मुग्लिन-पोखरा पश्चिम खण्डमा ३६.८ किलोमिटर कालोपत्रे, साढे ७ अर्ब लागत
काठमाडौं । मुग्लिन-पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्रे गर्न सुरु भएको छ । यो खण्डको ३९ किलोमिटरमध्ये ३६.८ किलोमिटर कालोपत्रे भइसकेको छ भने बाँकी खण्डमा धमाधम कालोपत्रे भइरहेको छ । मुग्लिन-पोखरा सडक योजना (पश्चिम खण्ड) का प्रमुख कृष्ण कुँवरका अनुसार पश्चिम खण्ड अन्तर्गत म्याग्देको मौरी ओडार, शुक्लागण्डकीको दुलेगौंडा, कास्कीको विजय पुल, पोखरा विश्वविद्यालय आसपास कालोपत्रे गर्न बाँकी छ । यो खण्डका १२ मध्ये १० पुल निर्माण भएका छन् भने १ सय कल्भर्टमध्ये ९२ वटा कल्भर्ट पनि बनेका छन् । ७ अर्ब ४० करोडको लागतमा प्रारम्भ भएको यो खण्डको काम आगामी पुसमा सम्पन्न गर्ने लक्ष्य छ ।
७ अर्बमा २० मेगावाटको ग्रीन हाइड्रोजन प्लान्ट बन्ने, कोरियाली कम्पनीसँग सम्झौता
काठमाडौं । नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट र इन्धन सेल प्लान्ट स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्ड नेपाल र दक्षिण कोरियाली कम्पनी जि-फिलोस कम्पनी लिमिटेडबीच हरित हाइड्रोजन प्लान्ट र इन्धन सेल प्लान्ट स्थापना गर्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न आधिकारिक रूपमा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको हो । समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनी जि-फिलोस कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गा वू पार्कले हस्ताक्षर गरे । उक्त समझदारीअनुसार प्रस्तावक कम्पनी जि-फिलोस कम्पनी लिमिटेडले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरे पश्चात् विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी करिब १० महिनाभित्रमा लगानी बोर्डको कार्यालयमा पेस गर्नेछ । लगानी बोर्डका अनुसार अध्ययन प्लान्ट स्थापनाका लागि ७ अर्ब रुपैयाँ लगानी हुनेछ । कम्पनीले प्रारम्भिक चरणमा २० मेगावाट क्षमताको ग्रीन हाइड्रोजन उत्पादन गर्ने प्रस्ताव गरिएको छ । उक्त हस्ताक्षर कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यस प्रकारको परियोजनामा प्राज्ञिक क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने तथा यस्ता परियोजनाले नेपाल जस्तो राष्ट्रमा पुँजी तथा प्रविधिको विनिमयमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रस्तावक कम्पनीले निर्दिष्ट समयमै गुणस्तरीय प्रतिवेदन पेस गर्ने विश्वास व्यक्त गर्दै उनले अध्ययन पश्चात् यथाशक्य छिटो नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट स्थापना हुने प्रतिबद्धता व्यक्त गरे । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताए योङले नेपालमा यस प्रकारका नवीकरणीय स्वच्छ ऊर्जाको प्रचुर सम्भावना रहेको औंल्याउँदै यस्ता परियोजनाले नेपालले परिलक्षित गरेका दिगो विकास लक्ष्यको प्राप्तिमा कोशेढुंगा सावित हुने बताए । उनले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले ग्रीन हाइड्रोजन लगानीयोग्य परियोजना भएकाले नेपालका लागि उपयोगी हुने उल्लेख गरे । विद्युत् विकास विभागका महानिर्देशक जिवछ मण्डलले नेपालले यस किसिमका परियोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले नेपालका लागि उपयोगी परियोजना भएको भन्दै यसको कार्यान्वयन गरिनुपर्ने धारणा राखे । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले नयाँ प्रविधिमा हस्ताक्षर भएकामा खुसी व्यक्त गर्दै विस्तृत अध्ययन सकेर ग्रीन हाइड्रोजन प्लान्ट स्थापनामा अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले नेपालका लागि नौलो प्रविधि भएकाले यसको लागत र उपयोगिताका आधारमा यसको विकास गरिने उल्लेख गरे । ग्रीन हाइड्रोजनको अध्ययन तथा अनुसन्धानमा क्रियाशील काठमाडौं विश्वविद्यालयका अनुसन्धानकर्ता डा. विराज सिंह थापाले नेपालमा ग्रीन हाइड्रोजनका सम्बन्धमा मौजुदा नीतिगत तथा कानुनी व्यवस्था, यसका बहु आयामिक लाभका विषय तथा आगामी दिनमा यस प्रकारका ऊर्जाको उपयोगका सम्बन्धमा आफ्नो प्रस्तुति दिए । लगानी बोर्डको कार्यालयका सहसचिव बाबुराज अधिकारीका अनुसार प्रस्तावक कम्पनी जि-फिलोस कम्पनी लिमिटेडले नेपालमा सार्वजनिक-निजी साझेदारी ढाँचामा ग्रीन हाइड्रोजन तथा फ्युल सेल प्लान्ट स्थापना, विकास तथा सञ्चालनका लागि गत वैशाख १५ गते लगानी बोर्डको कार्यालयमा प्रस्ताव पेस गरेकोमा लगानी बोर्डको ६३ औँ बोर्ड बैठकले उल्लेखित प्रस्तावक कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो ।
बर्सातमा जहिल्यै हिलाम्मे पृथ्वीराजमार्ग, आवतजावतमा सकस
मलेखु । कतै पिच, कतै ढलान झट्ट हेर्दा कस्तो राम्रो सडक बनेछ भन्ने लाग्न सक्छ । तर ठाउँठाउँमा पहिरो, धुलो, हिलो र खाल्डाखुल्डीले दिने सास्तीले फेरी यात्रुले देखेजस्तो रहेनछ भन्ने अनुभूति गर्छन् । विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गमा पानी परेको बेला कतिखेर कहाँनेर पहिरोले बाटो थुनिने हो पत्तो हुँदैन । डोजरले खारिएका भित्ताबाट झर्ने ढुङ्गामुढाबाट जोगिन धौधौ पर्छ । काठमाडौंदेखि धादिङ सम्मको माइक्रोबस चालक विकास श्रेष्ठ भन्छन्, 'हिजोआज त सडकको खाल्डोमा भन्दा आँखा पहिरो झर्ने ठाउँमा पुर्याउनुपर्छ ।' बुधबारदेखि यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ । ठाउँ ठाउँमा स–साना पहिरोले सडक थुनिने र सञ्चालन हुने क्रम चलिरहेको छ । घण्टौँ कुर्नुपर्ने गरी भने सडक थुनिएको छैन । त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडक खण्ड र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड बर्खा लागेसँगै जोखिमपूर्ण छ । सडक फराकिलो बनाउन काटिएका भित्ताबाट खसेको स–साना पहिरोले अधिकांश सडक हिलाम्मे र धुलाम्मे हुने गरेको छ । आधा काम गरेर बाँकी रहेको स्थानका खाल्डाखुल्डीले साना ठूला सबै सवारी साधन गुडाउन गाह्रो छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमाल भन्छन्, 'पृथ्वी राजमार्ग यतिबेला जोखिमपूर्ण छ । तर, हिँड्नै नसक्ने अवस्थाको छैन ।' पहिरो र गेग्रानले सडक छियाछिया छ । सडकमा हरेकले चालक होसियार भएर ट्राफिक नियमको पालना गर्ने होभने मात्र सम्भावित दुर्घटनाबाट जोगिन सकिन्छ । मोटरसाइकल र स्कुटरलाई यो सडक पार गर्न निकै कष्ट छ । घाम लागेको बेला अधिकांश स्थान धुलाम्मे हुन्छ । पानी प¥यो भने त्यही धुलो लेदोमा परिणत भएर चिप्लो हुने गर्छ । 'कहीँकतै असहज अवस्था सिर्जना नहोस्, विपद् नपरोस्, परिहालेछ भने धनजनको क्षति हुन नदिन चौबिसै घण्टा हामी खटिरहेका छौंँ', जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले भने । नागढुङ्गा नौबिसे क्षेत्रका पहिरो पूर्ण रुपले थामिएका छैनन् । कृष्णभीरदेखि मुग्लिनसम्मको सडकमा जुनकुनै ठाउँमा जुनकुनै बेला पहिरो झर्न सक्ने जोखिम छ । नागढुङ्गादेखि मुग्लिनसम्म ९६ किलोमिटर राजमार्गमा हरेक समय कही न कही सडक एकतर्फी बन्छ । निर्माणधीन पुल र सवारी एकतर्फी हुनसक्ने साँघुरा स्थानको दुबैतर्फ प्रहरी तैनाथ गरेर चालकलाई सजग गराइरहेको श्रेष्ठले जानकारी दिए । नागढुङ्गाको चेकपोष्ट पृथ्वी राजमार्गमा दैनिक कति सवारी काठमाडौं भित्रिन्छन् र कति बाहिरिन्छन् यकिन तथ्याङ्क छैन । सामान्य अवस्थामा दैनिक १३ हजार र चाडपर्वको बेला २० हजारसम्म सवारी आउजाउ हुने प्रहरीको अनुमान छ । रासस