घिमिरेको जीप दुर्घटना आपराधिक उदेश्यले हैनः प्रतिवेदन

काठमाडौं, २३ मंसिर । पूर्व गृहमन्त्री माधव घिमिरेको जिप दुर्घटना ट्रकलाई ओभरटेक गर्ने क्रममा गाडी अनियन्त्रित भई भएको पाइएको छ । जीप दुर्घटनामा परी बेपत्ता भएको घटनाका सम्बन्धमा छानविन गर्न गठन भएको छानविन समितिले विहिबार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि समक्ष बुझाएको प्रतिवेदनमा सो कुरा उल्लोख गरिएको छ । प्रतिबेदनमा सो दुर्घटना आपराधिक उद्धेश्यले नभएको र दुर्घटना भएको बेला गाडी पूर्बमन्त्री घिमिरेले नै चलाएको पनि उल्लेख छ ।  पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा गठित छानविन समितिले विहिबार गृहमन्त्रालयमा आफ्नो प्रतिवेदन बुझाएको हो । गत असोज ९ गते पोखराबाट काठमाडौं फर्कने क्रममा पूर्बगृहमन्त्री घिमिरे चढेको गाडी चितवनको दारेचोक नजिक घोप्टेभीरमा दुर्घटना भई त्रिशुली नदीमा खसेको थियो । प्रतिबेदन बुझ्दै उपप्रधानमन्त्री निधिले प्रतिवेदन कार्यान्वयन गर्न सरकार लागि पर्ने बताए । सोही समितिलाई धादिङको मार्पाकमा भएको बस दुर्घटनाको समेत छानविनको जिम्मेवारी दिइएको थियो । समितिले विहिबारै सो बस दुर्घटनाको प्रतिवेदन पनि उपप्रधान एंव गृहमन्त्री बिमलेन्द्र नीधिलाई बुझाएको हो ।

संविधान संशोधन विधेयक दर्ता गर्नुपर्नाका कारण देखाउन सर्वोच्चको आदेश

काठमाडौं, २३ मंसिर । सर्वोच्च अदालतले संविधानको भावना विपरीत हुने गरी प्रदेशको सिमाना हेरफेर गर्ने, अङ्गीकृत नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषा आयोगको विषयमा संविधान संशोधन विधेयक ल्याउनु पर्नाका कारण बारे सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले बिहीबार नेपालको संविधानको भावना विपरीत संविधान संशोधन विधेयक संसद्मा दर्ता गर्नुपर्नाका कारणको पुस ५ गते लिखित जवाफ माग गरेको हो । पूर्व सांसद मञ्च, नेपालका तर्फबाट विष्णुबहादुर राउत, झलकनाथ वाग्ले, शङ्करनाथ शर्मा अधिकारी, ब्रह्मनारायण चौधरी, शारदा पोखरेल पाँचजनाले यही मङ्सिर १६ गते प्रदेशको सिमाना हेरफेर गर्ने, अङ्गीकृत नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषा आयोगको विषयमा संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक नेपालको संविधानको भावना विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवदेन दायर गरेका थिए । रित निवेदनमा प्रदेश सिमाना र सङ्ख्या हेरफेर तथा घटबढ गर्ने संवैधानिक अधिकार केवल निर्वाचित सङ्घीय संसद् तथा प्रदेश सभाहरूलाई मात्र भएको उल्लेख थियो । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव नेपालका संविधानको भावना र मनसाय विपरीत रहेको भन्दै सो संशोधन प्रस्तावलाई पारित नगर्न नगराउने भनी रिट निवेदनमा माग गरिएको थियो । बिहीबारको आदेशमा सरकारले लिखित जवाफ पेस गरेपछि अन्तरिम दिने वा नदिने बारेमा पनि सोही दिन छलफल हुने उल्लेख छ । रासस

खराब मौसमका कारण भारतमा आठ सय पर्यटक अलपत्र

नयाँ दिल्ली, २३ मंसिर । अत्याधिक खराब मौसमका कारण भारतको दक्षिणपश्चिम क्षेत्रमा पर्ने अन्दामन र निकोबार टापुमा स्वदेशी तथा विदेशी गरी आठ सय जना पर्यटक अलपत्र परेका छन् । भारतीय नौसेनाले अन्दामन र निकोबार टापु गरी दुवै ठाउँमा चार वटा पानी जहाज पठाएको जनाएको छ । नौसेनाका प्रवक्ता डि.के. शर्माले पर्यटकहरू अलपत्र परेको ठाउँमा चार वटा पानी जहाज पठाएको भए पनि हेभलक टापुमा अत्यधिक खराब मौसमका कारण सो ठाउँमा पुग्न नसकेको जानकारी दिए । “आठ सयभन्दा बढी पर्यटक यातायातका साधन नपाएर अलपत्र परेका छन्, हामी उनीहरूलाई उद्धार गर्न तयारी अवस्थामा छौँ, त्यसका लागि सफा मौसमको प्रतिक्षा गरिरहेका छौँ,” उनले भने । प्रवक्ता शर्माले थपे, “हाम्रो सबैभन्दा ठूलो चासो पर्यटकहरूलाई सुरक्षित तरिकाले उद्धार गर्नु हो ।” हेभलकको किनारा पर्यटकका लागि लोकप्रिय गन्तव्य मानिन्छ । हरेक नयाँ वर्षमा हजारौँ पर्यटकले हेभलकमा डिसेम्बरमा रमाइलो गर्ने गर्दछन् । रासस/सिन्ह्वा