बिरामीले उपचार नपाएपछि प्रशासनले अस्पतालमा थाल्याे अनुगमन
चितवन । जिल्लाका अस्पतालमा बिरामीले उपचार नपाएर मृत्यु भएको समाचार बाहिर आएसँगै स्थानीय प्रशासनले अनुगमन थालेको छ । अस्पतालमा आएका बिरामीको मृत्यु भएपछि प्रशासनले अस्पतालको बिरामी भर्ना, शुल्क, शैयाको अवस्था, दक्ष जनशक्तिको अवस्था, संस्थाले दिँदै आएको सेवा, कोरोना सङ्क्रमितको अवस्था, सङ्क्रमितका लागि छुट्याईएको बेड लगायतका विषयमा अनुगमन गरेको हो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माको नेतृत्वमा भरतपुर क्षेत्रका ६ निजी अस्पतालको अनुगमन गरिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार दुईवटा मेडिकल कलेज, मनकामना अस्पताल, नारायणी सामुदायिक हस्पिटल, सिटी अस्पताल लगायतमा अनुगमन गरेको हो । शर्माले अस्पतालमा आएका बिरामीले उपचार नपाएको भन्ने सूचनाका आधारमा अनुगमन गरिएको बताए । अनुगमन नियमित रुपमा प्रत्यक्ष र अप्रत्यक्ष गरिने बताइएको छ । केही दिन अघि जिल्लाका निजी अस्पतालले बिरामी भर्ना नलिएपछि भरतपुर अस्पतालमा पुगेको केही समयमा तीन जनाको एकै दिन मृत्यु भएको थियो । कोरोना सङ्क्रमणको समयमा अस्पतालले बिरामीलाई उपचार नगर्नु भनेको जिम्मेवारीबाट पन्छिनु भएकाले त्यस्तो हुन नदिनका लागि अनुगमन गरिएको उनको भनाई थियो । रासस
काेराेना संक्रमित चिकित्सकलाई बेड, आइसियु र भेन्टिलेटर उपलब्ध गराइने
काठमाडौं । कोभिड-१९ बाट संक्रमित भएका चिकित्सकहरुलाई उपचारका लागि बेड, आइसियु र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराउने सहमति भएको छ। एशोशिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल अफिन र नेपाल चिकित्सक संघको बुधबार बसेको संयुक्त परामर्शदाता कमिटीको बैठकले संक्रमित भएका चिकित्सकहरुलाई उपचारका लागि बेड, आइसियु र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराउने सहमति गरेको हो । यसका साथै बैठकले अस्पतालहरुमा भिडभाड कम गर्न ओपिडी, विरामी, विरामीका आफन्त र हेल्थ्य केयर वर्करहरुका सम्बन्धि प्रोटोकल तथा गाइडलाइन तयार गर्ने पनि निर्णय गरेको छ । बैठकमा कोभिड १९ को विषयलाई लिएर तलवभत्ता माग गर्दे उपचार प्रक्रियामा सहभागी नहुन केही चिकित्सकहरुको निर्णयप्रति संयुक्त परामर्शदाता कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस विषयमा गम्भीर छलफल गरी चिकित्सकहरुलाई काममा फर्काउन एशोशिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल अफिन र नेपाल चिकित्सक संघले सहजीकरण गर्ने निर्णय भएको अफिनका वरिष्ठ उपाध्यक्ष कुमार थापाले जानकारी दिए । वीरगन्जको एक निजी अस्पतालमा तलव भत्ताको विषय उठान गरेर चिकित्सकहरु उपचार प्रक्रियामा सहभागी भएका थिएनन् ।
महालक्ष्मी विकास बैंक र डाक्टर अन कलबीच सम्झौता, ग्राहकले घरमै स्वास्थ्य सेवा पाउने
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कल प्रा. लिसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट कुमारीपाटी शाखाका प्रमुख अनिष सिंह सिजापती र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डा. सुमन न्यौपानेले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी लगायत बैंकका संस्थापक/सेयरधनीहरुले डाक्टर अन कल मार्फत घरमै उपचार गराउन सक्नेछन् र यसरी उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक/सेयरधनीहरु साथै कर्मचारीले डाक्टर सेवामा अधिकतम ३० प्रतिशत, फिजियोथेरापीमा अधिकतम ३० प्रतिशत, नर्स केयर सेवामा अधिकतम २० प्रतिशत, ल्याव टेष्टमा अधिकतम २० प्रतिशत, डाईटिसियन सेवामा अधिकतम ३० प्रतिशत, ड्रेसिङ तथा इन्जेक्सन सेवामा अधिकतम १५ प्रतिशत, साथै डाक्टरसँग अनलाइन कनसल्ट, औषधी तथा मेडिकल उपकरणहरुको डेलिभरी सेवा निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् । हाल एक सय २ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।