौल दर्ता गरेर सञ्चालनमा ल्याइसकेका छन् । कार्यालयले हाल काठमाडौं उपत्यकालगायतका ९ जिल्लामा ३० वटा अधिकृत बिक्रेतालाई इजाजत दिएको छ । ती अधिकृत बिक्रेतामार्फत सम्पूर्ण नापतौल प्रयोग गर्ने व्यापारीलाई ढक राख्न पत्राचारसमेत गरेको कार्यालयले जनाएको छ । रासस
काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा एक सयभन्दा बढीको मृत्यु
काठमाडौं, ९ साउन । गत आव २०७२/०७३ मा काठमाडौं उपत्यकामा दुर्घटनामा परी १६६ जनाले ज्यान गुमाएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा अनुसार प्रत्येक वर्ष हजारौँको सङ्ख्यामा हुने दुर्घटनामा औसत १५० जनाले अकालमै ज्यान गुमाउने गरेका छन् । दुर्घटनामा ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्रु हुने गरेको महाशाखाले जनाएको छ । महाशाखाका सहप्रवक्ता राजेन्द्र भट्टले सवारी नियम विपरीत सवारी चलाउने प्रवृत्तिका कारण अधिकांश दुर्घटना हुने गरेको जानकारी दिए । उनले भने, ‘पर्याप्त सडक संरचनाको अभावले सडकमा हिँड्ने अनुकूल वातावरण नहुनु र भएका संरचना पनि उचित प्रयोग नहुँदा दुर्घटना हुने गरेको छ ।’ उनी पैदलयात्रुले सडक तथा सडक पेटीमा पैदल हिँड्दा र सडक पार गर्दा सावधानी नअपनाउने र सवारी चालकले पनि पैदलयात्रुलाई सडकमा प्राथमिकता नदिने गरेका कारण सवारी दुर्घटना बढी भएको बताउछन् । महाशाखाले सवारी दुर्घटनालाई कम गर्नाका साथै पैदलयात्रु सुरक्षा कार्यक्रमका लागि आइतबारदेखि पैदलयात्रु सुरक्षा अभियान सञ्चालन गर्न लागेको जनाएको छ । यस्तै सार्वजनिक सवारी साधनमा यात्रा गर्दा तोकिएको भन्दा बढी भाडा लिने, नियमानुसार पाउने छुट नदिने, अनावश्यक हैरानी एवम् दुव्र्यवहार गर्ने, ट्याक्सी भाडामा जान नमान्ने गरेमा महाशाखामा उजुरी पठाउन सकिने व्यवस्था गरिएको छ । महाशाखाको मोबाइल नं ९८५१२९५१०० मा एसएमएस पठाएमा कारबाही गरिने जनाएको छ । रासस