चालु आर्थिक वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौंमा वितरण हुने
काठमाडौं, २० साउन । खानेपानी तथा सरसफाइ मन्त्रालयले चालु आर्थिक वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा वितरण गर्ने भएको छ । उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायी सङ्घको चौधौँ वार्षिक अधिवेशनमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा सञ्जय शर्माले मेलम्ची आयोजना सम्पन्न गर्न तीव्रगतिमा कार्य भइरहेको र उक्त आयोजनापछि काठमाडौं उपत्यकामा १७ करोड लिटर खानेपानी प्रतिदिन आपूर्ति गर्न सकिने जानकारी दिए । सरसफाइका क्षेत्रमा देशव्यापी रुपमा विभिन्न कार्यक्रम भइरहेको र विभिन्न गाविस तथा नगरपालिकाले खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लहरसमेत चलेको उल्लेख गर्दै उनले स्थानीयवासीको सहयोगबिना सरकारका कुनै पनि कार्यक्रम सफल नहुने बताए । कार्यक्रममा सङ्घका अध्यक्ष विष्णु दाहालले ‘काठमाडौं उपत्यकामा ट्याङ्करबाट खानेपानी आपूर्तिको अवस्था’ बारे कार्यपत्र प्रस्तुत गर्दै खानेपानीको गुणस्तरअनुसार ट्याङ्करमा स्पष्टसँग ‘खानेपानी ट्याङ्कर’ भनी उल्लेख गरिनुपर्ने सुझाव दिए । उनले अहिलेको खानेपानी ऐन, उद्योग ऐनलगायतका ऐनलाई समयानुकूल नियमन गर्ने किसिमले संशोधन गर्नुपर्ने र खानेपानी विकास बोर्डको छुट्टै निर्देशिका बनाउन बताए । काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर माग हुँदै आएकामा अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सुक्खायाममा नौ करोड लिटर र वर्षायाममा ११ करोड लिटर पानी मात्र आपूर्ति गर्न सकेको छ । हाल मन्त्रालयले देशभर ८५ प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानी पु¥याएको जनाएको छ । सन् २०३० सम्ममा सबै नेपालीलाई खानेपानी र सरसफाइमा पहुँच पु¥याउने सरकारको लक्ष्य रहेको छ । रासस
उपत्यकामा आयआर्जन घटेपछि जीविको पार्जनमा समस्या
काठमाडौं, १९ साउन । काठमाडौं उपत्यकामा भूकम्पपछि सर्वसाधारणको आयआर्जन घटेकाले जीविकोपार्जनको समस्या परेको बताइएको छ । लुमन्ति नेपाल र अक्सफामले संयुक्त रुपमा ‘सहरी सामुदायिक पुनःनिर्माणका लागि जीविकोपार्जनसम्बन्धी’ कार्यशाला गोष्ठीमा सहभागीले उपत्यकामा बसोबास गर्ने सर्वसाधारणको आयआर्जन घटेकाले जीविकोपार्जनमा समस्या परेको बताएको छ । उनीहरुले आयआर्जन घटेसँगै जीविकोपार्जनमा समस्या परेकाले पुनःस्थापनासम्बन्धी कार्यक्रम ल्याउनुपर्नेमा जोड र्दिएका छन् । कार्यक्रममा भूकम्प पुनःनिर्माण प्राधिकरणका सदस्य डा कृष्ण भण्डारीले भूकम्पछि सर्वसाधारणको आयआर्जनमा घटेको बताउँदै आयमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले पुनःनिर्माणको काम सँगसँगै जीविकोपार्जनसम्बन्धी कार्यक्रममा सञ्चालन गरेमात्र वास्तविक रुपमा पुनःनिर्माण हुने बताए । नेपाल रेडक्रस सोसाइटीका उमेश दाहालले भूकम्पले उपत्यकाका मानिसमा आर्थिक उपार्जन घटाएको बताउँदै आयआर्जन सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । लुमन्ती नेपालका अध्यक्ष लजना मानन्धरले उपत्यकामा दैनिक गुजारा समस्या परेकाले आफूहरुले १७० जनालाई आयआर्जन सम्बन्धी कार्यक्रम गरिएको जानकारी गराए । उनले प्राकृतिक जोखिमले जुनसुकै बेला पनि समस्या पर्ने भएकाले ऋणमा डुब्ने सम्भावना भएकाले गरिब हुनबाट जोगाउनु आवश्यक रहेको बताए । अक्सफामका कार्यक्रम संयोजक प्रवीणमान सिंहले उपत्यकामा भूकम्पपछि जीविकोपार्जनमा जोखिम बढेकाले त्यस्ता समुदायको पहिचान गरी स्वरोजगार प्रदान गर्ने जानकारी गराए । उनका अनुसार भाडामा बस्ने, खोलाको किनार बस्ने र उपत्यकाका रैथानेहरु जो भाडाबाट मात्र जीविकोपार्जन गर्नेहरुलाई समस्या परेको छ । उनले उत्पत्यका सात नगरपालिकामा पहिलोपटक स्वरोजगार कार्यक्रम सञ्चालन गरिने जानकारी गराए । एक अध्ययनले उपत्यकामा तीन प्रतिशत गरिबी बढाएको तथ्याङ्क सार्वजनिक गरेको छ । रासस
घोषणाको ६ महिनामामै एम्बुलेन्स प्राप्त
बागलुङ, १८ साउन । भारतीय दूतावासले छ महिनाअघि धवलागिरि अञ्चल अस्पताल बागलुङलाई दिने घोषणा गरेको एम्बुलेन्स बल्ल प्राप्त भएको छ । गत माघ १२ गते भारतको ६७ औं गणतन्त्र दिवसका अवसरमा उपहारस्वरुप अस्पताललाई एम्बुलेन्स दिने घोषणा गरिएको थियो । एम्बुलेन्सको ‘नमुना साँचो’ भने चार महिनाअघि नै प्राप्त भएको थियो । अस्पताल विकास समितिका अध्यक्ष टीकाराम सापकोटाले लामो प्रयासपछि एम्बुलेन्स ल्याउन सफल भएको बताए। रासस