गोदार घटनाका दोषीलाई अविलम्ब कारबाही गर्न आयोगको आग्रह

काठमाडौं, ७ साउन । धनुषा जिल्लाको गोदारस्थित भएको घटनाका सम्बन्धमा दोषीलाई कारबाही गर्न आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ । सशस्त्र द्वन्द्वको क्रममा सुरक्षाकर्मीद्वारा पक्राउ परेका सोही जिल्लाका ५ जना युवाहरु सञ्जीवकुमार कर्ण, दुर्गेश लाभ, जितेन्द्र झा, प्रमोदनारायण मण्डल र शैलेन्द्रकुमार यादव हुन् । उक्त घटनाका सम्बन्धमा आयोगको पहलमा नेपाल प्रहरीबाट धनुषा जिल्लाको गोदारस्थित कमला नदीको किनारबाट ५ वटै मानव अवशेषहरु शवोत्खनन् गरी त्यसको वैज्ञानिक परीक्षण पश्चात मानव अवशेषहरु पीडितका आफन्तहरुलाई हस्तान्तरण गरिएको छ । आयोगले उक्त घटनालाई गम्भीर मानव अधिकार उल्लंघन भएको ठहर गरी धनुषा जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रेवतीराज काफ्ले, क्षेत्रीय प्रहरी इकाई कार्यालय धनुषाका तत्कालीन प्रहरी उपरीक्षक डा. चुडाबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन प्रहरी नायब उपरीक्षक कुवेर सिंह राना र नेपाली सेना धारापानी ब्यारेक धनुषाका तत्कालीन मेजर अनुप अधिकारीलाई कानुनबमोजिम कारबाही गर्न आयोगले नेपाल सरकारलाई यस अघि नै सिफारिश गरेको छ । शवोत्खनन् पश्चात् वैज्ञानिक रुपबाट समेत पुष्टि भइसकेको घटनाका दोषीमाथि कानुनी कारवाही प्रक्रिया अझै अघि नबढाउनुले पीडितको न्यायप्राप्तिको अधिकार पूर्णतः कुण्ठित भएको देखिन्छ । यसबाट दण्डहीनताको स्थितिले प्रोत्साहन पाउनुको साथै नेपाल सरकार मानव अधिकारको सम्मान र संरक्षण गर्ने दायित्वप्रति उदासीन भएको देखिन्छ । नेपालको संविधान तथा राष्ट्रिय मानव अधिकार आयोग ऐन एवं सम्मानित सर्वाेच्च अदालतको फैसला बमोजिम आयोगको सिफारिस कार्यान्वयन गर्नु सरकारको जिम्मेवारी हो । यस्ता यस्ता गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका दोषीलाई कारवाही गर्नु संक्रमणकालीन न्यायको एउटा महत्वपूर्ण पक्ष पनि हो । मानव अधिकारको गम्भीरतम उल्लघंनका घटनाहरुको कानूनी कारबाहीको प्रकृया लामो समयसम्म अघि नबढाइनुले मानव अधिकारको सम्मान र संरक्षणप्रति सरकारको गम्भीर उदासीनता देखिन्छ । आयोग समयमै सम्पूर्ण मानव अधिकार पीडितहरुको न्यायप्राप्तिको अधिकार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

फेसबुक मार्फत करिब २३ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौं, ७ साउन । फेसबुकबाट सम्पर्क बढाई अमेरिका, क्यानडा पठाइदिन्छु भन्दै करिब २३ लाख रुपैयाँ ठगी गर्ने एक युवालाई प्रहरीले बधुबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । सिन्धुपाल्चोक माङ्खा गाविस–७ घर भई हाल भक्तपुर बस्दै आएका तुलबहादुर तामाङलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको थियो । तामाङले जेभी नाममा फेसबुक खोली आफू अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त व्यक्ति भएको , आफ्नी आमा क्यानडाको डाक्टर भएको भनी लेबनानमा रहेकी सिर्जना दोङ, सिर्जनाका भाइ सञ्जय दोङ र मिम लामालाई क्यानडा पठाउने भनी १३ लाख रुपैयाँ तथा साइप्रसमा रोजगारीमा रहेकी कुसुम लामालाई क्यानडामा आफ्नो आमा डाक्टर रहेकाले क्यानडा सँगै जाऔं भनी नेपाल बोलाई नौ लाख रुपैयाँ लिइ फरार भएका थिए । पीडितको उजुरीका आधारमा तामाङलाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान एवम् कारबाहीका लागि महाशाखाले बिहिबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ । रासस

मलेसियामा हडतालरत नेपाली श्रमिकका माग पूरा

काठमाडौं, ७ साउन । मलेसियास्थित नेपाली दूतावासको टोलीले मलेसियाको इपो राज्यमा अवस्थित लेटेक्स म्यानुफ्याक्चरिङ कम्पनीमा नेपाली श्रमिकले हडताल गरेकाले कम्पनीका उच्च प्रतिनिधिसँग तिनका मागबारे बुधबार वार्ता गरी समस्या समाधान गरेको छ । उक्त कम्पनीले हालै वृद्धि भएको तलब तत्कालै लागू गर्ने, अतिरिक्त समय मलेसियाली नियमानुसार लागू गर्ने तथा श्रमिकको स्वास्थ्य र सुरक्षामा ध्यान दिने लगायत प्रतिबद्धता व्यक्त गरेको छ । सम्झौतापछि आजदेखि श्रमिकहरु नियमित काममा फर्केका छन् । उक्त कम्पनीमा हाल एक हजार पाँच सय ५७ नेपाली कार्यरत छन् । यसैगरी मलेसियाको जोहोर राज्यको के फोर्स कम्पनीमा कार्यरत नेपाली सुरक्षाकर्मी सवार गाडी दुर्घटना भएकाले राजदूतावासले कम्पनीका उच्च प्रतिनिधिलाई फोन सम्पर्क गरी घाइतेको शीघ्र उपचारमा ध्यान दिन दबाब दिएपछि कम्पनीले सबैको उपचार गरेको र गम्भीर घाइते सागर श्रेष्ठको बुधबार शल्यक्रिया भएको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । रासस