आर्थिक तथा प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
पाल्हीनन्दन । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका डायलासिस मेसिन प्रयोगविहीन भएका छन् । विभिन्न दातृ निकाय र नेपाल सरकारबाट स्थानीय तह र अस्पतालका लागि प्राप्त भएका ती मेसिन प्रयोगमा आउन नसकेका हुन् । नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलिखेलले बर्दघाट नगरपालिका–१४ को सहिद स्मृतिलाई विसं २०८१ मा उपलब्ध गराएको एक करोड २० लाख रुपैयाँ मूल्य बराबरका छ वटा डायलासिस प्रयोगविहीन छन् । आर्थिक अभाव र मेसिन सञ्चालनका लागि संरचना अभाव भएकाले प्रयोगविहीन भएको अस्पतालले बताएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डिबीबहादुर थापाले लामो समयदेखि मेसिन प्रयोगमा ल्याउन नसक्दा स्थानीय बिरामीलाई सेवा दिन नसकिएको बताए । त्यसैगरी बुटवलस्थित मुटु अस्पतालले केही महिनाअघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको साढे आठ करोड रुपैयाँ बराबरका पाँच वटा डायलासिस पनि प्रयोगविहीन छन् । नगरको आफ्नै अस्पताल सञ्चालन नआएका कारण ती मेसिन सञ्चालनमा ल्याउन सकिएको छैन । सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालले पनि आर्थिक अभाव र प्राविधिक अभावका कारण मेसिन सञ्चालनमा ल्याउन नसकिएको बताए । सुनवलमा १५ श्ययाको अस्पताल निर्माण भइरहेको छ । यता रामग्रामस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा रहेको पाँच वटा डायलासिस मेसिनले दैनिक १७ जना बिरामीलाई निरन्तर सेवा दिँदै आएको छ । बिरामीको चाप बढी भएकाले जिल्ला अस्पतालबाट सेवा लिन नसक्ने बिरामीहरू जिल्ला बाहिर जानुपर्ने अवस्था छ । यदी प्रयोगविहीन भएका मेसिन सञ्चालनमा आए बिरामीलाई सहज हुने पृथ्वीचन्द्र अस्पतालका व्यवस्थापक सिमा काफ्लेको भनाइ छ । रासस
‘हप्तामा एक दिन बिदा देऊ’ भन्दै प्रशिक्षार्थी चिकित्सक सडकमा
काठमाडौं । श्रम ऐन कार्यान्वयनको माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरू आन्दोलित भएका छन् । शनिबार उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै हप्तामा कम्तीमा एक दिन बिदा र दैनिक अधिकतम १२ घण्टासम्म मात्र काम गर्ने व्यवस्था गर्न माग गरेका हुन् । प्रदर्शनमा सहभागी चिकित्सकहरूले हाल आफूहरू अत्यधिक श्रम शोषणमा परेको भन्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनीहरूले युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूको श्रम शोषण तत्काल अन्त्य गर्नुपर्ने माग अघि सारेका छन् । प्रदर्शनका क्रममा एमबिबिएस उत्तीर्ण चिकित्सक डा. प्रज्ञान बस्नेतले नेपालमा एमबिबिएस पास गरेपछि अनिवार्य रूपमा एक वर्ष इन्टर्नसिप गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै त्यसपछि मात्रै एमडी अध्ययनको अवसर पाइने बताए । तर आफूजस्ता धेरै चिकित्सकहरूले उत्कृष्ट नतिजा ल्याए पनि उच्च शिक्षामा रहेको असमानता र श्रम शोषणका कारण एमडी अध्ययन गर्न नपाएको उनको गुनासो थियो । उनले चिकित्सकहरूलाई लगातार ३६ घण्टासम्म काम गर्न बाध्य बनाइएको भन्दै गम्भीर आपत्ति जनाए । 'हामी बिहान ७ बजे काममा गयौँ भने भोलिपल्ट साँझ ७ बजेसम्म ड्युटिमा बस्नुपर्छ, जुन कुरा सामान्य नागरिकले कल्पना गर्न पनि सक्दैनन्,' उनले भने । डा. बस्नेतका अनुसार देशमा अहिले दुई दिन बिदा दिने प्रचलन भए पनि प्रशिक्षार्थी चिकित्सकहरूले हप्तामा एक दिन पनि बिदा नपाउने अवस्था रहेको छ । 'हामी वर्षका ३६५ दिन नै निरन्तर खटिन बाध्य छौँ, जुन मानव अधिकारकै उल्लंघन हो,' उनले थपे । उनले केही निजी शिक्षण अस्पताल र ‘मेडिकल माफिया’ का कारण चिकित्सकहरूको श्रम शोषण भइरहेको आरोप लगाए । उनका अनुसार अस्पतालहरूको आम्दानी बढाउने उद्देश्यले मेधावी युवा चिकित्सकहरूलाई अत्यधिक काममा लगाउने गरिएको छ । राजनीतिक परिवर्तन भए पनि स्वास्थ्य क्षेत्रका समस्यामा सुधार नआएकोप्रति पनि उनले असन्तुष्टि जनाए । 'देशमा सरकार बदलिँदै गएका छन्, तर हाम्रो समस्या ज्यूँका त्यूँ छ,' उनले भने, 'हाम्रो माग सामान्य छ, दैनिक १२ घण्टाभन्दा बढी काम नगराइयोस् र हप्तामा कम्तीमा एक दिन बिदा दिइयोस् ।' प्रदर्शनका क्रममा चिकित्सकहरूले विभिन्न नारासहित प्लेकार्ड बोकेका थिए । ती प्लेकार्डहरूमा ‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गर’, ‘मलाई बोल्न दे सरकार’, ‘स्वास्थ्यकर्मीको चमेली बोलिदिने कोही छैन’, ‘डाक्टरको ३६ घण्टे ड्युटि खारेज गर’, ‘प्रशिक्षार्थी चिकित्सकलाई श्रम ऐन लागू गर’, ‘सुत्केरीको उपचार गर्ने महिला डाक्टरलाई खोई सुत्केरी बिदा ?’, ‘रातभर नसुतेको डाक्टर बिरामी छ, स्वास्थ्य सेवा बिरामी छ, देश बिरामी छ’ जस्ता सन्देश लेखिएका थिए । चिकित्सकहरूले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । उनीहरूले श्रम ऐनको प्रभावकारी कार्यान्वयनमार्फत स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन् ।
म्यानपावर व्यवसायीलाई सरकारको चेतावनी, नवीकरण नभए खारेज गर्ने
काठमाडौं । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरूलाई संस्था दर्ता नवीकरण गर्न निर्देशन दिएको छ । वैदेशिक रोजगार विभागले इजाजतपत्र तथा अनुमतिपत्र नवीकरण नगर्ने संस्थाहरूलाई समयमै प्रक्रिया पूरा गर्न निर्देशन दिएको हो । विभागका अनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतप्राप्त संस्था, अनुमति प्राप्त संस्था, शाखा कार्यालय, अभिमुखीकरण तालिम प्रदायक संस्था, केयर गिभर तथा घरेलु कामदारसम्बन्धी सीप विकास तालिम प्रदायक संस्था, वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम दिने संस्था तथा कुनै विशेष देशका लागि सूचीकृत संस्थाहरूले तोकिएको अवधिभित्र अनिवार्य रूपमा इजाजतपत्र तथा अनुमतिपत्र नवीकरण गर्नुपर्नेछ । वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली, २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा प्रचलित कानुनअनुसार वार्षिक रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था रहेकाले त्यसको पालना गर्न विभागले निर्देशन दिएको हो । विभागका अनुसार तोकिएको समयभित्र नवीकरण नगरे कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ । विभागले यसपटक नवीकरण गर्दा आधारभूत कागजातका अतिरिक्त गुगल प्लस कोडसहितको अद्यावधिक गुगल म्याप, संस्थाका सबै सेयरधनी, सञ्चालक तथा कार्यरत कर्मचारीहरूको विवरण र सम्पर्क नम्बरसमेत निवेदनसँगै पेश गर्नुपर्ने व्यवस्था गरेकोछ ।