लक्ष्यभन्दा एक महिनाअघि नै तीनवटा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न

म्याग्दी । म्याग्दीका मङ्गला गाउँपालिकामा तीनवटा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । उपभोक्ताको इच्छाशक्ति, सक्रियता, एकता र सम्बन्धित निकायबाट नियमित अनुगमन तथा प्राविधिक सहयोग प्राप्त भयो भने लक्ष्यअघि नै आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण यहाँका बासिन्दाले प्रस्तुत गरेका छन् । यसरी लक्ष्यभन्दा एक महिनाअघि सम्पन्न भएको उक्त आयोजनामा मङ्गला गाउँपालिका-४ स्थित बाघहान्नेगौडा, ३ स्थित डेगखोला र २ स्थित कोक्रवाङ तोराखेत छन् । उक्त तीनवटै आयोजनाबाट १६६ घरपरिवार लाभान्वित भएका छन् । घर घरमै शुद्ध खानेपानी आपूर्ति भएपछि स्थानीय बासिन्दा दङ्ग परेका छन् । पहिले खोल्सा र मुहानबाट प्रशोधन नगरिएको पानी नालाबाट लगेर उनीहरुले उपभोग गर्दै आएका थिए । घरमै धारा भएपछि समयको बचत र पानीको मितव्ययी प्रयोग भएको बरञ्जा दहकी नन्दा सापकोटाले बताए । रासस

स्वीकृती नलिएका अवैध खानी प्रहरी सेटिङमा, स्थानीयको गुनासो सुन्ने कोही भएन

ललितपुर । लेले नल्लु क्षेत्रमा सञ्चालित अवैध खानी तथा क्रसर उद्योगहरुबाट उत्पादित ढुंगा तथा गिट्टी बोक्ने ट्रिपरहरु चापागाउँ प्रहरी वृत्त अगाडि नै भएर निर्वाध चलछन् । तर प्रहरीले तिनलाई देख्दैनन् । अवैध खानी र क्रसर उद्योगहरु टीका भैरव प्रहरी चौकीबाट ५ सय मिटरको दुरीमा छन् । बुरुन्चुली क्षेत्रमा सञ्चालित क्रसरहरुको आवाज चौकीमा पनि सुनिन्छ । विना स्वीकृति चलिरहेका यी उद्योगहरु रोक्न न चापागाँउ प्रहरीले प्रयास गरेको छ । न त टीकाभैरव प्रहरीले नै । यी दुई बृत्त र चौकीमात्रै होइन, महानगरिय प्रहरी परिसर जावलाखेल, जिल्ला खानी अनुगमन समिति पनि उस्तै मौन छन् । सेटिङमा खानी तथा क्रसर सञ्चालन भइरहेकोले सबै चुप लागेको नल्लु क्षेत्रका स्थानीयको आरोप छ । कान्तिपुर दैनिकबाट ।

मेलम्चीको पाइपमा वाग्मतीको पानी, सुन्दरीजलमा पनि यही पानी प्रयोग

काठमाडौं । राजधानीमा विछ्याइएका मेलम्ची खानेपानी आयोजनाका पाइपहरुको चेकजाँचका लागि वाग्मतीको पानी प्रयोग गरिने भएको छ । पाइप लाइनमा चुहावट छ कि छैन भनेर परीक्षणका लागि बर्षातको समयमा वाग्मतीमा बढ्ने पानीलाई प्रशोधन गरी प्रयोग गर्ने तयारी गरिएकोहो । मेलम्चीको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणमा पनि यही पानी प्रयोग गरिने छ । आयोजनका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले वाग्मतिबाट पानी ल्याई प्रशोधन गरेर प्रयोग गरिने बताए । त्यसको लागि नदीबाट ६० एमएमका २ वटा पाइपमा पानी ल्याई प्रशोधन केन्द्रमा पानी संकलन गरिनेछ । संकलनपछि प्रशोधन गरेर उक्त पानी विछ्याईका पाइपद्वारा विभिन्न स्थानमा रहेको पानी पोखरीमा पुर्याइने छ । पोखरीबाट विछ्याईका पाइपमा पानी पठाई वितरण गरिने उनले बताए । उक्त प्रक्रिया असारदेखि सुरु भएर कात्तिक मिहनासम्म जारी रहनेछ । कान्तिपुरमा दैनिकबाट ।