वन्यजन्तु चोरीसिकार नियन्त्रणमा नेपाल प्रहरी विश्वमै उत्कृष्ट, अन्तराष्ट्रिय पुरस्कार पाउने
काठमाडौं १५, असोज । वन्यजन्तु चोरीसिकार नियन्त्रणमा योगदान पुर्याएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अन्तराष्ट्रिय पुरस्कार पाउने भएको छ । सन् २०१० देखि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐनअन्तर्गत रहेर नेपाल प्रहरीले गरेको योदानको कदर गर्दै ‘क्लार्क आर वभिन बाइल्डलाइफ ल इन्फोर्समेन्ट अवार्ड’ प्राप्त गरेको हो । विश्वभरबाट प्रचलित कानुनको पालना गर्दै प्रभावकारी काम गरेको भन्दै आगामी ३ अक्टोबरमा व्युरोलाई अवार्ड वितरण गर्न लागिएको छ । विश्वभरका प्रभावकारी काम गर्ने निकायहरुबीच प्रतिस्पर्धामा नेपालले गरेको काममा सफता हासिल गरेको भन्दै अवार्ड दिने निर्णय भएको अमेरिकाको वासिंगटन डीसीस्थित एनिमल वेलफियर इन्स्टिच्युटका अध्यक्ष काथ्यी लिसले इमेलमार्फत जानकारी दिएको समाचार शनिबारको राजधानी दैनिकमा छापिएको छ ।
खगेन्द्र नव जीवन विद्यालयलाई भिबोर सोसाइटीको सहयोग, खनालले गरे प्रतिभा जेहेन्दार छात्रवृति घोषणा
काठमाडौं, १४ असोज । भिबोर सोसाइटी डेभलपमेण्ट बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खगेन्द्र नव जीवन विशेष माध्यमिक विद्यालयलाई एक थान साउण्ड सिस्टम उपलब्ध गराएको छ । अपाङ्ग, बिपन्न तथा सामाजिक आर्थिक दृष्ठिले पीछडिएका बालबालिकाहरु पढ्दै आएको खगेन्द्र नव जीवन विशेष माध्यमिक विद्यालय जोरपाटीलाई बैंकले उक्त सहयोग गरेको हो । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले प्रतिभा स्मृतिकोषले प्रत्येक वर्ष यस विद्याललयमा अध्ययन गर्ने ‘प्रतिभा जेहेन्दार छात्रवृति’ पुस्रकार प्रदान गर्ने घोषण गरेको छन् । उनका स्वर्गिय छोरी प्रतिभाको सम्झनामा स्थापित उक्त पुरस्कार २५ हजार रुपैयाँको हुनेछ ।
लाखौँको जुवा, दुई सय जरिवाना, जुवा ऐन, २०२० अनुसार अधिकतम दुई सय रुपैयाँसम्म जरिवाना
काठमाडौं १४, असोज । भक्तपुर सूर्यविनायकको पाण्डुबजारस्थित एक घरमा ३० साउनमा छापा हानी प्रहरीले १० लाख ५४ हजार रकमसहित १६ जुवाडे पक्राउ गर्यो। अनुसन्धानका क्रममा सो जुवाघरमै दैनिक करोडको हारजित हुने गरेको खुल्यो । पक्राउ परेकालाई प्रहरीले जुवा ऐन, २०२० अनुसार मुद्दा चलायो। भक्तपुर जिल्ला अदालतले उनीहरूलाई दुई–दुई सय रुपैयाँ जरिवाना लिएर छाड्ने आदेश दियो। मुद्दा चलेकै दिन उनीहरूलाई कम जरिवानाको फैसला भएको समाचार शुक्रबारको नयाँ पत्रिका दैनिकमा छापिएको छ । अदालतले जुवाडेलाई थोरै जरिवाना गरेको होइन, कानुनअनुसार त्यो नै अधिकतम सजाय हो। जुवा ऐन, २०२० अनुसार जुवा खेल्ने तथा खेलाउनेलाई अधिकतम दुई सय रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । कैद सजायको प्रावधान नै छैन। ५३ वर्षअघिको उक्त कानुन अहिलेसम्म समयानुकूल संशोधन नहुँदा जुवा खेलाउने र खेल्ने सजिलै छुट्ने गरेका छन् । जसका कारण राजधानीमा अवैध जुवाघरहरू मौलाएका छन्। जुवा ऐनअनुसार अभियुक्तलाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिन्छ । तर, उपत्यकाका प्रहरीको तथ्यांक हेर्दा उनीहरू एक साताभन्दा धेरै हिरासतमा बस्नुपर्दैन। प्रहरीलाई समेत प्रभावमा पारी उनीहरू केही दिनमै छुट्ने गरेका छन् । गत ३० साउनमा सूर्यविनायकमा पक्राउ परेका १६ जना जुवाडे चौथो दिनमै छुटेका थिए । प्रहरीले रातभरि बयान लिएर उनीहरूको मुद्दा छिटै बुझाएको थियो । सोही कारण उनीहरू चार दिन मात्र हिरासतमा बस्नुपर्यो । आर्थिक प्रभावका आधारमा महानगरीय प्रहरी वृत्त जगातीले उनीहरूको मुद्दा छिटै बुझाएको स्रोत बताउँछ। उनीहरू पेसेवर जुवाडे हुन्, जो पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए । तर, जतिपटक पक्राउ परे पनि उनीहरूले जुवा खेल्न छाडेका छैनन्। दसैँ नजिकिँदै गर्दा राजधानीमा जुवातासको खाल बढेको छ । प्रहरीले हरेक दिन जुवा अखडामा छापा हानी जुवाडेलाई पक्राउ गर्न थालेको छ । बुधबार मात्र प्रहरीले राजधानीका दुई जुवा अखडामा छापा हानी ११ जनालाई पक्राउ गरेको थियो । कालोपुलस्थित विमल थापाको घरमा तास खेलिरहेका बारा निजगढ–७ का प्रेमध्वज लामासहित ६ जना पक्राउ परेका थिए । जुवा खालबाट एक लाख पाँच हजार सात सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी, काठमाडौं महानगरपालिका–१६ नयाँ बजारस्थित वीरेन्द्र गुरुङले भाडामा लिएको घरमा जुवातास खेलिरहेका पाँचजना पक्राउ परेका छन् । ३२ हजार र तीन बुक ताससहित उनीहरू पक्राउ परेका हुन् । यस्तै, चन्द्रागिरीको किसिपिडी बस्ने सुकुमाया श्रेष्ठकोे होटेलमा जुवातास खेलिरहेका पाँचजना मंगलबार पक्राउ परेका थिए । काठमाडौं महानगरपालिका–३ महाराजगन्जस्थित कोहिनुर रेस्टुरेन्ट गेस्टहाउसको तेस्रो तलामा जुवातास खेलिरहेका सञ्चालक राधा पौडेलसहित १९ जनालाई शनिबार प्रहरीले नगद दुई लाख ४० हजार ६ सय ५० रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको थियो । घरहरू भाडामा लिएर, होटेल तथा रेस्टुरेन्टहरूमा व्यावसायिक रूपमा जुवा खेलाइने गरेको प्रहरीले जनाएको छ।