प्राडा मानन्धरको आविष्कार: ‘काचाल्का’ अर्थात् थोरै पानीले धेरै सिँचाइ गर्ने

सनद अधिकारी काठमाडौं । कृषिलाई व्यावसायिक बनाइ कम लागतमा बढी उत्पादन सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो । नेपालका विभिन्न कृषि विश्वविद्यालय र अनुसन्धान केन्द्रले कृषिमा अध्ययन अनुसन्धान गर्दै आएका छन् । तर अधिकांश अनुसन्धानका परिणाम व्यवहारमा लागु नहुँदा ती अनुसन्धानमै सीमित भएका पनि छन् । कृषि उत्पादनका लागि मल र बिउ उपलब्ध भएपनि सिँचाइ प्रणालीको उपयुक्त प्रयोग बिना उत्पादन सम्भव छैन । यसका लागि पानीको मात्रा, माटोको प्रकार, र बालीअनुसार सिँचाइ गर्ने तरिका निर्धारण गर्नु आवश्यक हुन्छ । कृषिलाई व्यावसायिक बनाउने उद्देश्यले, उपलब्ध प्रविधि र उपकरणलाई स्थानीय स्तरमा प्रयोगयोग्य र व्यवहारमै आधारित बनाउनु जरुरी छ । विकास भएको तर व्यापक रूपमा प्रयोगमा नआएको प्रविधि जसले उत्पादन क्षमता र लाभ दुवै बढाउँछ । त्यसको उदाहरण हो काचाल्का सिँचाइ प्रविधि (डिस्क्रेट इरिगेट सिस्टम) । सामान्यतया ट्याङ्की वा ड्रममा पानी राखेर सतह सिँचाइ गर्दा धेरै पानी खेर जान्छ । प्रभावकारी सिँचाइ गर्न कठिन हुन्छ । तर चितवनको भरतपुर-१६, विजयनगरका प्रा.डा ई भगवानदास मानन्धरले विकास गरेको काचाल्का प्रविधिले बिरुवालाई आवश्यक मात्रामा पानी पुर्याउँदै, थोपा-थोपा सिँचाइ गरी पानी बचत गर्न सफल भएको छ । यो प्रविधिको प्रभावकारितामा मानन्धर लामो समयदेखि जुट्दै आउनुभएको छ । उहाँले देश विदेशका विभिन्न क्याम्पसमा अध्ययन अध्यापन गर्दै प्राप्त अनुभवलाई अवकाश जीवनमा कृषि क्षेत्रमा व्यावहारिक रुपमा प्रयोग गरेका हुन् ।  प्रविधिको विकास गरे पनि लामो समयसम्म व्यवहारमा लागू नहुँदा मानन्धर आफैँ प्रत्यक्ष रूपमा यसको प्रयोगमा जुटेका हुन् । उनले अब आफैंले गरेर देखाउँदै किसान समक्ष यो प्रविधि पु¥याउने लक्ष्य राखेका छन् । झट्ट हेर्दा यहाँको प्रणाली सामान्य सतह सिँचाइ जस्तो देखिन्छ, तर वास्तवमा यसमा लामो अनुसन्धान र परीक्षणबाट प्रमाणित प्रभावकारी सिँचाइ प्रविधि प्रयोग गरिएको छ । प्रा.डा मानन्धरले आफ्नो जीवनको लामो समय खर्चेर यो प्रविधि विकास गरेका हुन् । जसले किसानलाई पानीको खपत कम गर्दै उत्पादन र सिँचाइ दक्षता बढाउने अवसर प्रदान गर्दछ । उनले आफ्नै जग्गामा सुन कागती खेती गरी यही प्रविधिबाट सिँचाइ गर्दै आएका छन् । त्यसबाट काचाल्काको कार्यक्षमता प्रमाणित भएको छ । सुक्खा मौसममा लगाइने तरकारीबाली तथा अन्य बाली होस् वा बागवानीका लागि सिँचाइ सहज बनाउन उनले काचाल्का र क्यापिलरी सिँचाइ प्रविधि प्रयोग गरेका छन् ।  कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर पक्लिहवा कृषि क्याम्पसलगायतका क्याम्पसमा २३ वर्ष लामो प्राध्यापन गरेका मानन्धरले आफ्नो अध्ययनको विषयलाई व्यवहारमा ल्याउन जागिर छाडेर यो प्रविधि प्रयोगमा ल्याएका हुन् । उनले यस प्रविधिबाट सिँचाइ गर्न पहिला ट्याङ्कीलाई जमिनमाथि उचाइमा राखेर, त्यहाँबाट मुल पाइप र भल्भको प्रयोग गर्दै पाइपको पानीलाई सिधा वितरण गरेका छन् । ५ कट्ठा जमिनको सिधा भागमा हरेक स्थानमा दुइवटा पानीका डब्बा बनाइएको छ ।  ५ लिटर, ४ लिटर र ३ लिटर क्षमताका जम्मा १३ स्थानमा डब्बा राखिएका छन् । जसले दायाँ र बायाँ ढल्केर पानी पोखाएर सिँचाई गर्छ। सिँचाइका क्रममा एउटा डब्बामा पानी भरिएपछि, अर्को डब्बामा पानी भर्ने गरिन्छ । यसरी सिँचाइ गर्दा बिरुवामा कुनै असर नपर्ने र पानीको खपत कम हुन्छ । काचाल्का प्रविधिमा, ट्याङ्कीको प्रयोग गरेर पानीलाई थोपा-थोपा जस्तो नियन्त्रण गरी बिरुवालाई आवश्यक मात्रामा उपलब्ध गराइन्छ । ‘यसमा पानी खेर जाँदैन र खेतमा जम्दैन पनि । यो प्रविधि अन्य सिँचाइ प्रणालीभन्दा बढी उपयुक्त र प्रभावकारी छ,’ प्रा.डा मानन्धरले भने । उनका अनुसार काचाल्का रूसी शब्द हो, जसको अर्थ पानी व्यवस्थापनमा प्रयोग हुने एउटा सानो ट्याङ्की वा चेम्बर ढिकिच्याउ प्रकारको संरचना हो । यसले मुख्य मुहान वा ठूलो ट्याङ्कीबाट आएको पानी पाइपमार्फत काचाल्कामा जम्मा गर्छ । काचाल्का भरिएपछि पानी अर्को दिशामा बग्ने गरी व्यवस्था गरिएको हुन्छ । यो टिन, धातु, माटो, ढुङ्गा वा कंक्रिटबाट बनेको हुन्छ । सानो पोखरी वा भाँडो जस्तो देखिने काचाल्कामा पानी जम्मा हुने र बाहिर निस्कने दुईवटा भाग हुन्छन् । विशेष गरी सिँचाइ व्यवस्थामा पानीको दबाब र वितरण नियन्त्रण गर्न यसले महत्वपूर्ण भूमिका खेल्छ । ट्याङ्कीबाट गएको मुख्य पाइपमा जडान गरिएको सानो धारामा पानी खोल्ने र बन्द गर्ने सुविधा हुन्छ । सरल भाषामा भन्नुपर्दा, काचाल्का भनेको पानी जम्मा गर्ने र आवश्यकताअनुसार अर्को ठाउँमा पठाउने सानो नियन्त्रण ट्याङ्की हो । प्रा.डा मानन्धरले सन् १९९३ मा विद्यावारिधि गर्ने क्रममा यो प्रविधि विकास गरेका थिए । त्यसको दुई वर्षपछि औपचारिक रूपमा यो प्रविधि प्रस्तुत गरिएको थियो । त्यतिबेला इटालीको मान्तोभामा यसको सफल परीक्षण पनि गरिएको थियो । नेपाल फर्किएपछि अध्यापनका क्रममा विद्यार्थीहरूलाई उनले यो प्रविधि सिकाए । तर व्यवहारमा कसैले लागू गरेनन् । ‘कर्तव्य पूरा गर्न अब म आफैँ फिल्डमा आएको छु । मैले जागिर नै छोडेर अहिले कृषिमा लागेको छु,’ उनले भने, ‘यो प्रविधि किसानहरूसम्म व्यावहारिक रूपमा पुर्याउनु नै मेरो उद्देश्य र कर्तव्य पनि हो ।’ विश्वमै काचाल्का सिँचाइ प्रविधि प्रभावकारी र उपयोगी प्रविधिका रूपमा विकसित हुने प्राडा मानन्धरको दाबी छ । विश्वका अधिकांश स्थानमा खेतमा कुलोबाट सिँचाइ गर्ने प्रचलन छ । जसले बढी श्रम, खर्च र पानीको खपत गराउँछ । काचाल्का सतहमा आधारित, सिँचाइ प्रविधि हो । उनले भने, ‘काचाल्का सतहमा आधारित, मेकनाइज गरिएको सेमि(अटोमेटिक इरिगेसन सिस्टम हो, जसले बिरुवा वा खेतलाई आवश्यक मात्र पानी मात्र उपलब्ध गराउन सक्छ । खेतको आकार अनुसार पानी वितरण गर्न सकिन्छ । यो प्रविधि थोपा–स्प्रिङकलिङ प्रणालीभन्दा सस्तो छ । किसानले आफैँ निरीक्षण गरेर बिग्रिएको भाग देख्न र आवश्यक परे आफैँ बनाउन पनि सक्छन् ।’ उनका अनुसार यस प्रविधिमा पानी नियन्त्रण गर्ने उपकरणहरू जडान गरिएको हुँदा खेतको क्षेत्रफल, माटोको बनावट अनुसार पानी वितरण गर्न सकिन्छ । काचाल्का सिँचाइ प्रविधिको सिँचाइ दक्षता करिब ९३ प्रतिशत र पानी वितरणको समानता ९५ प्रतिशत छ । इच्छुक किसानले यो प्रविधि प्रयोग गर्न चाहेमा उनले आवश्यक सहयोग उपलब्ध गराउने बताए । साथै, चितवनको कृषि विकास कार्यालयमार्फत पनि इच्छुक किसानहरूले सम्पर्क गर्न सक्ने जानकारी दिए । रासस

लुम्बिनी, बागमती र कोशीमा हल्का वर्षा हुँदै, यस्तो छ दिउँसोको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थान तथा लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।

श्रवण क्षमता नभएका दुई उद्यमीको प्रेरणादायी कथा

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका-४ सिंगाको पौडेल चोकमा श्रवण क्षमता नभएका अमृत र हेमराज शर्मा ‘रेष्टुरेण्ट’ व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बनेका छन् । बागलुङका ३५ वर्षीय अमृत र ४२ वर्षीय हेमराजले शारीरिक अशक्तताले रोजगारी, व्यवसाय र अवसरलाई छेक्न सक्दैन भन्ने उदाहरण प्रस्तुत गरेका हुन् ।  नाताले आफन्त पर्ने अमृत र हेमराजले सिंगाको पौडेल चोकमा संयुक्त रुपमा सञ्चालन गरेको ‘सांकेतिक भाषा खाजा घर’ले उनीहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाएको हो । जन्मजात श्रवण क्षमता नभएका शर्माद्धय सांकेतिक भाषा र शब्द लेखेर उपभोक्ताहरुसँग सम्बाद गर्छन् । चिया, खाजा, जेरी, तरकारी, याममा अरिंगाल, माछा, मासु र खानाका परिकार उनीहरू आफै तयार पार्छन् । स्थानीयबासी, वडा कार्यालय, विद्यालय, बेनी-दरवाङ सडकको यात्रा गर्ने सर्वसाधारण, व्यवसायीहरू उक्त रेष्टुरेण्टका ग्राहक हुन् । टाढाबाट आउने ग्राहकहरूले मोबाइलमा सन्देश पठाएर खाना, खाजाका परिकार ‘अर्डर’ गर्छन् । सामाजिक सञ्जालमा भिडियो कल गरेर पनि सांकेतिक भाषामा ग्राहकले कुराकानी गर्छन् ।  फोन आयो भने छिमेकीलाई उठाउन लगाएर उनीहरू मार्फत सूचना लिने गरेको अमृतले लेखेर जानकारी गराए । म्याग्दीका जलविद्युत आयोजनाहरुमा परामर्शदाताको रुपमा काम गर्दै आएका शंकर बस्यालले सरसफाइ र आत्मीय ब्यबहारका कारण सांकेतिक भाषा खाजा घरलाई रोजेको बताए । ‘उहाँहरू नबोलेपनि ग्राहकको भावना बुझेर नम्र ब्यबहार गर्नुहुन्छ । ठाउँको सरसफाइ र परिकार हाइजेनिक हुने भएकाले राम्रो लाग्छ,’ उनले भने । दैनिक ५ हजारको हाराहारीमा व्यापार गर्ने शर्माद्धयले उक्त आम्दानीबाट व्यवसायलाई निरन्तरताका साथै घरव्यवहार चलाएको बताए । दसैँ तिहार र चाडपर्वको समयमा व्यापार अली बढी हुन्छ ।  हेमराजको घरमा श्रीमती र एक छोरी छन् । अमृतकी श्रीमतीको पनि श्रवण क्षमता छैन । अमृतका घरमा श्रीमती र एक छोरा छन् । हेमराजले कक्षा ५ सम्मको अध्ययन गर्नुभएको छ भने अमृतले १२ कक्षा उत्तीर्ण गरेका छन् । उनीहरुका परिवार बागलुङमै बस्छन् ।  धवलागिरि माविको बहिरा स्रोत कक्षाका शिक्षक शंकर पाण्डेको सहयोगमा हेमराज र अमृत १० वर्षअघि सिंगा आएका थिए । शर्माद्धयको सानैदेखि खानाका परिकार बनाउन रुची थियो । घारबाट ३ लाख रुपैयाँ ल्याएर घर भाडामा लिएर व्यवसाय शुरु गरेको अमृत सम्झन्छन् । हाल उनीहरुको व्यवसायमा करिब १० लाख रुपैयाँको लगानी छ । सीप र व्यवसायमा आबद्ध भएकाले घरव्यवहार चलाउन सहज भएको शर्माद्धयको अनुभव छ । पौडेलचोकका यादवप्रसाद पौडेलले अमृत र हेमराजले हातमा सीप र व्यावसायिक कला तथा साहस हुने हो भने शारीरिक प्रतिकूलताका बाबजुद आत्मनिर्भर र स्वरोजगार बन्न सकिने सन्देश दिएका बताए । ‘अमृत र हेमराजले हातमा भएको सीपको सदुपयोग गर्न जान्ने हो भने जीवन चलाउन अरूमा निर्भर हुनुपर्दैन भन्ने सन्देश दिनुभएको छ । उनीहरुले व्यवसायबाट हासिल गरेको सफलताबाट धेरैका लागि उदाहरणीय बन्न सक्छ,’ उनले भने ।   हाल भाडाको घरमा व्यवसाय गर्दै आएका उनीहरुले व्यवसाय विस्तार गर्दै लैजाने योजना बनाएका छन् । पुँजीको अभाव र सबै ग्राहकहरूले सांकेतिक भाषा नबुझ्नु उनीहरुको लागि व्यवसायमा चुनौती बनेको छ ।