सडक विकास अब केवल परिकल्पना होइन, व्यवहारमा रूपान्तरण गर्दैछौं : अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धुलो र हिलो रहित सडक पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले सरकारले सडक पूर्वाधारको सन्दर्भमा धुलो र हिलो रहित सडकको मात्रै परिकल्पना नगरेको भन्दै त्यसलाई व्यवहारिक रुपमा सार्थक तुल्याउने काममा सरकार लागेको जिकिर गरे । सरकारले गुणस्तरीय सडक निर्माणमा जोड दिइरहेको पनि बताए । सरकारले पूर्वपश्चिम राजमार्गको सडक स्तरोन्नति गरिरहेको, मध्यपहाडी लोकमार्गको काम पनि भइरहेको जानकारी गराए ।  आवश्यक परेका ठाउँमा नीतिहरु संशोधन गर्ने काममा पनि सरकार लागिरहेको बताए । उनले बजेट निर्माणमा दिनुभएको सुझाव जस्तै  प्रभावकारी कार्यान्वयनमा पनि त्यत्तिकै जोड दिन आग्रह गरे । पछिल्लो समय अर्थतन्त्रको सबै सूचकहरुमा सकारात्मक सुधार भइरहेको बताए ।  उपप्रधानमन्त्री पौडेलले भने, ‘गुणस्तरीय सडक पूर्वाधार बिना हामीले हामीले जस्तोसुकै प्रदर्शनीको पनि सही सदुपयोग हुन सक्दैन । त्यसकारणले अहिले सरकारले गुणस्तरीय सडक पूर्वाधारलाई महत्व दिएको छ । हामीसँग पूर्व-पश्चिम राजमार्ग छँदै थियो । तर त्यो पूर्व-पश्चिम राजमार्गले हाम्रो चित्त बुझेन । हाम्रो आवश्यकता सम्बोधन गरेन । त्यसअर्थ हामीले त्यसलाई स्तरोन्नति गर्दैछौँ ।’ उपप्रधानमन्त्री पौडेलले पौडेलले सडक पूर्वाधार सरकारको प्राथमिकताको विषयमा रहेको बताए । तीन वर्षभित्र सरकारले उच्च प्राथमिकताका साथ भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने बताए । टुकुचादेखि पश्चिमको भूभागमा रहेका संरचनाहरु भत्काएर अत्याधुनिक, व्यवस्थित र आकर्षक प्रदर्शनी स्थल बन्ने जानकारी दिए ।

१३ करोडमा चन्द्रकोट अस्पताल निर्माण सम्पन्न, सेवा पाउन बुटबल धाउनुपर्ने बाध्यता

तम्घास । 'म आफैँलाई मधुमेह (सुगर) छ, नियमित जाँच र औषधि लिन बुटबल जानुपर्छ', चन्द्रकोट गाउँपलिका–६ हरेवाकी लीलमाया शर्माले भनिन्, 'घरैअगाडि १५ शय्याको अस्पताल बनेको छ, सञ्चालनमा नआउँदा सेवा लिन पाइएको छैन ।' शर्माले अस्पताल बनाउने समयमा आफूहरूले गरिखाने खेत माया मारेर अस्पतालका लागि जग्गा दिए पनि अहिले सञ्चालनमा नआउँदा दुःख लागेको बताइन् । उनको घरबाट नवनिर्मित १५ शय्याको चन्द्रकोट अस्पताल पाँच मिनेटभन्दा कम दूरीमा छ । तर निर्माण सम्पन्न भएपछि आफूहरू अस्पताल सञ्चालनकै पर्खाइमा हुँदा शर्माले त्यसको उपभोग गर्न पाएकी छैनन् । उनले नजिकैको अस्पताल सञ्चालनमा आए आफूजस्ता अन्यलाई पनि औषधि लिनका लागि बुटबलसम्म आवतजावत गर्ने समय र पैसाको बचत हुने बताइन् ।  'अस्पताल छिटो सञ्चालनमा आउनुपर्छ', शर्माले भने । उनले निःशुल्क रूपमा चारआना जग्गा पनि प्रदान गरेकी थिइन् । विसं २०७७ मङ्सिर १५ मा देशभरका तीन सय ९६ पालिकामा एकैसाथ पाँच, १० र १५ शय्याका आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो । जसमा चन्द्रकोट गाउँपालिका–६ मा १५ शय्याको आधारभूत अस्पतालको तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गरेकी थिइन् । हाल अस्पताल निर्माण सम्पन्न भएपछि चन्द्रकोटवासी सञ्चालनको पर्खाइमा छन् ।    स्थानीय कुमारबहादुर सार्कीले अस्पताल सञ्चालन नहुँदा उपचारका लागि पाल्पा वा बुटबल धाउनुपर्ने बाध्यता रहेको बताइन् । उनले अस्पताल सञ्चालनका लागि प्रदेश र केन्द्र सरकारले पनि ध्यान दिनुपर्ने बताइन् ।  उनले भनिन्, 'यति ठूलो अस्पताल पालिका एक्लैले सञ्चालन गर्न सक्दैन, प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्नुपर्छ ।' चन्द्रकोट गाउँपालिका–६ मा रु १३ करोड ६६ लाखको लागतमा १५ शय्याको भवन निर्माण गरिएको हो । चन्द्रकोटमा अस्पतालका साथसाथै चिकित्सक बस्ने दुईतले आवास भवन पनि निर्माण गरिएको छ ।   गाउँपालिका अध्यक्ष युवराज केसीले अस्पताल सञ्चालनका लागि चिकित्सकको विज्ञापन खुलाउने गरी बजेट स्वीकृत गरिएको बताए । रासस

नारायणगढ–मुग्लिन सडक : सधैँ ढुङ्गा खस्ने त्रास

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैँ पहिरो र ढुङ्गा खस्ने जोखिम हुने गर्दछ । समयसमयमा पहिरो र ढुङ्गा खसेर भएका मानवीय क्षति धेरै छन् । पछिल्ला वर्षहरूमा सडक विस्तार, पुल निर्माण र पहिरो रोकथामको काम भएसँगै पहिलेको तुलनामा जोखिम कम हुने भए पनि ढुङ्गा खस्ने समस्या भने रहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार सबैभन्दा बढी समस्या देखिएको तुइन खोलामा ठूलो ढुङ्गा झारिएको छ । सँगै साना ढुङ्गा झारिएको भए पनि अझै सो क्षेत्र जोखिमपूर्ण रहेको उनको भनाइ छ । उनले भने, 'यो ठाउँमा रकनेटिङ गर्नका लागि छलफल भइरहेको छ ।' झण्डै १६ मिटर माथिबाट अत्यन्तै जोखिममा रहेको ठूलो ढुङ्गालाई लङबुम एक्साभेटरको सहयोगमा गरिएको हो । सोही सडकको लामो बालुवा पुल आसपास क्षेत्रमा ढुङ्गा खस्ने जोखिम छ । सोही क्षेत्रमा ढुङ्गा खसेर केही समयअघि एक जना चालकको मृत्यु पनि भएको थियो । घिमिरेका अनुसार सडकको सात सय मिटर जति क्षेत्रमा जोखिम बढी छ । सो क्षेत्रको केही भित्तो काटिएको थियो । यस्तै जोखिम जलवीरेमा छ । झण्डै एक सय मिटर क्षेत्रमा साना ढुङ्गा खस्ने जोखिम रहेको हो । नाम्सी पुल क्षेत्रमा भित्तो काटिएको हुँदा ढुङ्गा खस्ने जोखिम छ । एक सय मिटर जति क्षेत्र जोखिममा रहेको घिमिरेले जानकारी दिए । तुइन खोला नजिकैको क्षेत्र पनि जोखिममा छ । साठ्ठी मिटर हाराहारी क्षेत्रमा ढुङ्गा खस्ने जोखिम छ । सो क्षेत्रमा सडक विस्तार गर्दा हल्का भित्तो काटिएको थियो । केही वर्षअघि यो सडक विस्तार गर्दा ठाउँठाउँमा भित्तो काटिएको थियो । ती क्षेत्रमा रकनेटिङ, वायो इञ्जिनियरिङलगायत प्रविधि प्रयोग गरेर पहिरो र ढुङ्गा खस्ने समस्या रोकथाम गरिएको हो । घिमिरेले भने, 'पहिले रोकथामको काम गरेका ठाउँमा समस्या छैन, नयाँ ठाउँमा समस्या देखिएको छ ।' ती समस्या समाधानका लागि कार्यालयले विभागमा लेखेर पठाएको छ । कार्यालय प्रमुख नारायण लामिछानेले जोखिम बढी देखिएका ठाउँमा रकनेटिङलगायतका काम गर्नुपर्ने आवश्यकता औँल्याए । विभागसँग परामर्श गरेर काम अघि बढाइने उनको भनाइ छ । वर्षात्को समयमा सडक जोखिमपूर्ण भएकाले यात्रा गर्दा सावधानी अपनाउनुपर्ने उनको सुझाव छ । कार्यालयले ढुङ्गा र पहिरो खस्न सक्ने जोखिम भएकाले मुग्लिनमा एउटा लोडर तयारी अवस्थामा राखेको छ । यस्तै सेतीदोभानमा लोडर, जेसिभी एक्साभेटर, ट्रकटेलर, टिपर तयारी अवस्थामा राखेको छ । उनका अनुसार नाली बन्द हुन नदिन मिनी एक्साभेटर र आवश्यक जनशक्ति सडकमा नियमित परिचालन गरिएको छ । रासस