म्यानपावरले अब एजेन्ट राख्न नपाउने, एजेन्सीभन्दा एजेन्ट विरुद्ध ठगीको उजुरी धेरै

काठमाडौं १८, असोज ।  वैदेशिक रोजगारीमा ठगी गर्ने क्रम बढेपछि सरकारले म्यानपावर कम्पनीले एजेन्ट राख्न नपाउने व्यवस्था गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ को संशोधित मस्यौदामा म्यानपावर एजेन्ट राख्न नपाउने व्यवस्था गर्न लागिएको समाचार मंगलबारको करोबारमा दैनिकमा छापिएको छ। श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी ठगीमा म्यानपावर एजेन्सीभन्दा एजेन्टको बदमासी बढी देखिएको भन्दै यस्तो व्यवस्था संशोधन गर्न मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित ऐन संशोधन सुझाव समितिले पछिल्लो समयमा म्यानपावर एजेन्सीभन्दा एजेन्ट विरुद्ध ठगीको उजुरी बढी परेकाले एजेन्ट राख्न नपाइने व्यवस्था गरेको हो। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा वैदेशिक रोजगारविद् डा गणेश गुरुङले गरेको अध्ययनमा पनि कामदारहरु तहतहका एजेन्टबाट ठगिने गरेको देखिएको थियो।

नेता तथा सांसदहरु दशैं मान्न विदेशतिर, आफन्त भेटघाटको नाममा नेपाली पैसा विदेशमा

काठमाडौं १७, असोज । सर्वसाधारण दशैं मान्न गाउँ गइरहँदा मन्त्री, विभिन्न दलका केन्द्रीय नेता तथा सांसदहरु भने विदेश जाने तयारीमा छन् । केही मन्त्री तथा नेताहरु भने केही दिनदेखि नै विदेशमै छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विदेशमै छन् भने सत्तारुढ राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा सोमबार सिंगापुर जाँदै छन् । फोरम अध्यक्ष यादव दशैंको टीकाको एक दिनअघि मात्र २४ असोजमा स्वदेश फर्कने कार्यक्रम तय भएको छ । तर त्यो मिति लम्बिनसक्ने उनी निकट नेताहरुले बताएका छन् । यसैगरी नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का पनि बुधबार नयाँ दिल्ली जाँदै छन् । यही क्रममा उनले स्वास्थ्य परीक्षण पनि गर्ने बताइएको छ । दशैपछि मात्र उनी काठमाडौं फर्कने कार्यक्रम रहेको छ । उनकी छोरी भारतको पुनामा अध्ययन गर्दै छिन् । यसैगरी तमलोपा अध्यक्ष महन्थ ठाकुर नयाँ दिल्ली जाने तयारीमा छन् । त्यसो त केही मन्त्री पनि यतिखेर विदेशमा छन् । पर्यटनमन्त्री रमी गौचन, भूमिसुधारमन्त्री विक्रम पाण्डे अहिले विदेशमा रहेका छन् ।

सेनाको डुंगा खरिदमा बद्‌मासी, करोडकोमा १२ वटा डुंगा खरीद, आर्थिक चलखेलको आशंका

काठमाडौं १७, असोज । नेपाली सेनाले विपद् व्यवस्थापनमा प्रयोग हुने डुंगा खरिद गर्दा नियमविपरीत बदमासी गरिएको पाइएको छ। नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयले विपत बेला प्रयोग गर्नका लागि संभाररथी विभाग स्वदेश प्राप्तीले खरिद गरेको डुंगामा नियमविपरितको काम भएको पाइएको समाचार सोमबारको नेपाल समाचार पत्रमा छापिएको छ । संभाररथी विभागले सो निर्देशनालयलाई चाहिने सामाग्री भन्दै टेन्डर आव्हान गरेको भए पनि टेन्डरमा उल्लेख भएभन्दा बाहिर गएर डुंगा खरिद गरिएको पाइएको छ। विभागले टेन्डर आव्हान गर्दा टिकाउ र भरपर्दो हुनुपर्ने सर्त र प्रावधान राखेको थियो। नेपाली सेनालाई चाहिने डुंगा खरिदका लागि टेन्डर आव्हान गर्दा १० वटा कम्पनीले प्रतिश्पर्धा गरेको भए पनि स्टार इन्टरप्राइजेजले टेन्डर पाएको थियो। सो इन्टरप्राइजेजले अमेरिकी डुंगा कम्पनी एएनएसको स्पेक राखेर टेन्डर बिड गरेको थियो। एएनएस कम्पनीको स्पेक राखेर टेन्डर बिड गरेको भए पनि सो कम्पनीले चीनमा बनेको डुंगा खरिद गरेर सो निर्देशनालयलाई आइतबार हस्तान्तरण गरेको छ। २ करोडको लागतमा खरिद गरिएको १२ वटा डुंगा र त्यसमा प्रयोग हुने सामान खरिद गरेको उच्च सैनिक स्रोतले बतायो। प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई पनि जानकारी नदिई हतार हतार संभाररथी विभागको मिलेमतोमा कमसल खालको डुंगा खरिद गरेको र निर्देशनालायलाई जिम्मा लगाएको स्रोतले बतायो। अमेरिकामा बनेको डुंगाको ५ वर्षको ग्यारेन्टी र १० वर्षको वारेन्टी हुने भए पनि चीनमा बनेको डुंगाको कुनै वारेन्टी तथा ग्यारेन्टी नभएको स्रोतले बतायो।